देशमा कि काँग्रेसको राज भयो कि कम्युनिष्टको । राजाका पालामा समेत । यद्यपि त्यसबेला कम्युनिष्टले चाहिँ बढी चान्स पाए । काँग्रेस कम्युनिष्टको राज घट्दै गए पनि धेरै घटेको भने छैन । अरूको साथ लिएर भए पनि घुमाइफिराई सत्तामा उनै पुगिरहेका छन् ।
हुन त नेपाली काँग्रेसको इतिहास निकै लामो छ, ६५ वर्ष भन्दा लामो । तर देशमा काँग्रेसले हुकुम चलाउन थालेको ३३ वर्ष मात्र भएको मान्नुपर्छ । काँग्रेसका संस्थापक बिपी कोइराला २०१६ सालमा ९ महीना प्रधानमन्त्री त बनेका थिए, तर राजा महेन्द्रले काँग्रेसको शासन क्वाप्पै खाइदिए । अनि देशमा माटो सुहाउँदो भनेर अर्कै भाषण चल्न थाल्यो । तेरो घरमा काँग्रेस पसोस् भन्थे । तर बिचरो काँग्रेसचाहिँ घरबारविहीन भएर भारत पो पस्नुपर्या’थ्यो । तै ३० वर्षे वनवासपछि २०४६–२०४७ जनआन्दोलन गरेर फेरि सत्तारोहण भयो । र नेपाली काँग्रेस फेरि देशको ‘तारणहार’ भएर सत्तामा वा विपक्षमा जमिरह्यो ।
यो ३३ वर्षमा कहिले देश अघि बढ्यो, कहिले काँग्रेस । कहिले दुवै अघि बढे, कहिले दुवै अघि बढ्न सकेनन् । अनि यस्तो भयो कि देश अघि बढ्यो र काँग्रेस पछि पर्यो । यी ३३ वर्षको यात्रा काँग्रेसको महायात्रा हो । यो दल दक्षिणतिरबाट शुरू भयो र उत्तरतिर गएर अस्ताउला जस्तो पो छ ।
यो ३३ वर्षसम्म काँग्रेस हाम्रो देशमा पालजस्तो तन्कियो, बेलुनजस्तो फुल्यो, हावाजस्तो सर्सरायो, कहिले हिउँजस्तो जमिरह्यो त कहिले गिट्टीजस्तो थुप्रिमात्र रह्यो । पूरा ३३ वर्षसम्म काँग्रेसले देशमा इतिहास बनायो, त्यसलाई सरकारी कर्मचारीले देखे, मिडियाले लेखे र सांसदहरूले पढे । पोस्टर, किताब, अनि देशमा ब्यानर र भित्ताहरूमा काँग्रेसको नाम लेखिएको थियो । रेडियो, टिभी, डकुमेन्ट्री, सरकारी बैठक र सम्मेलनहरूमार्फत दशै दिशामा काँग्रेसकै आवाज थियो । काँग्रेस धेरैको बानी बन्यो, कहिल्यै छुट्न नसक्ने खराब बानी । हामी सबै यहाँ, त्यहाँ, दिमाग र पेटबाट पनि काँग्रेसी हुन थाल्यौं ।
यी ३३ वर्षमा प्रत्येक नेपालीको भित्री आत्मामा काँग्रेस ग्यास्ट्रिक समस्याजस्तो समाहित भइरह्यो । जस्तै, २०४७ मा सत्ता पाउनेबित्तिकै काँग्रेसले अनुभव गर्यो कि भारतबाट आउने गरेको र काँग्रेसीजनले लाउने गरेको खादीको कपडा मोटा, भद्दा र बिझाउने खालका हुन्छन्, जबकि शरीर धेरै कोमल र नाजुक हुन्छ । त्यसैले काँग्रेसले निर्णय गर्यो कि खादीलाई पातलो बनाइनेछ, मुलायम रेशमी बनाइनेछ । पञ्चायती जेलमा काँग्रेसीहरूसँग धेरै अत्याचार भएको थियो । उनीहरूलाई चिसा भुइँमा सुत्न दिइन्थ्यो । तर काँग्रेस सत्तामा आएपछि राम्रो गुणस्तरको कपास उत्पादन गर्ने भनियो, त्यसबाट डसना र सिरानी बनाउन थालियो र काँग्रेसीहरू त्यसमा सुतेर मीठो सपना देख्न थाले ।
देशमा समस्या धेरै थिए, काँग्रेसी थोरै थिए । काँग्रेस बढ्दै गयो, समस्याहरू पनि बढ्दै गए । काँग्रेस २०४७ सालमा एकैचोटि देशको हर्ताकर्ता पनि बन्यो र समस्या पनि । शुरूमा सत्ता सम्हाल्दा सानो सानो रकममा मात्र आँखा लगाउँथ्यो, पछि विकासका नाममा देशलाई ‘डल्लो पारेर दाम कमाउने’ कसरत गर्न थाल्यो । बेलाबेलामा समस्या सुल्झाउने आयोग गठन गर्यो, रिपोर्ट बुझ्यो, तर आफूअनुकूल नमिलेपछि ‘धुलोमा मिलायो ।’ एक दिन यस्तो आयो कि समस्या काँग्रेस भए र काँग्रेस समस्या बन्यो । दुवै बढ्दै गए ।
