काठमाडौं । डेढ अर्बभन्दा बढी रुपैयाँ अपचलन गरेको आरोपमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेपलाञ्चोकका लामालाई गत शुक्रवार चितवनको भरतपुरबाट पक्राउ गरी आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले लामाविरुद्ध कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ९५२ भन्दा बढी बचतकर्ताले उजुरी दिएको बताए । उनका अनुसार लामामाथि कान्तिपुर सहकारीको एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार रुपैयाँ अपचलन गरेको आरोप छ ।
कान्तिपुरका ८५२ जाहेरवालाको उजुरीमा उक्त रकम अपचलन भएको देखिएको र पछि थपिएका १०० जना जाहेरवालाको मागदाबी रकम जोड्दा अपचलन भएको रकम अझै बढ्ने उनले बताए ।
लामाविरुद्ध पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभकाे रकम पनि अपचलन भएको आरोप छ । हाल उनी उक्त सहकारीका अध्यक्षसमेत हुन् ।
उक्त सहकारीका ५४ जना बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा निवेदन दिएका छन् । उक्त प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको बताइएको छ ।
२०८० फागुन २० गते काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपछि लामा फरार थिए ।