मुलुकको सन्तुलित विकासका लागि सवै वर्ग र समुदायको सन्तुलित विकास हुनु जरुरी हुन्छ । कुल जनसंख्याको उल्लेख्य अंश ओगट्ने यीनै वर्गको उन्नयनका लागि राज्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको हुन्छ । त्यसैगरी कुल जनसंख्याको ५१ दशमलव १ प्रतिशत अंश ओगट्ने महिला वर्गको समग्र पक्षको विकास गरी मुलुकको सन्तुलित विकास गर्न राज्यले महिला वर्ग केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसरी नै बैंकिङ क्षेत्रमार्फत पनि महिला केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।
महिला सशक्तीकरणका लागि ज्ञान, पूँजी र शक्ति आवश्यक शर्तहरू हुन् । उल्लिखित तीन शर्तको वितरण उपयुक्त तवरले हुन सकेमा महिला वर्ग सशक्त रूपले अगाडि बढ्न सक्छन् । हाम्रो जस्तो विकासोन्मुख मुलुकमा उक्त तीन शर्तमध्ये पूँजी थप महत्त्वपूर्ण हुने र पूँजी (वित्तीय स्रोत) बैंकिङ क्षेत्रबाट प्राप्त हुने भएकाले महिला सशक्तीकरणका लागि यस क्षेत्रमार्फत विगतदेखि नै महिला केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिँदै आएको पाइन्छ । यस आलेखमा तिनै कार्यक्रमहरूका बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
बैंकिङ क्षेत्रबाट सञ्चालन भएको महिला केन्द्रित पहिलो कार्यक्रम विसं २०३९ सालमा शुरुआत गरिएको ग्रामीण महिलाहरूका लागि उत्पादनशील कर्जा कार्यक्रम (पीसीआरडब्ल्यू) हो । त्यसपछि २०४९ सालमा एशियाली विकास बैंकको सहयोगमा महिलाहरूका लागि लघुकर्जा कार्यक्रम (एमपीसीडब्ल्यू) सञ्चालन गरिएको थियो । त्यसैगरी २०७५ देखि सञ्चालनमा ल्याइएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिने कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा पनि महिला केन्द्रित कार्यक्रम हो । परियोजनामा आधारित अघिल्ला दुई कार्यक्रमको समयावधि समाप्त भइसकेको छ भने महिला उद्यमशीलता विकासका लागि एकल वा सामूहिक जमानीमा ऋणीले ५ प्रतिशत ब्याजदरमा प्राप्त गर्ने महिला उद्यमशील कर्जा कार्यक्रममा महिला वर्गको उत्साहजनक सहभागिता भएको पाइन्छ ।
महिला केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै २०४९ सालमा सरकारी र निजी लगानीमा लघुवित्त वित्तीय संस्था स्थापना गरी लघुवित्त कार्यक्रम सञ्चालन गर्ने कार्य प्रारम्भ भयो । यद्यपि, पछिल्लो समय यस क्षेत्रबाट सरकार बाहिरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार २०८१ असोजमा मुलुकभर ५२ ओटा लघुवित्त वित्तीय संस्थाका ५ हजार ८ ओटा शाखाले मुलुकभर लघुवित्तीय सेवा प्रदान गरिरहेका छन् । लघुवित्त वित्तीय संस्थासँग आबद्ध रहेका ६० दशमलव ४६ लाख सदस्यमध्ये २६ दशमलव ७४ लाखले कर्जा लिई विभिन्न आयमूलक कार्यमा संलग्न रहँदै आएका छन् । सीएमएफ नेपालको सोसियल परफरमेन्स कन्ट्री रिपोर्टअनुसार यस क्षेत्रमा आबद्ध सदस्यमध्ये ९७ प्रतिशत सदस्य महिला छन् । उक्त संख्यालाई आधार मान्दा लघुवित्त वित्तीय संस्थामा आबद्ध महिला सदस्यको संख्या ५८ दशमलव ६५ लाख र महिला ऋणीसदस्यको संख्या २५ दशमलव ९४ लाख रहेको देखिन्छ । त्यसैगरी यी संस्थामा रहेको सदस्यको बचत रकम १७७ अर्ब र सदस्यलाई प्रदान गरिएको कर्जा रकम ४१० अर्बमा महिलाहरूको सहभागिता अत्यधिक रहेको पाइन्छ । उल्लिखित तथ्यांकको आधारमा मुलुकमा सञ्चालित महिला केन्द्रित विभिन्न कार्यक्रममध्ये लघुवित्त कार्यक्रम सबैभन्दा प्रभावकारी कार्यक्रम रहेको र यस कार्यक्रमले महिला सशक्तीकरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको स्पष्ट हुन्छ ।
