काठमाडौं । नेपालका लागि जापानका राजदूत मेएडा टोरूले वीरगञ्ज महानगरपालिका भ्रमणका क्रममा केएनपी जापान प्रालिको कारखानाको अवलोकन गरेका छन् ।
उनलाई केएनपी जापान प्रालिका निर्देशक अशोक कुमार बैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीद्वारा स्वागतका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो ।
राजदूत मेएडाले जापान, भारत र नेपालबीचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्यप्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबूत बनाउने विश्वास उनले व्यक्त गरे ।
राजदूत मेएडाले बहुदेशीय लगानीका उद्योगको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थकर समस्याहरूको समाधान हुनुपर्नेमा जोड दिए । हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको सम्भावना बढ्ने बताए । यसअघि पनि दुईजना जापानी राजदूतको अवलोकन भ्रमण केएनपी जापान प्रालिमा भएको थियो ।