पुस ८, जनकपुरधाम । साढे चार महीनादेखि जारी मधेस आन्दोलन र नाकाबन्दीलाई उग्र बनाउंदै सङ्घीय समावेशी मधेसी गठबन्धनले जनकपुरमा लाठी जुलुस प्रर्दशन गरेको छ । प्रर्दशनका कारण जनकपुर विहानै देखि तनावग्रस्त बनेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विहानको समयमा शिक्षण संस्था संचालन गर्न दिने निर्णय विपरित मधेसी गठबन्धनले शिक्षण संस्था पूर्ण रुपमा अनिश्चितकालका लागि बन्द गराउंदै लाठी जुलुस प्रर्दशन गरेको हो । जनकपुरको मिल्स एरियाबाट निस्केको लाठी जुलुस भानु चोक, शिव चोक, जनक चोक, रामानन्द चोक हुंदै नगर परिक्रमा गरेको थियो । वाँसको भाटासहित प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले शिक्षण संस्था, यातायात, कलकारखाना, बजार बन्द गराएका छन् ।
उनीहरुले जनकपुरको रमानन्दचोकस्थित खानेपानी संस्थान, स्टेशन रोडस्थित भन्सार कार्यालय, कृषिविकास बैङ्क, मालपोत, कृषि सामग्री संस्थान, वनकार्यालय, नापीकार्यालय, जिल्ला कृषिविकास कार्यालय,जिल्लाविकास समितिको कार्यालय, जिल्लाप्रशासनकार्यालय लगायतका सरकारी कार्यालयहरु समेत बन्द गराएका छन् ।
गठबन्धनको आन्दोलनले बल्ल खुलेको शिक्षण संस्था पुनः अनिश्चितकालका लागि बन्द हुंदा विद्यार्थीहरु मारमा परेका छन् । एसएलसी परिक्षा नजिकिदैं जाँदा शिक्षण संस्थाहरु ठप्प हुंदा विद्यार्थीहरु अन्योलमा परेका छन् ।