कम्पनी स्थापना गर्दा अनिवार्य रूपमा प्रबन्धपत्र कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ । कम्पनीको उद्देश्य अनुरूपका मुख्य बुँदाहरू प्रबन्धपत्रमा उल्लेख गर्नुपर्छ । एकल शेयरधनी भएको कम्पनीमा नियमावलीलाई ऐच्छिक रूपमा राखिएको हुन्छ । मुख्यतया प्रबन्धपत्रमा कम्पनीको नाम, कम्पनीको रजिस्टर्ड कार्यालय रहने स्थान (ठेगाना), कम्पनीको उद्देश्य, शेयरधनीको दायित्व सीमित वा असीमित रहनेसम्बन्धी व्यवस्था, कम्पनीको पूँजी लगायत बुँदा समावेश गरिन्छ ।
कम्पनी ऐन बमोजिम कम्पनी स्थापना भइसकेपछि कम्पनीको तर्फबाट गरिने सम्पूर्ण कारोबार कम्पनीका नामबाटै गर्नुपर्छ । कम्पनीको नाम के राख्ने भन्ने कुरा कम्पनीका संस्थापकहरूले नै निर्धारण गर्नुपर्छ । कम्पनीका संस्थापकले कम्पनीको प्रस्तावित नाम विद्युतीय माध्यमबाट स्वीकृतिका लागि कम्पनी रजिस्ट्रारको कार्यालयसमक्ष निवेदन दिनुपर्छ । नाम जुधेमा त्यो स्वीकार हुँदैन । नाम स्वीकृत भएर आएपछि कम्पनीको प्रबन्धपत्र र नियमावली लगायत आवश्यक कागजात कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गर्नुपर्छ ।
कम्पनीको संस्थापना गर्दा नै कम्पनीको मूल कार्यालय अर्थात् रजिस्टर्ड कार्यालय कहाँ राख्ने हो, त्यो पनि कम्पनीको प्रबन्धपत्रमा खुलाउनुपर्छ । कुनै कम्पनी, सञ्चालक, शेयरधनी, डिबेञ्चरवाला वा कर्मचारीलाई कम्पनीको कारोबार वा कम्पनीसँग सम्बद्ध विषयको सम्बन्धमा कुनै सूचना, म्याद बन्द सवाल आदि तामेल गर्नुपरेमा सो कम्पनीको रजिस्टर्ड कार्यालयमा त्यस्तो सूचना, म्याद, बन्दसवाल आदि बुझाएमा वा हुलाक मार्फत पठाएमा वा त्यस्तो कार्यालयमा राखिएको टेलिफ्याक्स, इमेल, टेलेक्स वा त्यस्तै अन्य विद्युतीय उपकरणमार्फत पठाएमा रीतपूर्वक तामेल भएकोे मानिन्छ । कम्पनी रजिस्ट्रारको कार्यालयले स्वीकृति दिएकोमा बाहेक कम्पनीको लेखा कम्पनीको रजिस्टर्ड कार्यालयबाहेक अन्यत्र राख्नु हुँदैन । कम्पनीको रजिस्टर्ड कार्यालय तोकी सोही स्थानमा कम्पनीको सम्पूर्ण लेखा विवरण राख्नुपर्छ । तसर्थ कम्पनीसँग सम्बद्ध कुराका सम्बन्धमा कम्पनीलाई सम्पर्क गर्नुपर्दा कम्पनीको प्रबन्धपत्रमा उल्लेख गरिएको रजिस्टर्ड कार्यालयमा सम्पर्क राख्नुपर्छ ।
कम्पनी संस्थापना हुँदा कुन उद्देश्य प्राप्तिका लागि व्यवसाय, कारोबार वा उद्यम गर्न खोजिएको हो सो कुरा प्रबन्धपत्रमा उल्लेख गर्नुपर्छ । कम्पनीले प्रवन्धपत्रमा उल्लेख गरिएको उद्देश्य अनुसार नै कार्य गर्नुपर्छ । कम्पनीले प्रबन्धपत्रमा उल्लेख गरिएको उद्देश्य बाहिर गएर कुनै कामकारबाही गरेमा त्यस्तो काम तथा व्यवहार अमान्य तथा अनाधिकार हुन्छ । कम्पनीको उद्देश्य प्रबन्धपत्रमा उल्लेख गर्दा अस्पष्ट, बहुअर्थी, घुमाउरो भाषा प्रयोग गर्नु हुँदैन । प्रबन्धपत्रमा एउटै कुरालाई दोहोर्याई वा तेहर्याई उल्लेख गर्न समेत हुँदैन । प्रबन्धपत्रमा उल्लेख गरिने उद्देश्य स्पष्टसाथ बुझिने गरी सरल तथा संक्षिप्त भाषामा उल्लेख गर्नुपर्छ । कम्पनीको उद्देश्य प्रचलित कानून विपरीत भएमा वा सार्वजनिक हित, नैतिकता, सदाचार, शिष्टाचार आदि कुनै दृष्टिकोणले अनुपयुक्त वा अवाञ्छित देखिएमा वा फौजदारी कार्यको आशय झल्कने देखिएमा कम्पनी रजिस्ट्रारको कार्यालयले त्यस्तो उद्देश्य राख्ने कम्पनीको दर्ता अस्वीकार गर्न सक्छ । कम्पनीको प्रबन्धपत्रमा निर्धारित अधिकारक्षेत्रको सीमाभित्र रही त्यस्तो कारोबार गर्नु प्रत्येक कम्पनीका सञ्चालक तथा पदाधिकारीको कर्तव्य हुन्छ ।
