काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सौरभ ग्रुप अन्तर्गतको यस कम्पनीको साधारण सभा रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा गत बुधवार सम्पन्न भएको हो ।
उक्त सभाले कम्पनीको चुक्ता पूँजीको १५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । त्यस्तै सो सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।
सभाले संस्थापक शेयरधनी समूहबाट ५ जना र सर्वसाधारण शेयरधनी समूहबाट १ जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ, जसमा संस्थापक शेयरधनीको तर्फबाट विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टीकाराम न्यौपाने, तेन्जिङ लाग्देन तामाङ र उत्सव न्यौपाने तथा सर्वसाधारण शेयरधनी तर्फबाट शिवसिंह कार्की छन् । सभाले स्वतन्त्र सञ्चालकमा नेहा अग्रवाललाई मनोनित गरेको छ ।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् । उनले कम्पनी स्थापनापश्चात हालसम्म ६ करोड ७२ लाख ६८ हजार २१ बोरा सिमेन्ट र २८ लाख ८६ हजार १६६ टन क्लिंकर विक्री गर्न सफल भएको जानकारी गराएका छन् ।