काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म १२ करोड ७१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३२ दशमलव ८२ प्रतिशत कम भएको हो ।
गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रकम १ लाख ४५ हजार रुपैयाँभन्दा बढी छ भने खुद ब्याज आम्दानी करीब १२ प्रतिशत घटेको छ । जसको असर कम्पनीको सञ्चालन नाफासँगै खुद नाफामा पनि देखिएको हो । अघिल्लो आवमा कम्पनीले इम्पेयरमेन्ट चार्जबापत्को १३ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता पाएको थियो भने खुद ब्याज आम्दानी १ अर्ब ८ करोड रुपैयाँभन्दा बढी थियो ।
गत आवको चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ४३ करोड ६० लाख रुपैयाँभन्दा बढी छ । १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिटर्न अर्निङ ४३ करोड ६० लाख रुपैयाँभन्दा बढी र जगेडा कोष रकम ७५ करोड रुपैयाँभन्दा बढी छ ।
चौथो त्रैमाससम्म कम्पनीले १५ अर्ब १४ करोड २२ लाख रुपैयाँभन्दा बढी कर्जा सापटी लिएकोमा १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ । यस अवधिसम्म कम्पनीले १५ अर्ब ९४ करोड २४ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
अघिल्लो आवमा ६ दशमलव २७ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा गत आवमा ९ दशमलव ९२ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १६८ रुपैयाँ १९ पैसा छ ।