नेपालमा हामीलाई चाहिनेजति खाद्यान्न उत्पादन स्वदेशमै भएको तथ्यांकले देखाउँछ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अनुसार अझै पनि उपभोगयोग्य खाद्यान्न बचत १६ लाख मेट्रिक टनभन्दा बढी देखाइएको छ । उत्पादनमा बीउ, चरामूसाबाट हुने नोक्सानी, कुटाइपिसाइ गर्दा प्राप्त हुने परिमाण कटाएर निकालिने गरिन्छ । खाद्यान्न आवश्यकता प्रतिव्यक्ति हिसाब गरेर कुल जनसंख्या २ करोड ९४ लाख ३४ हजार ३५० जनसंख्याको आधारमा निकालिएको हो । वैदेशिक रोजगारीमा गएकाको संख्या यसमा हिसाब गरिएको छैन । तर, खाद्यान्नहरूको आयात स्थिति हेर्दा खाद्यान्नको बचत र आयातबीच पटक्कै तालमेल देखिएको छैन ।
नेपालमा खाद्यान्न उत्पादन स्थिति
नेपालमा खाद्यान्नभित्र धान, मकै, गहुँ, कोदो, जौ र फापरलाई समेटिएको छ । यी क्रमश: उत्पादनका हिसाबले क्रममा पर्छन् । धान नेपालकै पहिलो बाली हो । यसपछि मकै र गहुँ बाली पर्छन् । त्यसपछि कोदो, जौ र फापर पर्छन् । २०७७/७८ देखि २०७९/८० सम्मको ३ वर्षको क्षेत्रफल र उत्पादनको औसत निकालेर चार्टग्राफमा देखाइएको छ । नेपालमा धानखेती १४–१५ लाख हेक्टरमा गरिन्छ । यसबाट सरदर ५४ लाख मेट उत्पादन भनी दिइएको छ । खाद्यान्नभित्र हिमाली भेगमा उत्पादित अन्य अन्नबाली जस्तै उवा, चिनो, कागुनो आदि केकति हुन्छ, राष्ट्रिय तथ्यांकभित्र अझै पारिएको छैन । हाल यस्ता रैथाने बालीहरू शहरी क्षेत्रका भान्सामा पर्न थालेका छन् ।यी जानकारीले नेपालमा खानलाई चाहिने खाद्यान्न स्वदेशमै पर्याप्तमात्र नभएर बचतसमेत भएको देखाउँछ । तर, चामल मात्र नभएर मकै, गहुँ, कोदोसमेतको आयात वर्षेनि बढ्नु र निर्यात निराशाजनक देखिनुले कृषिमा गरिएको लगानी र प्रतिफलबारे सरोकारवालाले सोच्नैपर्छ ।
खाद्यान्नको आयात निर्यात स्थिति
आयात स्थिति हेर्दा सन् २०१३/१४ कुल खाद्यान्नको आयात सबै जोड्दा २८ अर्ब ६२ करोड बराबरको आयात भएकोमा यो वर्षेनि बढ्दै २०२०/२१ मा उच्च विन्दुमा करीब ८० अर्ब पुगेको थियो । त्यसपछि खाद्यान्न आयात केही ओरालो लागेको देखिन्छ । गत आव ५० अर्ब ७८ करोड बराबरको त धानचामल आयात भएको थियो । यसैगरी खाद्यान्नको निर्यातमा फापर प्रमुख देखिन्छ । अरू खाद्यान्नहरू छिटफुट र थोरै भन्सार मूल्यमा आयात भएको देखिन्छ ।
खानेबानीमा सुधार
खाद्य सुरक्षाको आधार खानेबानीमा सुधार हुन सक्छ । खानेबानीमा सुधार ल्याउन सके खाद्य सुरक्षा प्राप्त गर्न सकिन्छ भन्ने ठहर यस पङ्क्तिकारले चीन भ्रमणका बेला महसूस गरेको थियो ।कृषि मन्त्रालयअन्तर्गत सन् २००८ मा यो पङ्क्तिकार कृषि बजारसम्बन्धी तालीमका लागि चीनको छेन्तु जाने टोलीको एक सदस्य थियो । अफ्रिकी मुलुकलगायत ३२ देशका ६० भन्दा बढी हामी सहभागी रहेका थियौं । तीन हप्ताको बसाइमा खाने परिकारमा उसिनेका आलु, पिँडालु, ताजा सागपात, तरकारी जस्ता परिकार खाँदा भातको मात्रा सबैको कम देखियो ।
भातभन्दा अरू परिकार रुचिकर लाग्ने गरेका थिए । सबैको थालीमा यस्तै खाद्य सम्मिश्रण देखिन्थ्यो । यदि यसैगरी नेपालमा पनि खाद्य परिकार खाने हो भने थोरै अन्नले धेरैलाई पुग्न सक्छ । हाम्रो शरीरलाई स्वस्थ राख्न आवश्यक पोषणको मात्रा खुलेको आहार चार्ट उमेर, कार्य प्रकृति र बोझअनुसार हाम्रो परिवेशअनुसार खाद्यपरिकार खाने हो भने खाद्यान्नको प्रतिदिनको बचत हुने र यसबाट खाद्यसुरक्षा हुने ठहर यस पङ्क्तिकारको छ । यसमा ऊ अभ्यस्त सकेसम्म भइरहेको छ ।
हामीले रोगबाट बच्न भातभन्दा बढी महत्त्व दाल, साग, गेडागुडीलाई दिनुपर्छ भनेर स्वास्थ्य तथा पोषणविद्हरूले पहिलेदेखि भन्दै आएका छन् तर पनि हामीले खानेबानीमा सुधार गर्न सकेका छैनौं । यसर्थ खानेबानीमा सुधार गर्नु भनेको खाद्यसुरक्षा प्राप्त गर्नु हो ।
आर्थिक कूटनीति
नेपालको छिमेकी लगायतसबै राष्ट्रहरूसँग मित्रवत् सम्बन्ध छ । आर्थिक कूटनीतिको माध्यमबाट आयात निर्यातबीच सन्तुलन कायम राख्न कृषि तथा औद्योगिक उत्पादनको निर्यात बढाउन सकिन्छ । यसका लागि अति सम्भाव्य, सम्भाव्य मुलुकहरूमा हाम्रा उत्पादनहरू कसरी पठाउन सकिन्छ भन्नेमा अध्ययन गरी त्यसअनुसार काम हुनुपर्छ । नीतिगत तगारा, सम्भावना र चुनौती पहिल्याउन, समाधान गर्न, कूटनीतिक पहल गर्न, सूचनाहरू निजीक्षेत्रलाई दिन र सहजीकरण गर्न एक हेल्प डेस्क राख्नेजस्ता काम गर्न सकिन्छ । कूटनीतिक मर्यादाको साथै आर्थिक कूटनीतिमा प्राप्त सफलताको आधारमा राजदूतावास र राजदूतहरूको मूल्याङ्कन गर्नु उपयुक्त हुनेछ ।
नेपालमा खानेबानीमा सुधार गर्न सके खाद्य सुरक्षाका साथै आयात परिमाण घटाउन सकिन्छ । तुलनात्मक लाभका आधारमा आयात निर्यातबीच सन्तुलन राख्न नेपाली राजदूतावासलाई आर्थिक कूटनीतितिर परिचालन गर्ने बेला आएको छ ।
लेखक कृषिअर्थविद् हुन् ।