काँग्रेसको मुखमा समाजवाद छ, आत्मामा पूँजीवाद । व्यवहारमा व्यावसायिक भाइभतिजावाद । अरू दलहरूले यसैको सिको सिके । काँग्रेसले उद्योगलाई प्रोत्साहन गर्ने नाममा ‘अनियमित अनुदान र असमान अवसरको खेती’ गर्यो । पूरा ३३ वर्षसम्म देशले यो बुझ्ने प्रयास गर्यो कि काँग्रेस के हो । तर काँग्रेस आफैले पनि आफैलाई बुझ्न सकेन । यस्तो लाग्छ, जो दायाँ होइन, त्यो काँग्रेस हो । जो बायाँ होइन, त्यो काँग्रेस हो । जो बीचमा छैन, त्यो काँग्रेस हो । जो बीचबाट बायाँ छ, त्यो काँग्रेस हो । मानिस जतिजति रूपहरूमा पाइन्छ, काँग्रेस त्यसभन्दा बढी रूपहरूमा पाइन्छ ।
हेर्दा हेर्दै काँग्रेस त ईश्वर पो बन्योे । त्यसैले प्रत्येक कुर्सीमा छ । प्रत्येक कुर्सीको पछाडि छ । प्रत्येक कुर्सीको अगाडि उभिएको छ । कुर्सीको मुनि छ । त्यसैले कुर्सी नै काँग्रेसको सिद्धान्त हो । यी सबै सिद्धान्तमा काँग्रेस ३३ वर्षसम्म अस्थिर भएर हल्लिइरह्यो ।
३३ वर्षको इतिहास साक्षी छ कि काँग्रेसले सधैं सन्तुलनको नीति अपनायो । घोषणापत्रमा जे भन्यो त्यो गरेन, जे गर्यो त्यो भनेन, जो भनियो त्यो सत्य थिएन, जे सत्य थियो त्यो गलत थियो ।
रुख रोप्ने अभियान चलायो र ठेक्का दिएर जंगलका जंगल सफाचट गर्यो । राहत दियो तर करबाट फिर्ता लियो । नीतिहरू बनाउन चाख देखायो, तर कार्यान्वयनमा आँखा चिम्ल्यो ।
देशलाई निजीकरणको मन्दिर बनायो, तर त्यसमा प्रतिस्पर्धाको मूर्ति राख्ने होस हरायो । ठेक्का प्रणाली व्यवस्थापनको खोज गर्यो तर आफ्नै काँग्रेसजनलाई मोज दिलायो, उद्योगलाई भने ओज दिएन । देश बिर्सियो, पार्टीमात्र सम्झियो, तर पार्टीभन्दा नेता मात्रै बलियो रह्यो । दाइ र भाउजुमात्र मोटा र बलिया भए । कार्यकर्ताको फरक बोली पनि बन्द भयो र जयजयकार मात्रै बाँकी रह्यो ।
समाजवादको समर्थन गर्यो तर पूँजीवादलाई कहिल्यै गुनासो गर्ने मौका दिएन । अनि समाजवादको खोलभित्र पूँजीवादलाई मलजल गरिरह्यो । निजी क्षेत्रको विपक्षमा सार्वजनिक संस्थानलाई उभ्यायो । सार्वजनिक संस्थानको विपक्षमा निजी क्षेत्रलाई उभ्यायो । दुवैबीच आफै उभियो ।
कसैलाई अघि बढ्न दिएन, कसैलाई घट्न दिएन । आफूले गरेन, अरूलाई पनि गर्न दिएन । आत्मनिर्भरतालाई प्राथमिकता दियो तर विदेशी सहयोग मागिरह्यो । युवालाई प्रोत्साहन गर्नुपर्छ भन्यो, तर बूढाहरूलाई मात्र टिकट दियो । जो जित्यो ऊ सांसद बन्यो, जो हार्यो ऊ मन्त्री बन्यो । जो केन्द्रमा काम लाग्ने थियो, त्यसलाई प्रदेशमा पठायो । जो प्रदेशमा पनि काम नलाग्ने थियो, त्यसलाई केन्द्रमा ल्यायो । जो दुवै ठाउँमा काम नलाग्ने थिए, तिनलाई राजदूत बनायो ।
आश्वासन दियो तर पूरा गरेन । जसको आश्वासन पूरा गर्यो, तिनैले पत्याएनन् । जनताका कुरा त सुन्योे तर विदेशीका कुरा मान्यो ।
३३ वर्षसम्म काँग्रेसको शासनले सन्तुलनको पराकाष्ठा नै देखायो । उत्तर बलियो भयो भने दक्षिण कमजोर भयो । दक्षिण बलियो भयो भने उत्तर कमजोर गरायो ।
यसरी काँग्रेसको योगदानलाई नकार्न सकिँदैन । उसले कति योग अर्थात् कमाइ गर्यो र कति दान गर्यो, खोज्न चाहिँ अलि ठूलै दिमाग चाहिएला ।
त्यसैले काँग्रेस अमर छ । यसका कमजोरीहरू रहिरहनेछन् र गुणहरू घटीबढी भइरहनेछन् । जबसम्म अनिर्णय, ढिलासुस्ती, पूर्वाग्रह, पक्षपात, ढोंग, गलत आकांक्षा, लोभ र भ्रष्टाचारजस्ता गुणहरू यो देशमा रहन्छन्, काँग्रेसलाई कसैले केही लछार्न सक्दैन । कुरा बुझ्नुभो नि ?