थप लक्षित महिलालाई समेटेर उनीहरूको जीवनका विविध पक्षमा सुधार ल्याउन सकिने भएकाले लघुवित्त वित्तीय संस्था चाहिँदैन भन्नु युक्तिसंगत देखिँदैन, लक्षित महिला वर्गको उन्नयनका लघुवित्त कार्यक्रम आवश्यक र प्रभावकारी हुने देखिन्छ ।
नेपाली समाजमा महिलाले पुरुषको तुलनामा कम काम गर्दैनन् । तर, त्यसको मूल्यांकन प्रत्यक्ष रूपले आयसँग जोडेर गरिने भएकाले महिलाको कामको खासै मूल्यांकन हुने गरिएको पाइँदैन । घरभित्र गरिने कामहरू महिलाका पेवा समान छन्, यसका अलावा उनीहरू घरबाहिरको काममा पनि उत्तिकै सहभागी हुने गर्दछन् । परम्पराको निरन्तरता र महिला वर्गमा ज्ञान, पूँजी र शक्तिको कमीले उनीहरूमा भएको शीप र आँटको व्यवस्थापन हुन नसक्दा महिला वर्ग अगाडि बढ्न नसकिरहेको अवस्थामा लघुवित्त वित्तीय संस्थामार्फत विनाधितो सामूहिक जमानीमा प्रदान गरिने कर्जाले उनीहरूलाई आयमूलक गतिविधिमा संलग्न हुने वातावरण बनेको छ । लघुवित्त वित्तीय संस्थाले प्रदान गर्ने कर्जाले स्थानीय तहमा नै उपलब्ध साधनहरूको प्रयोग गरी सञ्चालन गरिएका व्यवसायले सानै तहमा भए पनि मुलुकमा उत्पादन, रोजगारी र आय बढाउन सहयोग मिलेको छ । घरायसी प्रयोगमा खपत हुने त्यस्ता उत्पादनबाट प्राप्त आम्दानीले परिवार, समाज र मुलुकमा नै उनीहरूको मूल्यांकन हुने परिस्थिति निर्माण भएको छ ।
आर्थिक अवस्थामा आएको सुधारसँगै जीवनस्तरमा भएको स्तरोन्नतिले महिला वर्गले शिक्षा, स्वस्थ्य, सरसफाई, जनचेतनालगायत घरबाहिरका क्षेत्रलाई पनि प्राथमिकता दिन थालेका छन् । यस्ता कार्यले उनीहरूको चेतनास्तरमा वृद्धि भई महिला वर्गको समग्र अवस्थामा उल्लेख्य सुधार भएको छ । यसले गर्दा पछिल्लो समय घरबाहिरका राजनीति, नीतिगत तह, रोजगारी, उत्पादनलगायत क्षेत्रमा महिला वर्गको प्रतिनिधित्व वृद्धि हुँदै गएको पाइन्छ । कुनै पनि क्षेत्रमा नीतिगत व्यवस्थाले मात्र उन्नति र सुधार हुन सम्भव हुँदैन, नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनले मात्र हरेक क्षेत्रमा हुने प्रगतिले सार्थकता पाउन सक्दछ । त्यसैले आगामी दिनमा लघुवित्त क्षेत्रले पनि भएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।
लघुवित्त वित्तीय संस्थाहरू विगतमा नाफाकेन्द्रित भएकै कारण पछिल्लो समय यस क्षेत्रमा असहज वातावरण उत्पन्न भएको हो । हुन त घाटामा जाने गरी कुनै पनि व्यवसाय सञ्चालन गरिएको हुँदैन, व्यवसायीको उद्देश्य नाफा कमाउने नै हुने गर्छ र व्यवसायको दिगोपनको लागि नाफा अपरिहार्य पनि हुन्छ । तर, व्यवसायको प्रकृति र क्षेत्रानुसार नाफाको मात्रा निर्धारण गर्नुपर्ने भएकाले लघुवित्त क्षेत्रले विवेकशील नाफालाई प्राथमिकतामा राख्नुपर्छ । यद्यपि विगतमा लघुवित्त वित्तीय संस्थाले तोकिएको सीमाभन्दा बढी ब्याज लिएर नाफा कमाएका होइनन् । लक्षित वर्गको छनोट, कर्जा प्रक्रिया (कर्जा विश्लेषण, कर्जा सदुपयोगिता, कर्जा असुली, कर्जा हरितीकरण), कमजोर आन्तरिक नियन्त्रण प्रणालीलगायत प्रक्रियाको फितलो कार्यान्वयन पक्ष र कमजोर वित्तीय साक्षरताले उल्लिखित अवस्थालाई निम्त्याएको देखिन्छ । यसै बिच लघुवित्त वित्तीय संस्थाले सदस्यलाई बढी ब्याज लिएर कर्जा प्रदान गरेको भन्ने कपोलकल्पित विषयलाई सदनदेखि समुदाय तहसम्म निराधार हल्ला बनाइयो । तोकिएको