काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपालले प्रतिहजार अधिकतम ६४ रुपैयाँसम्म बोनस दर वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन स्वीकृति भएकाले अर्को व्यवस्था नभएसम्मका लागि नयाँ बोनस दर निर्धारण गरेको हो ।
कम्पनीले निर्धारण गरेको अधिकतम बोनस दर बाल सावधिक बीमा योजनामा लागू हुनेछ । यस योजनाअन्तर्गत १५ देखि १९ वर्ष अवधिमा ५१ रुपैयाँ २० देखि २४ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिमा ६३ रुपैयाँ र ३० वर्षभन्दा माथिको अवधिका लागि ६४ रुपैयाँ बोनस दर निर्धारण गरिएको हो ।
अधिकतम बोनस दर रहेको यो बीमालेख १५ ओटा जारी भएको छ । कम्पनीले सावधिक बीमा योजनाका लागि ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्मको बोनस दर निर्धारण गरेको छ । सावधिक बीमा योजनाअन्तर्गत जीवन बीमा, जीवन साथी, जीवन श्री र जीवन आनन्द नामको बीमालेख जारी गरिएको छ ।
त्यस्तै धन वृष्टि योजनाका लागि अधिकतम ५६ रुपैयाँ, धनफिर्ता योजनाका लागि अधिकतम ६० रुपैयाँ, बाल ममता र बाल स्नेह योजनाका लागि अधिकतम ६० रुपैयाँ, जीवन तरंग र नयाँ जीवन तरंग योजनाका लागि अधिकतम ५५ रुपैयाँ, लघु सावधिक योजनाका लागि अधिकतम ४१ रुपैयाँ र जीवन बचत योजनाका लागि अधिकतम ६१ रुपैयाँसम्मको बोनस दर निर्धारण गरिएको छ ।