काठमाडौं । दुई वर्षअघिसम्म पोखराबाट पर्यटकीय स्थल सराङकोट पुग्न घन्टौं लाग्थ्यो । पोखरा आएका पर्यटकहरू कि ट्याक्सीमा सराङकोट जान्थे कि माइक्रोबसमा ।
अहिले भने उक्त यात्रा ९ मिनेटमै तय गर्न सकिन्छ । अन्नपूर्ण केवलकार प्रालिले २०७९ फागुनमा केवलकार सञ्चालन गरेसँगै पर्यटक तथा यात्रुलाई सहज भएको छ । पोखरा महानगरपालिका–१८ को सेदीबगरबाट सराङकोट डाँडासम्म केवलकार सञ्चालनमा छ ।
केवलकार सञ्चालनपछि पोखरा–सराङकोटको यात्रा सहज मात्रै भएको छैन, पर्यटक तथा यात्रुले केवलकारको गोन्डोलामा बसेर पोखराको मनोरम दृश्यको मज्जा लिन पाएका छन् । केवलकारको गोन्डोलामा बसेर फेवातालको मनोरम दृश्यसँगै, ग्रामीण भेगको खेतीपाती, वस्तु पालन तथा पुराना शैलीका घर, पोखरा शहरको बस्ती र पोखरा अन्तरराष्ट्रिय विमानस्थल नियाल्न सकिन्छ ।
केवलकारमा यात्रा गर्नका लागि नेपाली यात्रुहरूका लागि दुईतर्फी भाडादर ७०० रुपैयाँ, सार्क राष्ट्रका नागरिकका लागि १ हजार रुपैयाँ र तेस्रो मुलुकका नागरिकका लागि १२ अमेरिकी डलर कायम गरिएको छ । साथै ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई ५० प्रतिशत र नेपाली विद्यार्थीलाई २५ प्रतिशत छूटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
केवलकारले सराङकोट डाँडामा रहेको मन्दिरमा प्रत्येक सोमवार आरतीमा सहभागी हुने दशनार्थीका लागि विशेष छूटको व्यवस्था गरेको छ । कम्पनीका अनुसार प्रत्येक सोमवार साँझ ४ बजेदेखि ७ बजेसम्म नेपाली नागरिकले २५० रुपैयाँमा केवलकारको यात्रा गर्न पाउनेछन् ।
केवलकार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा छ । केवलकारले यात्रुहरूलाई लेकसाइडदेखि सेदीबगरको तल्लो स्टेशनसम्म ल्याउन–लैजान निःशुल्क सटलबसको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
सराङकोटबाट सुर्याेदयसँगै सूर्यास्तको दृश्य हेर्न सकिन्छ । उक्त दृश्य हेर्न भीड लाग्ने गरेको छ ।