काठमाडौं । हालसम्म ३१ दशमलव ९० प्रतिशत भौतिक प्रगति प्राप्त भएको काठमाडौं–तराई द्रूतमार्गको शुरू बिन्दु खोकनाबाहेक सबै प्याकेज ठेक्का प्रक्रियामा गएका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रूतमार्गका १३ ओटा प्याकेजमध्ये सबैजसो ठेक्का प्रक्रियामा प्रवेश गरेका हुन् ।
प्याकेज नम्बर ८(क), ९(क) र (ख)को बोलपत्रमा उच्च अदालत पाटनको निर्णयपछि थप प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । योसँगै प्याकेज नं. ११ बाहेकका प्याकेज ठेक्का प्रक्रियामा गएका हुन् । प्याकेज नम्बर ८(क), ९ (क) र (ख)को बोलपत्रको प्राविधिक मूल्यांकनको विषयलाई लिएर उच्च अदालत पाटनमा मुद्दा परेको थियो । रिट निवेदन परेपछि अन्तिम टुंगो नलाग्दासम्म प्रक्रिया रोक्न गत पुस २४ गते उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो ।
अहिले अदालतले रिट खारेज गरेर प्रक्रिया अघि बढाउन आदेश दिएपछि नेपाली सेनाले यी प्याकेजको आर्थिक प्रस्ताव खोलेर थप प्रक्रिया अघि बढाएको छ । १३ प्याकेजमध्ये १, २, ३, ४, ५, ६, ७ र १० खरीद (ठेक्का) सम्झौता भई कार्यान्वयनमा छन् । बाँकी प्याकेजमध्ये ८(ख) को बोलपत्रको प्राविधिक तथा आर्थिक मूल्यांकन सम्पन्न भई स्वीकृतिका लागि पत्र जारी भइसकेको छ ।
लामो समयदेखि अल्झिरहेको खोकना बिन्दुमा भने अझै खरीद प्रक्रिया शुरू हुन सकेको छैन । शुरू बिन्दु खोकना बनाउने कि सार्ने भन्नेमा आयोजना र स्थानीयबीच मतभेद छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने द्रूतमार्गको खोकना शुरू बिन्दुमा अहिले सवारी आवागमन व्यवस्थापनको विषय अध्ययनको क्रममा रहेको सेनाले जानकारी दिएको छ ।
२०८३ चैतसम्ममा द्रूतमार्ग सम्पन्न गर्ने गरी नेपाली सेनाले म्याद थप पाएको छ । प्रगतिमा भने सुधार देखिएको छैन । द्रूतमार्गका सुरुङ निर्माण ७३ प्रतिशत पुगेको छ । सेनाले उपलब्ध गराएको प्रगति प्रतिवेदनअनुसार फागुनसम्ममा निर्माणाधीन दुईओटा सुरुङमार्गको कुल ६ दशमलव ४१५ किलोमीटरमध्ये हालसम्म ४ दशमलव ६५३ किलोमीटर खनिसकिएको छ । हाल महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ निर्माणाधीन छन् ।
पछिल्लो परिमार्जित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार थप भएका चन्द्राम भीर सुरुङ डिजाइनको चरणमा छ । देवीचौर र सिसौटार सुरुङ निर्माणको खरीद प्रक्रिया अन्तिम चरणमा छ । ८७ स्थानमा बन्ने पुलमध्ये ६७ स्थानका लागि खरीद सम्झौता सम्पन्न भएको सेनाले जानकारी दिएको छ । ५ ओटा पुल बनिसकेका छन् ।
प्याकेज नं. ५ अन्तर्गतको निजगढ इन्टरचेन्जको डिजाइन परिमार्जन गर्न प्रस्ताव परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले द्रूतमार्गको उक्त खण्डमा पर्ने इन्टरचेन्जको डिजाइन परिमार्जन गर्न प्रस्ताव गरेको हो । प्रस्तावअनुसार उक्त इन्टरचेन्ज निर्माण गर्दा लागत बढ्ने सेनाको भनाइ छ । साथै जग्गा अधिग्रहण, रूख कटान पनि बढ्नुका साथै समयसीमामा समेत प्रभाव पर्ने सेनाले औंल्याएको छ । नेपाली सेनाले यो विषयमा सरकारबाटै निर्णय हुनुपर्नेमा जोड दिँदै आएको छ ।