भारतीय पूर्वाधार निर्माण कम्पनी जीएमआरले नेपालमा उत्पादन हुने बिजुली बङ्गलादेश निर्यात गर्न छलफल अघि बढाएको छ । कम्पनीले ६ सय मेगावाटको माथिल्लो मस्र्याङ्दी र ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माण गर्न सम्झौता गरेको छ । यी कम्पनीबाट उत्पादित विद्युत् नेपालले उपभोग गर्न नसक्ने भएकाले निर्यातका लागि यसले बजार खोज्ने काम गरेको हो भन्न सकिन्छ । त्यसकारण बङ्गलादेशमा निर्यात गर्ने व्यवस्था भयो भने यी आयोजना निर्माण हुँदैनन् भन्ने आशङ्का हट्छ । त्यस्तै नेपालको बिजुली सार्क उपक्षेत्रीय प्रसारण लाइनमार्फत विक्री हुन पनि थाल्छ । त्यसैले बङ्गलादेशलाई बिजुली निर्यात गर्न जीएमआरले थालेको तयारी नेपालको जलविद्युत्को विकासका लागि सकारात्मक कदम हो । जीएमआरले निर्यात नै गर्नुपर्ने चिन्ता लिनुपर्ने छैन ।
नेपाल विद्युत् प्राधिकरणले आफ्नो प्रणालीमा जडित विद्युत् मागको प्रक्षेपण गर्दा अहिले निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि नेपाललाई बिजुली बढी हुने देखाउँदै आएकाले जीएमआरले बङ्गलादेशतिर आँखा डुलाएको हो । प्राधिकरणको तथ्याङ्कअनुसार प्रतिवर्ष १० प्रतिशतका दरले बिजुलीको माग बढिरहेको छ । उसले बत्ती बाल्ने र औद्योगिक क्षेत्रमा प्रयोग हुने आधारमा मात्रै यस्तो अनुमान गरेको हो । प्राधिकरणले त्यही भएर अहिले नयाँ कम्पनीहरूसँग पीपीए गर्नसमेत कञ्जुस्याइँ गर्न थालेको छ । प्राधिकरणको यो प्रक्षेपण सतही छ । हो, बढ्दो जनसङ्ख्या र अहिलेको उपभोगदरलाई हेर्दा बिजुली खपतको दर बढी नदेखिन सक्छ । तर, जब विद्युत् आपूर्ति नियमित हुन थाल्छ र पर्याप्त मात्रामा उपलब्ध हुन थाल्छ, त्यसको उपभोगदर ह्वात्तै बढ्न थाल्छ । अहिले नेपालमा प्रतिव्यक्ति विद्युत् उपभोग ९८ युनिट छ भने चीनको २ हजार ६ सय र भारतमा ६ सय ५ रहेको छ । नेपालमा ऊर्जा आपूर्तिको ८० प्रतिशत स्रोत परम्परागत छ भने २ प्रतिशतमात्रै जलविद्युत्को अंश छ । ५० प्रतिशत जनताका घरमा मात्रै विद्युत् लाइन जडान गरिएको छ । विद्युत् आपूर्ति नियमित हुनेबित्तिकै यो उपभोगस्तर माथि बढ्छ । काठमाडौंमा मात्रै खाना पकाउन प्रयोग हुने ग्यासलाई विद्युत्ले विस्थापन गर्ने हो भने झण्डै २ हजार मेगावाट विद्युत् खपत हुन्छ भन्ने अनुमान गरिएको छ । अहिले उद्योगहरूले डिजेल प्लाण्टबाट बिजुली उत्पादन गरेर ऊर्जासङ्कट समाधान गरिरहेका छन् । विद्युत् आपूर्ति पर्याप्त हुन थाल्नेबित्तिकै उद्योगहरूले बिजुली खपत बढाउ“छन् । नेपालमा उद्योगहरूको स्थापना हुन नसक्नुका कारण नै ऊर्जा अभाव हो । जलविद्युत् सस्तो हुने भएकाले यसको पर्याप्त र गुणस्तरीय आपूर्ति हुन थालेपछि नेपालमा उद्योगहरू खुल्ने क्रम बढ्नसक्ने देखिन्छ । उद्योगहरू खुल्नु भनेको विद्युत् खपत बढ्नु हो । त्यसैगरी अहिले पानी तताउन, सवारीसाधन चलाउन ग्यास र पेट्रोलियम ऊर्जाको प्रयोग भइरहेको छ । विद्युत् आपूर्ति बढेपछि ग्यास र पेट्रोलियमका विकल्पमा नयाँ विद्युतीय उपकरण प्रयोगमा आउनेछन् । त्यसैगरी विद्युत् खपतले आम्दानी बढाउँछ भन्ने पनि अध्ययनले देखाएको छ । जति आम्दानी बढ्छ त्यसैको अनुपातमा विद्युत् खपत पनि बढ्दै जान्छ । यसरी हेर्दा नेपालमा तुरुन्तै ५ हजार मेवामात्र होइन, त्योभन्दा पनि बढी विद्युत् खपत हुनसक्छ । त्यसैले नेपालमै जलविद्युत्का् बजार प्रशस्त छ । निर्यातको आवश्यकता नै छैन ।
तर, नेपालमा हजारौं मेवा जलविद्युत् उत्पादनको सम्भावना भएको अवस्थामा विदेशी बजारको खोजी हुनु नराम्रो भन्न सकिन्न । जीएमआरले बङ्गलादेशको बजारमा नेपालको बिजुली पुर्याउन खोज्नु यसको अन्तरराष्ट्रिय बजारको ढोका खुल्नु हो । साथै भारतीय कम्पनीहरूले लाइसेन्समात्र ओगट्छन्, काम गर्दैनन् भन्ने आशङ्कालाई पनि यो प्रयासले निवारण गर्न सक्छ ।