काठमाडौं । सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्वीटी फण्डले कात्तिक मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार फण्ड कात्तिक मसान्तमा रू. ५ करोड १० लाख नोक्सानीमा छ । असोज मसान्तमा पनि फण्ड रू. ४ करोड ८१ लाख नोक्सानीमा थियो ।
यस आधारमा फण्डको नोक्सानी असोजको तुलनामा कात्तिकमा बढेको छ । कात्तिकमा फण्डको खर्चमा वृद्धि भएसँगै नोक्सानी बढेको हो । असोज मसान्तमा फण्डको जम्मा खर्च रू. ४६ लाख ६२ हजार रहेकोमा कात्तिक मसान्तमा बढेर रू. ६१ लाख ५५ हजार पुगेको छ ।
त्यस्तै कात्तिक मसान्तमा फण्डको जम्मा आम्दानी रू. ४ करोड ४९ लाख ऋणात्मक छ । सो अवधिमा फण्डले सूचीकृत शेयरमा रू. ५७ करोडभन्दा बढी लगानी गरेको छ । यो लगानी असोज मसान्तमा रू. ५६ करोड ९५ लाख थियो । त्यस्तै फण्डको न्याभ असोज मसान्तमा ९ रुपैयाँ ६५ पैसा रहेकोमा कात्तिक मसान्तमा घटेर ९ रुपैयाँ ६३ पैसा कायम भएको छ ।