सीमाभन्दा बढी कर्जा लिने टाठाबाठा गैरलक्षित वर्गले संस्थाहरूको उपर्युक्त प्रक्रियागत कमजोरीलाई आधार बनाई सीमित व्यक्ति/राजनीतिक पार्टीको आडमा आफ्नो अभीष्ट पूरा गर्न अराजक अवस्था सृजना गरेका कारण लघुवित्त वित्तीय संस्थाले प्रदान गरेका कर्जाको साँवाब्याज असुलीमा कठिनाइ उत्पन्न भएको देखिन्छ । यसरी यस क्षेत्रमा देखिएको असहजतालाई समाधान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंक र नेपाल सरकार दुवैले छुट्टाछुट्टै विस्तृत अध्ययन सम्पन्न गरिसकेका छन् । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदन सार्वजनिक भइसकेको र उक्त प्रतिवेदन क्रमश: कार्यान्वयनको चरणमा रहेकाले सुधारको परिणाम पनि देखिन थालेको छ ।
लघुवित्त क्षेत्रसँग सम्बद्ध सबै निकाय र सदस्यले विगतमा आफूबाट भएका कमीकमजोरीलाई उपेक्षा गर्दै अघि बढ्ने हो भने यो क्षेत्रको विकास र स्थायित्व सम्भव हुन सक्दैन । त्यसैले यस क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनमा सम्बद्ध पक्षले विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्छ ।
लघुवित्त कार्यक्रमको प्रारम्भ भएका बेला वि.सं. २०४९ मा ४२ प्रतिशत रहेको गरिबीको रेखामुनिको जनसंख्या २०७९/८० (नेपाल जीवनस्तर सर्भेक्षण, चौथो) सम्म आइपुग्दा २० प्रतिशतमा ल्याउनकोलागि लघुवित्त क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको छ । सर्वेक्षणअनुसार ग्रामीण गरीबी २५ प्रतिशत र शहरी गरीबी १८ प्रतिशत रहेको र कुल जनसंख्याको करीब ८० प्रतिशत जनसंख्या बसोवास गर्ने ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई वित्तीय पहुँचको माध्यमबाट बलियो बनाउन ठूला बैंक तथा वित्तीय संस्थाको उपस्थितिले मात्र सम्भव नहुने भएकाले लघुवित्त वित्तीय संस्थाको अनिवार्य उपस्थिति आवश्यक हुन्छ । अझै पनि मुलुकमा लघुवित्त वित्तीय संस्थाले समेट्नुपर्ने लक्षित वर्गको संख्या उल्लेख्य रहेको छ । वित्तीय पहुँचबाट विमुख लक्षित वर्ग शीप, आँट, क्षमता र स्थानीय कच्चापदार्थ उपलब्ध हुँदाहुँदै पनि पूँजीको अभावमा आयमूलक गतिविधिमा संलग्न हुन नसक्ने भएकाले लघुवित्तीय सेवाको अभावमा महिला सशक्तीकरणको लक्ष्यले पूर्णता पाउन कठिन हुने देखिन्छ ।
लघुवित्त क्षेत्रसँग सम्बद्ध सबै निकाय र सदस्यले विगतमा आफूबाट भएका कमीकमजोरीलाई बेवास्ता गर्दै अघि बढ्ने हो भने यो क्षेत्रको विकास र स्थायित्व सम्भव हुन सक्दैन । त्यसैले यस क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनमा सम्बद्ध पक्ष (नागरिक समाज, सदस्य, संस्था, नियामक र सरकार) ले विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्छ । मुलुकमा सञ्चालित महिला लक्षित कार्यक्रममध्ये लघुवित्त कार्यक्रम सबैभन्दा प्रभावकारी कार्यक्रम रहँदै आएको छ । लघुवित्त वित्तीय संस्थाले ५८ दशमलव ६५ लाख लक्षितमहिलालाई आबद्ध गरी वित्तीय पहुँचको माध्यमबाट आयमूलक गतिविधिमा संलग्न गराउने र उनीहरूको समग्र अवस्थामा सुधार ल्याउने कार्य गर्दै आएका छन् । यसरी लघुवित्त कार्यक्रममार्फत थप लक्षितमहिलालाई समेटेर उनीहरूको जीवनका विविध पक्षमा सुधार ल्याउन सकिने भएकाले लघुवित्त वित्तीय संस्था चाहिँदैन भन्नु युक्तिसंगत देखिँदैन, लक्षितमहिला वर्गको उन्नयनका लागि लघुवित्त कार्यक्रम आवश्यक र प्रभावकारी हुने देखिन्छ ।
लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।