कुनै पनि व्यक्तिले आपूmसँग रहेको चिजवस्तु अन्य व्यक्तिलाई दिनु, हस्तान्तरण हो । व्यावसायिक कारोबारको सिलसिलामा अत्यधिक प्रचलनमा रहेको करार र त्यसबाट सृजित अधिकार र दायित्वको हस्तान्तरणका बारेमा यहाँ चर्चा गर्न खोजिएको हो । करारको हस्तान्तरण भन्नाले करारीय पक्षहरूबीच भएको करारबाट उत्पन्न भएका अधिकार र दायित्व करारको पक्ष नरहेको तेस्रो पक्षमा सहमति या असहमतिका साथ सर्ने कार्य हो । यहाँ तेस्रो पक्ष भन्नाले करार गर्दाको समयमा करारको पक्ष नभएको व्यक्ति सम्झनुपर्छ । अन्य व्यक्तिले गरेको करारको अधिकार उपभोग गर्न र दायित्व पूरा गर्न तेस्रो पक्षको कानूनबमोजिमको उपस्थिति भएमा करारको हस्तान्तरण भएको मानिन्छ । साँच्चैभन्दा करारको हस्तान्तरण करारको सामान्य नियमविपरीत हुन्छ । करार पक्षहरूको स्वतन्त्र सहमतिबाट हुने भएकाले त्यस्तो करारको दायित्व स्वीकार नगर्ने पक्षलाई सो बमोजिमको दायित्व पूरा गराउन पाइँदैन ।
सामान्यतः करारीय दायित्वहरू हस्तान्तरण हुन सक्दैन, किनकी त्यो दायित्व पक्षहरू आफैले पूरा गर्नुपर्छ भनिए तापनि त्यस्ता दायित्वहरू विशेष परिस्थितिमा हस्तान्तरण हुन सक्छन् ।
दुई वा दुईभन्दा बढी पक्षहरूका बीचमा भएको करारले सम्बद्ध पक्षहरूका बीच अधिकार र दायित्वको सृजना गर्छ । सामान्यतया त्यस्तो करारीय दायित्व सम्बद्ध पक्षहरूका बीचमा मात्र सीमित हुन्छ । करारको पक्ष नरहेको तेस्रो पक्षलाई पछि दायित्व बोकाउन पाइँदैन ।
करार गर्दाका अवस्थामा करारको पक्ष नरहेको तेस्रो व्यक्तिले उक्त करारबमोजिमको दायित्व वहन गर्नु पर्दैन । बेलायतमा प्रचलनमा रहेको करारको मान्यता के छ भने करार गर्ने पक्षहरूलाई मात्र सो करारबाट सृजित अधिकार तथा दायित्वले असर गर्छ । करारमा सम्मिलित नभएको तेस्रो व्यक्तिले हक वा दायित्वको सम्बन्धमा कुनै दाबी गर्न सक्दैन । यसलाई थ्योरी अफ प्राइभिटी अफ कन्ट्र्याक्ट (करारको निजत्व सिद्धान्त) भनिन्छ ।
करारको निजत्वको सिद्धान्तअनुसार करारीय दायित्व अन्य व्यक्तिमा जाँदैन र जानु पनि हुँदैन । यो करारको सामान्य नियम हो । तर, कतिपय अवस्थामा करारले सृजना गरेका अधिकार र दायित्व तेस्रो पक्षमा सर्ने अपवादका अवस्थाहरू सृजना हुन्छन्, कानूनबमोजिम नै अधिकार र दायित्वहरू हस्तान्तरण हुन्छन्, यसैलाई करारीय दायित्वको हस्तान्तरण भनिन्छ । करारको हस्तान्तरणले वास्तविक करारीय पक्षहरूले आप्mनो दायित्वबाट पूर्णरूपमा छुटकारा पाउँछन् ।
