शीर्षकले नझुक्किनुहोला है । यो बीपीले लेखेको ‘मोदी आइन’को कुरा होइन । बजार र मन्दीको कुरा गर्न खोजेको हो । यो ठन्डीको मौसममा मन्डी ओढेर बस्न छाडेर कता मन्दीका कुरा गरेको भन्नुहोला । मान्छेहरू चन्डी छाडेर मन्दीका कुरा गर्न थालेपछि मैले पनि दुई चार कुरा त थप्नै पर्यो नि ।
हैन यो मन्दी भन्ने के रहेछ हँ ?
उत्तर सरल छ । मन्द मन्द गतिमा आउने भएकोले मन्दी । अनि आइसकेपछि सबैलाई मन्द गराउने हुनाले पनि मन्दी । कोही कोहीलाई मन्दीले स्तब्ध बनाउँछ, कसैलाई मस्त गराउँछ । कसैलाई त चुस्त र दुरुस्त पनि पार्छ । मन्द मन्द चाल भनेर कति कविले आफ्ना कलम चलाए, कतिले स्वरका जादू छोडे । तर मन्दमा इकार जोडेपछि गजबको स्त्रीलिंगी शब्द पो बन्छ । अनि यसको न चाल बुझिन्छ न ताल । साँच्चै नै बहुरूपी छ यो ।
भन्छन् कि मन्दी आउँदै छ, तपाईंले पनि सुन्नुभो होला । यो मन्दी वास्तवमा आइरहेको चैं कहाँबाट छ हँ ?
‘कहाँबाट आइरहेको छ, त्यो त थाहा छैन । त्यो जहाँ छ, त्यहीँबाट आइरहेको होला । जस्तो दिदी, बहिनी र छोरीहरू माइतबाट आउँछन् । मन्दी बाजा बजाएर आउने त होइन, तर मानिसले आउन बाध्य पार्छन् । जे गर्नुपर्ने हो, त्यो गर्दैनन् अनि जे नगर्नुपर्ने हो, त्यो गर्छन् । अनि मन्दी आफै आउन बाध्य हुन्छिन् ।
हैन हैन, दिदी, बहिनी र छोरीहरू त उनीहरूको घरबाट पो माइत आउँछन् । तीजमा बरु बाउ, दाजुहरू लिन जान्छन्, अनि मात्र आउँछन् । तर मन्दीलाई लिन चैं को गयो त ?
‘म त गा छैन । मन्दी मेरी दिदी, बहिनी हुँदै होइन’ भन्नुहोला । तपाईंले नमाने पनि मन्दीले तपाईंलाई आफन्त मानिहाल्छे । जब पैसाको कारोबार गर्नुहुन्छ, सामान किन्ने र बेच्ने कुरा गर्नुहुन्छ, कुनै न कुनै बेला मन्दीसँग दोस्ती भइहाल्छ । नाता छैन भने पनि जोडिइहाल्छ ।
‘त्यसो भए यी मन्दी कसकी दिदी, बहिनी हुन् त ? मन्दीको नागरिकता वा नेशनल आईडी केही त पक्कै होला नि त ?’
तपाईं पनि कस्तो कुरा गर्नुहुन्छ ? मन्दीको पनि कतै नागरिकता कार्ड हुन्छ त ?
‘त्यसो भए मन्दीको पासपोर्ट त होला नि ? पत्ता त लगाउनुस् न, यी मन्दी नानी कहाँबाट आइरहेकी छिन् ?’
