काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कर्पाेरेट डेभलपमेन्ट बैंकको नाफामा उत्साहजनक वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यो नाफा ६४२ दशमलव १२ प्रतिशतले वृद्धि भएको हो ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले तीन महीनाको अवधिमा ८५ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महीनामा यो बैंकले ११ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
गत वर्षको तुलनामा बैंकको खराब कर्जा वृद्धि भए पनि नाफामा असर परेको छैन । बैंकको सञ्चालन नाफा वृद्धि भएको हो । गत वर्षको पहिलो त्रैमासमा यो बैंकको खराब कर्जा ४ दशमलव ६५ प्रतिशत थियो भने चालू वर्षको असोज मसान्तसम्म बढेर ४ दशमलव ६९ प्रतिशत कायम भएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको सञ्चालन नाफा १६ लाख ५० हजार रुपैयाँ थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा उक्त नाफा वृद्धि भएर १ करोड २२ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
त्यसैगरी बैंकले खुद ब्याज आम्दानीबाट तीन महीनाको आवधिमा १ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ७७ लाख ६६ हजार रुपैयाँ कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि हुँदा तीन महीनाको अवधिमा बैंकको नाफामा वृद्धि भएको देखिन्छ ।
हाल कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुँजी ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै बैंकले जगेडा कोषमा १३ करोड १८ लाख रुपैयाँ संकलन गरेको छ । उक्त अवधिसम्म यो बैंकले ९४ करोड ४९ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने १ अर्ब ७ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
हाल यो बैंकको वार्षिक प्रतिशेयर आम्दानी १ दशमलव ७१ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४९ दशमलव ४७ रुपैयाँ रहेको छ ।