करार कानूनका विद्वान् एसडब्ल्यू एन्सनले करारको हस्तान्तरणलाई एक पक्षद्वारा भएको करार, पक्ष नभएको अन्य कोही व्यक्तिलाई करारीय अधिकार र दायित्व सर्ने कार्य हो भनेका छन् । त्यस्तो करारीय अधिकार र दायित्वहरू तेस्रो पक्षमा सर्दा उसको सहमतिमा वा असहमतिमा पनि सर्न सक्छ । यस्तोमा नयाँ पक्षले करार गर्दाको पुरानो पक्षलाई विस्थापित गर्छ, भनेका छन् ।
हस्तान्तरण सम्बन्धी नियमहरू
करारको हस्तान्तरणका सम्बन्धमा केही नियमहरू छन । मुलुकी देवानी संहिता २०७४ को दफा ५२८ र ५२९ मा यससम्बन्धी व्यबवस्था गरिएको छ ।
दफा ५२८. करारअन्तर्गतको हक र दायित्व सर्ने : करार गर्ने कुनै व्यक्तिको मृत्यु भएमा वा निजको होश ठेगानमा नरहेमा त्यस्तो करारबमोजिम प्राप्त हुने हक त्यस्तो करार गर्ने व्यक्तिको सम्पत्ति प्राप्त गर्ने हकवालामा सर्नेछ र निजले प्राप्त गरेको सम्पत्तिले खामेको हदसम्म दायित्व पनि निजले नै बेहोर्नु पर्नेछ । तर, व्यक्तिगत दक्षता वा योग्यताको आधारमा प्राप्त गरेको हक र दायित्व त्यस्तो हकवालमा सर्ने छैन भन्ने व्यवस्था गरिएको छ । यसबाट के स्पष्ट हुन्छ भने व्यक्तिगत दक्षता वा योग्यतासम्बन्धी करारबाहेक अन्य करारअन्तर्गतको हक र दायित्व करारका पक्षहरूको हकवालामा सर्छ । करारीय दायित्व पूरा गर्नुपर्ने व्यक्तिको मृत्यु भएमा वा होश ठेगानमा नरहेमा सो करारबमोजिम प्राप्त हुने हक त्यस्तो करार गर्ने व्यक्तिको सम्पत्ति खाने हकवालामा सर्छ । त्यसरी सरेको दायित्व निजले प्राप्त गरेको सम्पत्तिले खामेको हदसम्म मात्र बेहोर्नुपर्छ । यदि हकवालाले त्यस्तो सम्पत्ति नखाएमा करारीय दायित्व पूरा गर्नु पर्दैन । यदि करारको विषयवस्तु नै व्यक्तिगत शीप ज्ञान दक्षता वा योग्यतामा आधारित हुन्छ भने त्यसको आधारमा प्राप्त हक र दायित्व भने हकवालामा सर्दैन किनकी हकवालाले सो दायित्व पूरा गर्न सक्दैन ।
दफा ५२९. करारको परिपालना गर्ने पक्ष : (१) करारको परिपालना करार गर्ने व्यक्तिबाटै हुनुपर्नेमा बाहेक निजको प्रतिनिधि, निजले नियुक्त गरेको कुनै व्यक्ति वा निजको तर्पmबाट अन्य कसैबाट पनि करार परिपालना गराउन वा करारअन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न सकिनेछ । तर, अर्को पक्षको मञ्जुरीविना करारको कुनै पक्षले करारअन्तर्गतका दायित्व अन्य कसैलाई हस्तान्तरण गर्न पाउने छैन । (२) उपदफा (१) बमोजिम करारअन्तर्गतको हक वा दायित्व हस्तान्तरण गर्न देहायका शर्तहरू पूरा गर्नुपर्नेछ । (क) करारमा अन्यथा उल्लेख भएकोमा बाहेक हस्तान्तरण लिखित रूपमा हुनुपर्ने, (ख) हस्तान्तरण निःसर्त हुनुपर्ने, (ग) कानून वा करारले हक वा दायित्व हस्तान्तरण गर्न रोक लगाएको हुन नहुने, (घ) हक वा दायित्व हस्तान्तरण भएकोमा त्यसको म्यादसहितको सूचना पक्षलाई दिनुपर्ने । (३) करारको कुनै पक्षले तेस्रो व्यक्तिबाट भए गरेको कामलाई स्वीकार गरी सकेपछि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार गर्ने पक्षबाटै त्यस्तो काम हुनुपर्ने भनी पछि दाबी गर्न पाउने छैन ।
