काठमाडौं। नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंको आयोजना र नेपाल निर्यात परिषद्को सहआयोजनामा ‘लघु, साना तथा मझौला उद्यम दिवस’ मनाउने सन्दर्भमा छलफल सम्पन्न भएको छ ।
दिगो विकासमा लघु, साना तथा मझौला उद्यमको महत्त्वपूर्ण भूमिका र दिगो विकास लक्ष्य २०३० हासिल गर्न यसको सान्दर्भिकता विषयमा अन्तरसंवाद गरिएको हो ।
कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले आर्थिक समृद्धिमा मात्र होइन, गरीबी निवारणमा पनि विशेष योगदान दिने भएकाले एमएसएमईको भूमिका महत्त्वपूर्ण रहेको बताए । नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले दिगो विकासको लक्ष्य २०३० का लागि एमएसएमईको भूमिका विशिष्ट रहेको औंल्याए ।
नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंका अध्यक्ष मीरा भट्टराईले नेपालमा पहिलो पटक जुन २७ लाई एमएसएमई दिवसको रूपमा मनाउने निर्णय गरी सोही अवसरमा अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको स्पष्ट पारिन् ।
अन्तरसम्वाद कार्यक्रममा विभिन्न वक्ताले दिगो विकास लक्ष्य २०३० हासिल गर्ने सम्बन्धमा विभिन्न शीर्षकका माध्यमबाट विषयवस्तु राखेपश्चात् ती सबै विषयमा सहभागीबीच छलफल गरिएको थियो । सहभागीबाट प्राप्त सुझावका विषयमा कार्यक्रमका मध्यस्थकर्ता व्यापार तथा निर्यात प्रवर्द्धनसम्बन्धी विशेषज्ञ सुयस खनालले सबैको सक्रिय सहभागिताबाट प्राप्त निष्कर्ष एक राम्रो शुरुआत भएको बताए ।