कम्पनीको कारोबार वा व्यवसाय गर्दा कम्पनी नोक्सानमा जान सक्छ । कम्पनी नोक्सानमा परी विघटन हुँदाका अवस्थामा कम्पनीको दायित्व शेयरधनीले तिर्नुपर्ने भएमा शेयरधनीको दायित्व असीमित हुन्छ । कम्पनी ऐन, २०६३ ले कम्पनीको कारोबारका सम्बन्धमा शेयरधनीको दायित्व निजले किनेको वा किन्न कबुल गरेको शेयरको अधिकतम रकमसम्म मात्र सीमित रहने गरी कम्पनी संस्थापना गर्न सकिने व्यवस्था गरेको छ । नेपालको कम्पनी ऐनअन्तर्गत असीमित दायित्व भएको कम्पनी संस्थापना गर्न सकिँदैन । तर, मुनाफा वितरण नगर्ने कम्पनीको कुनै सदस्यले लिखित रूपमा स्वीकार गरेको अवस्थामा त्यसरी स्वीकार गरेको हदसम्म मात्र त्यस्तो सदस्यको दायित्व सृजना हुन सक्छ ।
कम्पनीलाई आफ्नो उद्देश्यअनुसारको कार्य गर्न पूँजीको आवश्यकता पर्छ । सर्वप्रथम कम्पनीमा पूँजी संकलन संस्थापकद्वारा गर्ने गरिन्छ । पब्लिक कम्पनीको संस्थापकले किन्न कबुल गरेको शेयरबापतको रकममध्ये माग भएको पूरा रकम चुक्ता भइसकेको प्रमाण कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरेपछि मात्र कारोबार प्रारम्भ गर्ने स्वीकृति पाउँछ । कम्पनीको प्रबन्धपत्रमा पूँजीसँग सम्बद्ध निम्न विषय उल्लेख गर्नुपर्छ । जस्तै कम्पनीको अधिकृत पूँजीको अंक, कम्पनीले तत्काल जारी गर्ने शेयर पूँजीको अंक र कम्पनी संस्थापकले चुक्ता गर्न कबुल गरेको अंक, कम्पनीको शेयरको किसिम, त्यस्ता शेयरमा निहित हक, अधिकार प्रत्येक शेयरको मूल्य विभिन्न प्रकारको शेयर सङ्ख्या, शेयर किन्न वा हस्तान्तरण गर्न कुनै बन्देज रहेको भए सो कुरा, संस्थापकले तत्काल लिन कबुल गरेको शेयर संख्या, शेयरको रकम भुक्तानीका शर्तहरू, प्राइभेट कम्पनीको हकमा शेयरधनीको अधिकतम संख्या । संस्थापक लगायत व्यक्तिले नगद बाहेक अरू कुनै किसिमबाट शेयर किन्ने लगायत विषय कम्पनीको प्रबन्धपत्रमा उल्लेख गर्नुपर्छ । संस्थापक वा अन्य कुनै व्यक्तिले नगदबाहेक अरू कुनै किसिमबाट शेयर किन्दा वा शेयरमा हक प्राप्त गर्दा नगदबाहेक अन्य कुनै सम्पत्ति प्राप्त गर्दा पब्लिक कम्पनीको हकमा प्रचलित कानून बमोजिम मूल्यांकन गर्न प्रमाणपत्र प्राप्त इन्जिनीयर वा लेखाव्यवसायीबाट त्यस्तो सम्पत्तिको मूल्यांकन गराउनुपर्छ । सम्पत्ति मूल्यांकन गर्ने व्यक्तिले सम्पत्तिको विवरण मूल्यांकन गर्दाको आधार उल्लेख गर्नुपर्छ ।
प्रबन्धपत्रमा कम्पनीको संस्थापकहरूको पूरा नाम र ठेगाना उल्लेख गरी प्रत्येक संस्थापकले केकति शेयर लिन मन्जुर गरेको हो सो समेत देखाइएको र निजहरू सबैको सहीछाप परेको हुनुपर्छ । प्रत्येक संस्थापकको लागि छुट्टाछुट्टै साक्षीको नाम र ठेगाना स्पष्टसँग खुलेको हुनुपर्नेछ । त्यस्तो साक्षीको सहीछापसमेत प्रबन्धपत्रमा परेको हुनुपर्छ । कम्पनी संस्थापना भएको १ वर्र्षिभत्र कम्पनीको सञ्चालक समितिको निर्णयले प्रबन्धपत्रमा देखिएका सामान्य त्रुटि वा छपाइ वा टाइपको गल्तीलाई सच्याइ पाउन कार्यालयसमक्ष निवेदन दिन सकिन्छ । निवेदन पर्न आएमा त्यसउपर छानविन गरी उपयुक्त देखेमा कार्यालयले त्यस्तो त्रुटि वा गल्तीलाई सच्याई सोको अभिलेख राख्नेछ । कम्पनीको मूल उद्देश्यमा भने फरक पर्ने गरी कुनै कुरा सच्याउन सकिनेछैन । तसर्थ प्रबन्धपत्रमा कम्पनीको नाम, कम्पनीको रजिस्टर्ड कार्यालय रहने स्थान, कम्पनीको उद्देश्य, शेयरधनीको दायित्व सीमित वा असीमित रहने सम्बन्धी व्यवस्था, कम्पनीको पूँजी लगायत विषय समावेश हुँदा यसको महत्त्व ज्यादै छ ।
न्यौपाने अधिवक्ता हुन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.