जेरुसेलम । इजरायली सेनाले लेबनानस्थित आफ्ना नागरिकलाई हिजबुल्लाहको निशानाबाट ‘टाढा जान’ आग्रह गरेको छ । इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटीक’ आक्रमण गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
'हिजबुल्लाहले सैन्य प्रयोजनका लागि प्रयोग गर्ने भवन र क्षेत्रको छेउछाउमा रहेका लेबनानी गाउँका नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि तत्काल आफ्नो बाटोबाट बाहिर निस्कन आग्रह गर्दछौँ,' इजरायली सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हागारीले लेबनानका जनतालाई गरेको अपिलमा भनिएको । 'इजरायली सेनाको रक्षा बल (आईडीएफ) लेबनानमा आश्रय लिँदै आएका आतङ्कवादीविरुद्ध व्यापक आक्रमण गर्नेछ,' हागारीले भनेका छन् । हगारीका अनुसार सेनाले सोमबार बिहानदेखि हिजबुल्लाह क्षेत्रमा थप आक्रमण शुरू गरेको छ । यो आक्रमण निकट भविष्यमा पनि जारी रहनेछ ।
त्यस्तै, इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आग्रह गरेको छ । हाल, इजरायल–लेबनान सीमामा अत्यन्त तनावपूर्ण स्थिति रहेको तथा बारम्बार बढ्दो सैन्य द्वन्द्वको सम्भावना देखाउँदै इजरायलस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई सुरक्षाको लागि स्थानान्तरणको निर्देशन दिएको हो ।
नागरिकहरूलाई इजरायल छोडी स्वदेश तथा सुरक्षित स्थानमा स्थानान्तरण गर्न आह्वान गर्दै जारी गरिएको विज्ञप्तिमा इजरायलको सुरक्षा अवस्था गम्भीर भएको उल्लेख गरिएको छ । यसैबीच, इजरायल र हेजबुल्लाहले आइतबार दुवै पक्षलाई पूर्ण युद्धबाट पछि हट्न अन्तर्राष्ट्रिय आह्वानको बाबजुद सीमापार आक्रमण बढाउने धम्की दिएका छन् । दक्षिणी बेरुतको सघन जनसङ्ख्या भएको हेजबुल्लाहको गढमा शुक्रबार इजरायली हवाई आक्रमणमा हेजबुल्लाहको कुलीन रादवान फोर्सका प्रमुख इब्राहिम अकील मारिएका थिए । (रासस/एएफपी)