नेपाल भारत व्यापार सन्धि र साउथ एशियन फ्री ट्रेड एरिया (साफ्टा)को प्रावधानअनुसार नेपाली कृषि उपज भारतमा शून्य भन्सारमा निर्यात गर्न पाइन्छ । तेस्रो मुलुकबाट आयात गरिएको यस्ता वस्तुमा ३० प्रतिशत मूल्य अभिवृद्धि गरी निर्यात गर्न सकिन्छ । यही प्रावधानअनुसार विगतमा नेपालबाट भारतमा पाम आयलको अत्यधिक निर्यात भएको थियो । तर, अहिले चीनबाट आयात गरिएको लसुन भारतमा तस्करी भएर गइरहेको भन्सार विभागको भनाइ छ । यसबाट व्यापारीले लाभ लिए पनि मुलुकको पहिलो व्यापारिक साझेदार मुलुकमा यसरी तेस्रो मुलुकको उत्पादन वैध आयात गरी अवैध निर्यात गर्नु विभिन्न दृष्टिकोणले गलत हो । यस्तो प्रवृत्तिलाई रोक्न वा निरुत्साहित गर्न नसकिए मुलुकको छविमा धब्बा लाग्ने मात्र होइन, द्विपक्षीय सम्बन्ध पनि प्रभावित हुन सक्छ ।
चालू आवको ५ महीनामै ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको ४० हजार टन लसुन आयात भएको विभागको तथ्यांक छ । मूल्यको हिसाबले यो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा ७९० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा चीनबाट ६० करोड २१ लाख रुपैयाँको ४ हजार ६०० मेट्रिक टन लसुन आयात भएको थियो । तथ्यांकअनुसार नेपालमा करीब साढे ९ हजार हेक्टर जमीनमा लसुन खेती गरिन्छ । आव २०७९/८० मा नेपालमा ९ हजार ५७० हेक्टर जमीनमा ७३ हजार ५७६ मेट्रिक टन लसुन उत्पादन भएको मन्त्रालयको तथ्यांक छ ।
नेपालको उत्पादनले आन्तरिक माग करीब करीब धान्ने देखिन्छ । यद्यपि नेपाली लसुनको उत्पादन नहुने याममा चिनियाँ लसुन आयात हुने गरेको छ । त्यस्तै पोटिलो र छोडाउन सजिलो भएकाले चिनियाँ लसुनप्रति केही आकर्षण बढेको पाइन्छ । जेहोस्, नेपाल कृषि उत्पादनमा भारतसँग बढी निर्भर भइरहेका बेला चीनसँगको निर्भरता पनि बढ्दो छ जुन चिन्ताको विषय हो ।
खास चिन्ताचाहिँ अहिले चीनबाट वैध बाटोबाट लसुन आयात हुनु र अवैध बाटोबाट तस्करी भएर भारतमा पुग्नु हो । चीनबाट लसुन आयात गर्दा डलर खर्च गर्नुपर्छ भने भारतमा निर्यात हुँदा भारतीय मुद्रामा गर्नुपर्छ, त्यो पनि बैंकिङ प्रणालीबाहिरबाट । यसरी औपचारिक अर्थतन्त्र अनौपचारिक बन्नु चिन्ताको विषय हो ।
अर्को, तस्करीबाट भारतमा लसुन जाँदा नेपालप्रति उसको अविश्वास बढ्न सक्छ । यद्यपि तस्करी रोक्ने काम उसकै हो । खुला सिमाना भएकाले भारतले चाहेर पनि तस्करी रोक्न सकेको छैन । भारतले सन् २०१४ देखि लसुन आयातमा प्रतिबन्ध लगाएको छ । तर, तस्करीको बाटोबाट भारतमा चिनियाँ लसुन गइरहेको छ । नेपालमा भन्दा चिनियाँ लसुन भारतमा दोब्बर बढी मूल्यमा विक्री भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
त्यति मात्र होइन, भारतीय सञ्चारमाध्यममा पटकपटक तस्करीको लसुन समातिएका समाचार पनि आएका छन् । त्यसैले नेपालको आवश्यकताभन्दा कयौं गुणा बढी लसुन आयात गर्न दिनु सरकारको कमजोरी देखिन्छ । अहिले चीनबाट आयात हुने प्रमुख पाँचसात वस्तुभित्र लसुन पर्न थालेको छ । आफ्नो मुलुकको आवश्यकताभन्दा अत्यधिक मात्रामा आयात गर्न दिँदा बैंकिङ प्रणालीको पैसा अनौपचारिक कारोबारतर्फ मोडिएकाले यो भारतको मात्र होइन, नेपालको पनि चिन्ताको विषय हो ।
केही महीनाभित्रै व्यापार, पारवहन तथा सहयोग सम्बन्धमा अन्तर सरकारी समितिको (आइजीसी) को बैठक बस्दै छ । यस्तो बैठकमा भारतले यसबारे प्रश्न उठाउने सम्भावना देखिन्छ । त्यसैले नेपालले भारतीय चासोलाई समेत ध्यानमा राखेर लसुनको अत्यधिक आयात गर्न रोक लगाउनु उपयुक्त हुन्छ । भन्साररहित सुविधा नेपाली उत्पादनलाई दिएको हो, चिनियाँ वस्तुलाई होइन । भोलि यही बहानामा नेपाली वस्तुको आयातमा कडा गरेर नेपाललाई बेफाइदा हुन्छ भन्नेमा ध्यान जानु पर्छ ।
लसुनमात्र होइन, अन्य उत्पादन पनि नेपालबाट भारततिर तस्करी भइरहेको पाइन्छ । नेपालको आन्तरिक माग र उपभोगको स्तरभन्दा अत्यधिक बढी सामान आयात गर्न दिनुअघि सरकारी संयन्त्रले तथ्यांक केलाएर निर्णय लिनु आवश्यक छ ।