महानगरपालिकाले न्यूरोड आसपासको क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । पर्यटकीय सम्पदाको प्रवर्धनका लागि सो क्षेत्रमा ६ ओटा बस सञ्चालन गर्ने तयारी गरिएको महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले अभियानलाई बताए । ‘३ महीनाभित्र सो क्षेत्रमा सबै किसिमका निजी तथा अन्य सार्वजनिक सवारीसाधन सञ्चालन गर्न प्रतिबन्ध लगाइनेछ,’ उनले भने, ‘यस विषयमा आवश्यक परामर्श गर्न अर्को हप्ता उद्योगी व्यवसायीहरूसँग छलफल गर्दै छौं ।’ ती बस नेपाल वायुसेवा निगम–धर्मपथ–खिचापोखरी–सुन्धारा र इन्द्रचोक–असन–महाकाल गरी दुई रूटमा सञ्चालन गरिने महानगरपालिकाले बताएको छ । ‘सवारी अस्तव्यस्तताका कारण यस क्षेत्रमा आउन चाहने पर्यटकलाई निकै अप्ठ्यारो परेको छ,’ अधिकारीले भने, ‘हामीले प्रदूषणरहित बस सञ्चालन गर्न खोजेका छौं ।’ बस ब्याट्री ब्याकअप र पावर चार्ज प्रणालीबाट सञ्चालन हुनेछ । त्यसले सो क्षेत्रलाई वायु तथा ध्वनि प्रदूषणबाट मुक्त गर्ने उनको भनाइ छ । जथाभावी सवारी आगमनले सो क्षेत्रमा रहेका ऐतिहासिक महत्त्वका पूर्वाधारहरूमा समेत असर परेको महानगरपालिकाले बताएको छ ।
बस सञ्चालन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्शलगायतका निजीक्षेत्रसँग परामर्श गरिने अधिकारीले बताए । निश्चित समय निर्धारण गरेर दैनिक रूपमा बस सञ्चालन गरिने उनले जानकारी दिए । ‘बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म ई–बस सञ्चालन गर्न सकिन्छ,’ अधिकारीले भने, ‘समयका विषयमा स्थानीय बासिन्दासँग समेत छलफल गरिने छ ।’
वर्ष ८, अंक ७, सोमवार २५ भदौ, २०६९