मन्दी कसैको घरमा आउँदिनन्, बजारमा चैं आउँछिन् क्या ! बजारपछि छिमेकमा, अनि मात्रै तपाईंको घरमा आउँछिन् मन्दी ।
मन्दीलाई न भिसा चाहिन्छ न त पासपोर्ट वा आइडी । ढोका थुने झ्यालबाट, झ्याल थुने प्वालबाट कतै न कतैबाट छिरिहाल्छ । संसार थर्काउने अमेरिकाले नि रोक्न सकेन मन्दीलाई । त्यसैले कार्डसार्ड चाहिने होइन, बरु मन्दीको आफ्नै चाडबाड चाहिँ हुन्छ । मान्छेको चाडबाडमा खर्चपर्च बढ्छ, मन्दीकोमा चाहिँ घट्छ । त्यति हो फरक । आत्मा परमात्मा भनेजस्तै यी पनि मन्दी महामन्दी आदि अनेक नामधारी छिन् ।
‘बजारमा मन्दी एक्लै आउँछिन् कि क्या हो ? भिडभाडमै आउँछिन् होला नि होइन र ? किनकि हिजोआज कतिपय बजारमा गोडा राख्ने ठाउँ पनि हुँदैन । जस्तो, सुनको पसलमा नै जानोस् न, त्यहाँ यति भिड हुन्छ कि निःशुल्क बाँड्दैछन् जस्तो लाग्छ ।’
त्यसो होइन, जानकारहरू भन्छन् कि जब मन्दी आउन लाग्छिन्, तब सुनको चैं विक्री बढ्छ ।
‘त्यसो भए यसो होला भनम न, मन्दी नवविवाहित बुहारी जस्तै रहिछन्, सुन र सुनका गरगहना मन पराउने । हाम्रो परम्परामा विवाहको मौसममा सुन किन्ने चलन छ । चार वर्षअघि ठूलोवाली मन्दी आउँदा चार लाखको सुन किनिएको थियो, अनि गतवर्ष सानो मन्दी आउँदा ६ लाखको । तर मन्दी जसकोे भए पनि घरको इज्जत हुन्छ नि, त्यो त बचाउनैपर्छ । त्यसैले मन्दी नानी बजारमा एक्लै आउनु हुन्न । शहरका गल्लीगल्ली हृदय सम्राट गुण्डाहरूले भरिएका छन् ।’
पक्कै सोध्नुहोला ‘खै के कुरा गरेको ? तपाईंले अर्थशास्त्र त पढ्नुभएको छ कि क्या हो ?’
‘अर्थशास्त्र त होइन, अरू धेरै शास्त्र पढेको छु । किन र ?’
‘त्यसैले त धेरैलाई यो कुरा बुझ्न गाह्रो भएको छ । किनकि जसले अर्थशास्त्र पढेका छन्, मन्दीका कुरा उनीहरूका लागि हो, अरूका लागि त व्यर्थ हो । ‘अर्थ न बर्थ गोविन्द गाई’ भनेजस्तो ।
यो त गलत कुरा हो । लोकतन्त्र सबैका लागि हो । अनि लोकतन्त्रमा मन्दी पनि सबैका लागि हुनुपर्छ । गरीबहरू के मात्र भोट हाल्नका लागि जन्मेका हुन् र ? नौनी नौनी चैं नेताहरूले खाने, मही मात्र जनताले पाउने, त्यो पनि बासी ? के यो ठीक भइरहेको छ र ? अब यस्तो चल्दैन ।
‘मन्दी नौनी होइन नि यार । कसरी बुझाऊँ तपाईंलाई ? मन्दी त आउँछिन् अनि बादलजस्तै छाउँछिन् बस...। जब उनी ठीकसँग छाउछिन्, तब सरकारले पो चिन्ता गर्नुपर्छ त ।’
पूरै सरकारले चिन्ता गर्छ कि कुनै ‘चिन्ता–मन्त्री’ हुन्छ ?
‘सबैले गर्छन् । पूरै सरकारले दिन–रात चिन्ता गर्छ ।’
चिन्ताले चातुर्य घट्छ, दुःखले शरीर घट्छ, पापले लक्ष्मी घट्छ भन्छन् नि त ज्ञानीहरू ?
‘चिन्ता त चिन्ता–मन्त्रीले मात्र गर्छन् । वास्तवमा भित्रभित्रै उनी चिन्ता–मन्त्री हुन्, तर उनलाई अर्थ वा वित्त–मन्त्री भनिन्छ । रूप र सारमा भिन्नता हुन्छ नि ठीक त्यस्तै । जस्तै, जो माथिबाट जनताका सेवक कहलाइन्छन्, उनीहरू वास्तवमा मालिक हुन्छन् । जस्तै, तपाईं हामी जनता भनिन्छौं, तर भित्रभित्रै हामी प्रजा हौं ।’
त्यसो भए प्रजाले के गर्नुपर्छ ? अहिल्यै केही गर्नुपर्छ कि मन्दी पूरै छाएपछि मात्र गर्नुपर्छ ?
‘नयाँ केही गर्नुपर्दैन । जसरी पहिले राजा महाराजाहरूको जयजयकार गर्ने गर्थ्यौं, त्यही नै गर्दै बस्नुपर्छ ।’
बरु ऊ बाहिर राम्रोसँग नियालेर हेरौं त, मन्दी नानी त यतै हाम्रैतिर पो आइरहेकी छिन् है !