गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा ‘लुम्बिनी भ्रमण वर्ष २०१२’ को सम्झनामा भ्रमण वर्ष स्मारक बन्ने भएको छ । सो स्मारकको थाइल्याण्डका पूर्वमन्त्री तथा लुम्बिनी पर्यटन वर्ष २०१२ का लागि सद्भावना दूत कुनीन सुधारकले आइतवार एक कार्यक्रमबीच शिलान्यास गरेकी छन् । मायादेवी मन्दिर शान्तिदीपको बीचमा पर्ने गरी निर्माण गर्न लागिएको स्मारकमा पर्यटन वर्ष २०१२ को शिलालेखसहित बेबी बुद्धको मूर्ति पनि राखिने जानकारी लुम्बिनी विकास कोषले दिएको छ । शिलालेखमा बुद्धका बाल्यकालका परिचय झल्कने मूर्ति प्रतिस्थापना गरिने कोषका उपाध्यक्ष कर्मा स्याङबो शेर्पाले जानकारी दिए ।
उक्त स्थानमा एशियाकै सबैभन्दा अग्लो बेबी बुद्धको मूर्ति राखिने उपाध्यक्ष शेर्पाले जानकारी दिए । पवित्र उद्यानका लागि सरकारले रू. ७ करोडको बजेट योजना बनाएको भए पनि सो रकम अपुग हुने शेर्पाले बताए । शिलान्यास समारोहमा भाग लिनका लागि थाइल्याण्डका ८० जना पत्रकारसहित पूर्वमन्त्री कुनिनको टोली शनिवारै लुम्बिनी आइपुगेको थियो । झण्डै ३ सय जनाको संख्यामा रहेका थाइल्याण्डको सो टोलीले आइतवार लुम्बिनीमा बुद्ध पूजा गर्नुका साथै ३ महीने वर्षावासमा रहेका थाइल्याण्डका भिक्षुहरूलाई कठिन दानसमेत गरेको छ ।
वर्ष ८, अंक ६९, मंगलवार ११ मङ्सिर, २०६९