विगत ५ वर्षको अवधिमा आर्थिक वृद्धिमा सुस्ती आए पनि कर्जाको आकार करीब दोब्बरले वृद्धि भएको छ । यस अवधिमा महँगी, तलब तथा ज्यालादर सूचकांक उच्च दरले बढेको, आर्थिक वृद्धिमा अपेक्षित सुधार नभएकोलगायत कारणले कर्जाको आकार बढेको सरोकारवालाहरूले बताएका छन् । ४/५ वर्षअघि माग हुँदै आएको कर्जाको तुलनामा अहिले समान प्रकृतिको कामका लागि पनि धेरै कर्जा माग हुँदै आएको उनीहरूले बताए ।
कर्जाको आकारको वृद्धिसँगै कतिपय विकास विकास बैंक तथा फाइनान्स कम्पनीलाई कर्जाको माग पूरा गर्न धौधौ परेको एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । वाणिज्य बैंकमा यसको असर नदेखिए पनि कतिपय विकास बैंक र फाइनान्स कम्पनीमा भने यसको असर देखिएको उनको भनाइ छ । पछिल्लो समयमा समयमा अपेक्षित रूपमा आर्थिक वृद्धि नभए पनि शाख मुद्रा (क्रेडिट मनी) मा वृद्धि भएकाले मूल्यवृद्धि अकाशिएको अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेलले बताए । बैंक तथा वित्तीय संस्थाको संख्यात्मक वृद्धिसँगै साख मुद्राको कारोबार निकै बढेको तर त्यसको अनुपातमा आर्थिक वृद्धि हुन नसकेको उनको भनाइ थियो । डेभलपमेन्ट बैंकर्स एशोसियशनका अध्यक्ष एवम् क्लिन इनर्जी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज गोयलले पनि कर्जाको आकार बढेको स्वीकार गरे ।
वर्ष ८, अंक ७८, बिहीवार २१ मङ्सिर, २०६९