काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा दोषी ठहरिएका नेपाल इन्जिनीयरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुवँर र सदस्य रामबहादुर थापाको इजलाशले उनलाई २५ करोड ६९ लाख रुपैयाँभन्दा बढी जरीवाना पनि सुनाएको छ ।
‘प्रतिवादीको उमेर, अवस्था एवं स्वास्थ्य स्थिति, निजको आर्थिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमि, पारिवारिक संख्या, कसुर गरेको अवस्था र परिस्थितिलाई समेत सजायशास्त्रको दृष्टिकोणबाट विचार गरी निज प्रतिवादीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को दफा ३० को उपदफा ९१० बमोजिम ३ वर्ष कैद र बिगो १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ ६२ पैसाको दोब्बर अर्थात २५ करोड ६९ लाख ७५ हजार ९११ रुपैयाँ ४४ पैसा जरीवाना हुने’ फैसलामा भनिएको छ । न्यौपानेले नेपाल इन्जिनीयरिङ कलेजको नामसँग मिल्ने गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा आफ्नो नाममा नयाँ कम्पनी दर्ता गरेको र कलेजको चलअचल सम्पत्ति र दायित्व उक्त कम्पनीमा सार्ने प्रयत्न गरेको विशेष अदालतले जानकारी दिएको छ ।