काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् ।
किसान आयोगको ८ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउने गरि कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराए ।
‘अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ । त्यसैले अब कृषिलाई व्यावसायिक बनाउन आवश्यक छ,’ मन्त्री अधिकारीले भने ।
बिहान र बेलुका आयातितभन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न जरुरी रहेको मन्त्री अधिकारीले बताए । ‘यसका लागि तीनै तहका सरकारको सामूहिक प्रयास जरुरी छ,’ मन्त्री अधिकारीले भने ।
उनले कृषि उपजको उत्पादन बढाउने प्रयास सबैतिरबाट भइरहेको बताए । ‘हामीले खाने अन्न तरकारीले रोग निम्त्याइरहने अवस्था आउनु हुँदैन,’ मन्त्री अधिकारीले भने, ‘अब विषादी न्यूनीकरण गर्नेतर्फ पनि सबैको प्रयास जरुरी छ ।’