(४) दुई वा दुईभन्दा बढी व्यक्तिहरू मिली संयुक्त रूपमा अर्को पक्षसँग करार गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक संयुक्त रूपले करार गर्ने व्यक्तिहरूमध्ये कुनै वा सबैबाट त्यस्तो करारबमोजिमको दायित्व पूरा गर्न वा गराउनुपर्नेछ । (५) उपदफा (४) बमोजिम कुनै व्यक्तिले दायित्व पूरा नगरेमा दायित्व पूरा गर्ने व्यक्तिले संयुक्त रूपले करार गर्ने अरू व्यक्तिबाट दायित्व पूरा नगरेबापत समानुपातिक हिसाबमा हर्जना वा नोक्सानी भराउन सक्नेछ । (६) उपदफा (४) बमोजिम भएको करारमा कुनै एक पक्षले अर्को पक्षमध्येको कुनै व्यक्तिलाई निजको हिस्सामा पर्ने दायित्वबाट छूट दिए पनि बाँकी रहेका अन्य व्यक्ति त्यस्तो करारको दायित्वबाट मुक्त हुने छैन । भन्ने व्यवस्था गरेको छ ।
सामान्यतः करारीय दायित्वहरू हस्तान्तरण हुन सक्दैन, किनकी त्यो दायित्व पक्षहरू आपैmले पूरा गर्नुपर्छ भनिए तापनि त्यस्ता दायित्वहरू विशेष परिस्थितिमा हस्तान्तरण हुन सक्छन् । संहिताको दफा ५२८ मा गरिएको व्यवस्था कानूनी प्रक्रियाबाट हुने करारको हस्तान्तरण हो भने दफा ५२९ ले गरेको व्यवस्था पक्षहरूको सहमतिमा हुने हस्तान्तरण हो । करारका पक्षबाटै करारको पालना होस् भन्ने मनसायले भएको करार हस्तान्तरण गर्न सकिँदैन । पक्षबाटै पालना होस् भन्ने मनसाय नभएमा पक्ष वा निजको प्रतिनिधिबाट पालना गराउन वा हस्तान्तरण गर्न सकिन्छ । करारीय दायित्व हस्तान्तरणमा पक्षको मन्जुरी आवश्यक पर्ने हुन्छ । पक्षहरूको सहमतिमा करार हस्तान्तरण गर्दा शर्तहरू पूरा गर्नुपर्ने हुन्छ । धेरै व्यक्तिले पूरा गर्नुपर्ने दायित्व कुनै व्यक्तिले पूरा गरेकोमा त्यसरी पूरा गर्ने व्यक्तिले संयुक्त रूपमा करार गर्ने अरू व्यक्तिहरूबाट समानुपातिक हिसाबमा आपूmलाई परेको हर्जाना वा नोक्सानी भराउन पाउँछ । यस्तो करारमा कुनै एक पक्षले अर्को पक्षमध्येको कुनै व्यक्तिलाई निजको अंशमा पर्ने दायित्वबाट छूट दिएमा बाँकी रहेका अन्य व्यक्तिहरू त्यस्तो करारको दायित्वबाट मुक्त हुँदैनन ।
यसरी करारको सामान्य नियमविपरीतको अपवादात्मक सिद्धान्तका रूपमा रहेको करारीय दायित्वको हस्तान्तरणका सम्बन्धमा मुलुकी देवानी संहिता २०७४ मा स्पष्ट व्यवस्था गरिएको छ ।
लेखक अधिवक्ता हुन् ।