कुनै पनि मानिस जन्मिएको महीनाकै आधारमा उसले कुन पद पाउँछ भनेर भविष्यवाणी गर्नु विज्ञानसम्मत त नहोला । तर, हालै गरिएको एक अध्ययनमा भने जुन र जुलाई (पूर्वीय तिथिअनुसार जेठ मध्यदेखि साउन मध्यसम्म) महीनामा जन्मिएका मानिशहरूले कम्पनीको नेतृत्वदायी पद अर्थात् प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सम्भावना कम रहेको दाबी गरिएको छ । क्यानडाको युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाअन्तर्गतको साउडर स्कूल अफ बिजनेशका अनुसन्धानकर्ताहरूले गरेको उक्त अध्ययनअनुसार मार्च र अप्रिल (फागुन मध्यदेखि वैशाख मध्यसम्म)मा जन्मिएकाहरूले भने संस्थाहरूको नेतृत्व सम्हाल्ने सम्भावना सबैभन्दा बढी रहेको पाइएको छ ।
अमेरिकी र क्यानडाली विद्यालयहरूले बालबालिकाहरूले किण्डरगार्टेनमा भर्ना गर्नका लागि लागू गर्ने ‘कट अफ’ समयले यसमा प्रमुख भूमिका खेल्ने उनीहरूको भनाइ छ । उत्तर अमेरिकी शिक्षा नीतिअनुसार किण्डरगार्टेनमा भर्ना हुन कुनै पनि बालबालिकाले ५ वर्षको उमेर पार गरेकै हुनुपर्छ । तर, एउटै सत्रमा सबै बालबालिकाको उमेर ५ वर्ष पूरा नहुने भएकाले विद्यालयहरूले सकेसम्म बढी विद्यार्थी भर्ना हुन पाऊन् भन्ने उद्देश्यले कट अफ डेट लागू गर्छन् । यसबाट जुन–जुलाईमा जन्मिएर त्यो समयमा भर्ना हुनेहरू आफ्नो कक्षामा सबैभन्दा कान्छो हुने भएकाले उनीहरूलाई अन्यको तुलनामा पढाउन र सिकाउन कठिन हुने अनुसन्धानकर्ताहरूको भनाइ छ ।
वर्ष ८, अंक १५४, बुधवार, ९ फागुन, २०६९