काठमाडौं । बेलायतका अधिराजकुमार एड्वर्ड र उनकी पत्नी राजकुमारी सोफी (एडिनब्राका ड्यूक र डचेस) ५ दिने नेपाल भ्रमणका लागि मंगलवार (आज) काठमाडौं पुगेका छन् ।
भ्रमणका क्रममा बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले बेलायतका राजपरिवारका सदस्यहरूबाट विभिन्न समयमा हुँदैआएका नेपाल भ्रमणले दुई देशबीच रही आएको सुमधुर सम्बन्धलाई अझ मजबुत पार्न योगदान दिएको बताउनुभयो ।
सो भेटमा नेपालका लागि बेलायती राजदूत रब फेन सहभागी थिए ।
त्यस अवसरमा अधिराजकुमार एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणमा नेपालले गरेका प्रयासबारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । उनले नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सैनिकको सम्बन्ध कोसेढुङ्गा रहेको उल्लेख गरे ।
सोही अवसरमा राष्ट्रपति पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे ।
भ्रमणका क्रममा अधिराजकुमार र राजकुमारीले बेलायत–नेपाल साझेदारीलाई प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तित्वहरूलाई भेट्ने कार्यक्रम छ ।
यो भ्रमण बेलायती शाही परिवारका सदस्यहरूबाट भएको चौधौं नेपाल भ्रमण हो ।
महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा, वेल्सका अधिराजकुमारका रूपमा राजा चार्ल्सले सन् १९७५, १९८०, १९९२ र १९९८ मा नेपालको भ्रमण गरेका थिए । सबैभन्दा पछिल्लो भ्रमण सन् २०१६ मा अधिराजकुमार ह्यारीबाट भएको थियो ।