
कम्पनीको वित्तीय विवरणले सीमित अवधिको वित्तीय अवस्थालाई देखाउँछ । सो वित्तीय विवरणमार्फत कम्पनीको अवस्था विश्लेषण गर्न सकिन्छ । विश्लेषण गर्ने विभिन्न प्रक्रियामध्ये रेशियो (अनुपात) विश्लेषण पनि एक उत्कृष्ट प्रक्रिया हो । कुनै पनि संस्थाको वित्तीय विवरणको सङ्ख्यात्मक सम्बन्ध विश्लेषण गर्न रेशियो विश्लेषणले मद्दत गर्छ । कम्पनीको वित्तीय स्थिति र कम्पनीले गर्ने कार्यको मूल्याङ्कन गर्न रेशियो विश्लेषणको प्रयोग हुन्छ । विश्लेषकहरू कम्पनीको वित्तीय अवस्था बुझ्न र कम्पनीमा लगानी गर्न उचित हुने नहुने निर्णय गर्न यस प्रक्रियाको पनि प्रयोग गर्छन् । कम्पनीको विभिन्न तत्त्वलाई आधार मानेर फरकफरक अनुपातबाट कम्पनीको नाफा, तरलता, कार्य क्षमताको मूल्याङ्कन गरिन्छ ।
अनुपातका प्रकारहरू
तरलता अनुपात
तरलता अनुपातले कम्पनीको कर्जा भुक्तानी गर्ने र कम्पनीको सुरक्षा गर्न सक्ने÷नसक्ने मापन गर्छ । तरलता अनुपातअन्तर्गत चालू अनुपात, क्विक रेशियो र अपरेटिङ नगद प्रवाह अनुपात पर्छन् । चालू अनुपात मापन गर्न चालू सम्पत्ति र चालू दायित्वको प्रयोग हुन्छ । यो अनुपात धेरै भयो भने कम्पनीले चालू दायित्व (जस्तै ः चालू पूँजी ऋणको साँवा ब्याज, उधारो खरीदबापतको भुक्तानी, कर्मचारीको तलब आदि) सजिलै भुक्तानी गर्न सक्छ । कम भयो भने त्यस्तो दायित्व भुक्तानी गर्न केही गाह्रो पर्न सक्छ । यो अनुपातको अङ्क एकभन्दा कम भयो भने ती सबै दायित्व भुक्तानी गर्न सकिँदैन । त्यस्तै, क्विक रेशियोमा क्विक (चाँडै विक्री भएर नगद आउन सक्ने) सम्पत्ति र चालू दायित्वको प्रयोग गरिन्छ ।
लिभरेज अनुपात
कम्पनीले लिएको दीर्घकालीन तथा कुल ऋणको साँवा ब्याज भुक्तानी गर्न सक्ने क्षमता मापन गर्न लिभरेज अनुपातको प्रयोग गरिन्छ । सामान्यतया यो अनुपात जति कम भयो उति राम्रो । तर, धेरै कम भयो भने लिन सक्ने कर्जा नलिएर व्यवसायको सामान्य विस्तारलाई खुम्च्याएको अर्थ लाग्छ । फिक्ष्ड चार्जेज कभरेज रेशियोले पहिले नै निर्धारित सबै शुल्क (ब्याज, पानी, बिजुली आदिको शुल्क) तिर्न सक्ने क्षमता मापन गर्छ ।
एक्टिभिटी रेशियो
एक्टिभिटी रेशियोले कम्पनीको सम्पत्ति कत्तिको कुशलतापूर्वक प्रयोग भइरहेको छ भन्ने मापन गर्छ । यसलाई प्रभावकारिता अनुपात पनि भन्न सकिन्छ । कुनै पनि संस्थाको सम्पत्तिको प्रभावकारी प्रयोग वा व्यवस्थापन भए नभएको तथ्य विश्लेषण गर्न एक्टिभिटी रेशियोको प्रयोग हुन्छ । उदाहरणका लागि इन्भेण्ट्री टर्नओभर रेशियो उच्च अर्थात् ४ छ भने त्यति नै माल वर्षदिनमा चारपटक विक्री हुँदै आम्दानी आउँदै गर्छ भन्ने अर्थ लाग्छ । तर, त्यो अङ्क तीनमात्र भयो भने त्थो माल वर्षमा तीनपटकमात्र विक्री भएर आम्दानी आउँछ भन्ने अर्थ हुन्छ । त्यसैले यो रेशियो बढी राम्रो हो ।
प्रोफिटेबिलिटी रेशियो
नाफाको गुणस्तर मापन गर्न प्रोफिटेबिलिटी रेशियोहरूको प्रयोग गरिन्छ । कुनै पनि संस्थाको लगानीमा कति प्रतिशत प्रतिफल आर्जन भएको छ भन्ने तथ्य पत्ता लगाउन प्रोफिटेबिलिटी रेशियो हेरिन्छ । संस्थाको विगतको नाफा प्रवृत्ति र उद्योग समूहको प्रतिफलको दरसँग प्रोफिटेबिलिटी रेशियोको तुलना गरिन्छ । त्यो उद्योग समूहका अरू कम्पनीको औसतमा भन्दा आफूले छानेको कम्पनीमा यो अनुपात राम्रो हुनुपर्छ ।
प्रस्तुति : सुप्रिम तिवारी