काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट परेको असर न्यूनीकरण गर्न कतारसँग सहकार्यको आग्रह गर्नुभएको छ ।
आफ्नै निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका कतारी अमिर शेख तमिम बिन हमाद अल थानीसँग मंगलवार भएको भेटवार्तामा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाल जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्ता साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारी अमिर अल थानीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो ।
विशेष गरी विकसित मुलुकहरू जलवायु परिवर्तनको असर न्यूनीकरणमा बढी गम्भीर हुनुपर्नेमा राष्ट्रपतिको जोड रहेको पोखरेलले जानकारी दिए ।
कतारका अमिरले पनि विश्व नै मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरणमा लग्नुपर्ने बताउनुभएको सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) ले जानकारी दिएको छ ।
राससका अनुसार राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुंगोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दैै विकास र समृद्धि प्राप्त गर्ने नेपालको प्रयासमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरे ।
दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रमा हाम्रो सहयोग एवं सहकार्य भविष्यमा थप घनीभूत हुने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गर्नुभएको छ ।
उक्त अवसरमा कतारी अमिर अल थानीले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
उनले कतारको विकासमा नेपालीहरूको ठूलो योगदान रहेको भन्दै त्यसको प्रशंसा र आभार प्रकट गर्नुभएको राससको रिपोर्टमा उल्लेख छ । कतार पनि बढी संख्यामा नेपाली कामदार रोजगारीका लागि जाने देशमा पर्छ । गत आर्थिक वर्ष २०७९/८० मा बिदामा आएर फर्किने सहित १ लाख ३३ हजार २६२ नेपाली कतार पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । चालू आर्थिक वर्षको ९ महीनामा १ लाख १ हजार ६०६ जना नेपाली कतार पुगेका छन् ।
उद्योग विभागका अनुसार गत आर्थिक वर्षमा कतारबाट ४४ करोड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।
कतार नेपालको प्रमुख १० व्यापारिक साझेदार राष्ट्रमा पनि पर्छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा कतारसँग १३ अर्ब ४० करोड रुपैयाँ बराबरको द्विपक्षीय व्यापार भएको थियो ।
दुई देशबीच विभिन्न विषयमा बुधवार हस्ताक्षर हुने कार्यक्रम पनि छ । सोमवारको मन्त्रिपरिषद् बैठकले युवा र खेलकुद तथा उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा हस्ताक्षर हुने समझदारीपत्र अनुमोदन गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल र अमिर अल थानीबीच औपचारिक भेटवार्तापछि मंगलवार साँझ होटेल सोल्टीमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा राजकीय रात्रिभोज दिए ।
मंगलवार दिउँसो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरूबाट कतारी अमिरको स्वागत भएको थियो ।
परराष्ट्र मन्त्रालयस्थित एक स्रोतका अनुसार भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीलगायत छन् ।
परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र अल थानीबीच बुधवार बिहान साढे १० बजे होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम छ । उक्त वार्ताका लागि ४५ मिनेट समय तय भएको छ । उक्त वार्तापछि विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
ती कार्यक्रम सम्पन्न भएपछि मध्याह्न १२ बजे प्रधानमन्त्री दाहालले कतारी अमिरको सम्मानमा होटेल द्वारिकाजमा दिवाभोज आयोजना गर्नुहुने कार्यतालिका छ । त्यसपछि बुधवार दिउँसो नै कतारी अमिरको स्वदेश फिर्तीको कार्यक्रम छ ।