काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीका लागि आरक्षित प्राथमिक शेयर निष्कासन (आईपीओ) को शेयर बाँडफाँट गर्दा कैफियत भएको स्वीकार गरी पुन: बाँडफाँट गरिने जानकारी दिएको प्रहरीले बताएको छ । कर्मचारीलाई बाँड्नुपर्ने शेयरको अधिकांश भाग कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालले नै लिएको गुनासो दर्ता भएपछि पहिले धितोपत्र बोर्ड र पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो ।
दुवैको अनुसन्धानमा उक्त आरोप पुष्टि भएपछि सीईओ अर्यालले सीआईबीलाई पत्र पठाउँदै कर्मचारीतर्फको आरक्षित शेयर बाँडफाँटमा कैफियत भएको स्वीकार गरेको सीआईबीले बताएको छ । सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले कम्पनीबाट कर्मचारीको आरक्षित शेयर बाँडफाँटमा कैफियत भएको स्वीकार गर्दै पुन: बाँडफाँट गर्ने प्रक्रिया अघि बढाएको जानकारी पत्र प्राप्त भएको बताए ।
प्रारम्भिक अनुसन्धानबाट बाँडफाँटमा कैफियत भएको पुुष्टि भएसँगै कम्पनीले समय माग गरेर पुन: बाँडफाँट प्रक्रिया अघि बढाएको जानकारी आएको प्रवक्ता बोगटीले बताए । यद्यपि सीआईबीले कम्पनीमाथिको अनुसन्धान भने जारी राख्ने उनले स्पष्ट पारे ।
सन नेपाल लाइफको २०८० साल जेठ २५ गते बसेको सञ्चालक समिति बैठकले कुल कित्ता शेयरमध्ये ५ प्रतिशत कम्पनी कर्मचारीका लागि छुट्ट्याउने निर्णय गरेको थियो । कम्पनीले कुल ९६ लाख कित्ता शेयरमध्ये ४ लाख ८० हजार कित्ता कर्मचारीका लागि छुट्ट्याउने निर्णय गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि २०८० साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म शेयर विक्री गरी भदौ १५ गते बाँडफाँट गरेको थियो । सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १३९ रुपैयाँ थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा शेयर विक्री गरेको हो ।
कर्मचारीलाई भने प्रतिकित्ता १०० रुपैयाँकै दरमा शेयर बाँडफाँट गरेको कम्पनीले जानकारी दिएको छ । सर्वसाधारण लगानीकर्ताभन्दा कम मूल्यमै शेयर पाएका कम्पनी कर्मचारीले शेयर बाँडफाँटमा न्याय नभएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी दिएपछि बोर्डले अनुसन्धानका लागि सीआईबीमा जिम्मा लगाएको थियो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड र सीआईबीको संयुक्त अनुसन्धानपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृतले कर्मचारीतर्फको आरक्षित शेयरमध्ये ८० प्रतिशत आफूले लिएको पुुष्टि भएको सीआईबीका प्रवक्ता बोगटीले जानकारी दिए । सीईओ अर्यालले २० प्रतिशत शेयर मात्र कर्मचारीलाई बाँडफाँट गरी ३ लाख ८४ हजार कित्ता आफ्नो नाममा राखेको सीआईबीको अनुसन्धानले देखाएको छ ।
‘धितोपत्रसम्बन्धी कानूनमा कर्मचारीका लागि आरक्षित शेयर बाँडफाँटबारे स्पष्ट व्यवस्था नहुँदा सीईओले मनोमानी गरेको पाइयो,’ उनले भने, ‘आगामी दिनमा यो समस्या आउन नदिन धितोपत्रसम्बन्धी कानूनमा स्पष्ट व्यवस्था आवश्यक छ ।’
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ सातौंपटक संशोधन गरी २०७९ साल चैत २९ गतेदेखि लागू भएको छ । उक्त निर्देशिकामा कर्मचारीका लागि छुट्ट्याउनुपर्ने शेयरसम्बन्धी व्यवस्थामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत कायम गरिएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्ट्याएको शेयरमध्ये बढीमा ५ प्रतिशत संस्थामा कार्यरत करार र ज्यालादारीबाहेकका कर्मचारीका लागि शेयर छुट्ट्याउनुपर्ने व्यवस्था छ । संस्थामा कार्यरत कर्मचारी संख्याको आधारमा बढीमा ५ प्रतिशतसम्म शेयर उनीहरूका लागि छुट्ट्याउनुपर्छ ।
निर्देशिकाको व्यवस्थाअनुसार १ देखि ५० जनासम्म कर्मचारी भएको कम्पनीले २ प्रतिशत, ५१ देखि १०० जनासम्म कर्मचारी भएको कम्पनीले ३ प्रतिशत, १०१ देखि २०० जनासम्म कर्मचारी भएको कम्पनीले ४ प्रतिशत र २०१ माथि कर्मचारी भएको कम्पनीले ५ प्रतिशत शेयर सुरक्षित गर्नुपर्ने हुन्छ ।
तर, निर्देशिकामा कर्मचारीलाई शेयर बाँडफाँट कसरी गर्ने भन्नेबारे स्पष्ट व्यवस्था छैन । सर्वसाधारण लगानीकर्तामा शेयर बाँडफाँट गर्दा बुक बिल्डिङ विधिबाहेक न्यूनतम १० कित्ताको नीति छ । बुक बिल्डिङ विधिमा न्यूनतम ५० कित्ताका दरले बाँडफाँट हुन्छ । उक्त कम्पनीको शेयर कारोबार धितोपत्रको दोस्रो बजारमा २०८० साल असोज ४ गते शुरू भएको हो । कर्मचारीतर्फको शेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले ३ वर्षसम्म लकइनमा रहने व्यवस्थाका कारण सीईओ अर्यालले आफ्नो नाममा लिए पनि विक्री गर्न पाएका छैनन् । कम्पनीले शेयर बाँडफाँटपछि लगानीकर्ताका लागि २५ दशमलव ०५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट कम्पनीले २३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव २५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । धितोपत्रको दोस्रो बजारमा कम्पनीको ३ करोड ९६ लाख १६ हजार कित्ता शेयर सूचीकृत छ । कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम छ ।
कम्पनीले अनुसन्धान टुंग्याउने गरी कर्मचारीको शेयर पुन: बाँडफाँट गर्ने भने पनि लकइन अवधि नसकिएसम्म सच्याउन नमिल्ने बजार सञ्चालकको भनाइ छ । धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज लिमिटेडका (नेप्से) का सूचना अधिकारी मुराहरि अधिकारी कर्मचारीतर्फको शेयर सूचीकृत भए पनि लकइन अवधिमै रहेकाले अहिले सीईओको नामबाट कर्मचारीको नाममा ट्रान्सफर गर्न नमिल्ने बताउँछन् । तत्कालका लागि कम्पनी सञ्चालक समिति र कर्मचारीको सहमति गराई न्यायसंगत निर्णय गरी शेयरको लकइन खुला भएपछि मात्र ट्रान्सफर गर्न मिल्ने पराजुलीको भनाइ छ ।