भूकम्प, नाकाबन्दी तथा कोरोनाका कारण शिथिल हुँदै गएको अर्थव्यवस्था त्यसपश्चात्को आर्थिक मन्दी अनि निरन्तरको अस्थिर राजनीतिका कारण देशमा बढ्दै गएको बेरोजगारी तथा आयातमुखी अर्थतन्त्रको प्रभावका कारण युवा पलायन बढिरहेको छ । विमानस्थलमा देखिएको भीडभाडले हाम्रो देशका गाउँशहर रित्तिने डर छ र भविष्यमा देशले सक्षम युवा जनशक्तिको अभाव खेप्नुपर्ने त्रास बढ्दै गएको छ । सबल अर्थतन्त्र रहेको देशको आन्तरिक र असफल उन्मुख अर्थतन्त्र रहेको देशको अन्तरराष्ट्रिय विमानस्थलमा भीड हुन्छ भन्ने भनाइ यहाँनेर स्मरणीय छ । देश छाडेर विदेशमा श्रम बेच्नुपर्ने इतिहास पुरानै छ । तथापि विदेश जानेमा हाल दश जोड दुईसम्मको अध्ययन गर्नेको संख्या बढी देखिएको छ । त्यस्तै केही समय विभिन्न संघसंस्थामा सेवा गरी बीचमा नै सेवा छाडी जानेहरूको संख्या निकै बढेको देखिन्छ । यसले स्नातक र स्नातकोत्तर तहको अध्यापन गर्ने क्याम्पशहरूमा विद्यार्थीको भर्ना दरमा आएको कमीले पुष्टि गर्छ । विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीको सेवा छाड्ने दरमा आएको वृद्धिले पनि यसलाई नै पुष्टि गर्छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले सेवा अवधिको बीचमा नै राजीनामा दिई संस्था छाड्ने प्रवृत्ति पनि देखिएको छ । यसरी संस्था छाड्ने कर्मचारीहरू प्राय:जसो उत्कृष्ट कार्य सम्पादन गर्ने रहेका देखिन्छन् । यसरी कार्य सम्पादन उत्कृष्ट स्तर रहेका कर्मचारीले बीचैमा संस्था छाड्ने प्रवृत्तिले संस्था तथा संस्थाले गौरव गरेको प्रभावकारी मानव संसाधन व्यवस्थापन पद्धति/विधिलाई नै चुनौती दिइरहेको छ । तसर्थ हरेक संस्थाले सेवा अवधिको बीचमा नै जागीर छाड्ने आफ्ना कर्मचारीका बारेमा अध्ययन तथा विश्लेषण गरी योग्य कर्मचारी संस्थामा टिकाइराख्न आवश्यक व्यवस्था गर्नु अपरिहार्य भइसकेको छ ।
कर्मचारीले बीचमा नै काम छाड्ने कारणहरू, नेतृत्वकर्ताको कमजोर भूमिका
संस्थाको सफलता तथा असफलता त्यस संस्थाको नेतृत्वदायी भूमिकामा रहने पदाधिकारीहरूको सोच, शीप, दक्षता र कार्यकुशलता माथि निर्भर रहेको हुन्छ । नेतृत्वको कमजोरीका कारण संस्था आफ्नो लक्ष्यबाट विमुख हुने र कार्यरत कर्मचारीहरूको भविष्य अनिश्चित हुन गई योग्य कर्मचारीले संस्था छाड्ने दरमा वृद्धि हुन्छ । साधारणतया नेतृत्वदायी भूमिकामा रहेका जिम्मेवार पदाधिकारीका कमीकमजोरीका कारण संस्थाको नेतृत्वमाथि विश्वसनीयतामा ह्रास आई कर्मचारीले सेवाका बीचमा नै राजीनामा दिने/अवकाश लिने क्रम बढ्न जाने देखिन्छ ।
हरेक संस्थाले सेवा अवधिको बीचमा नै जागीर छाड्ने आफ्ना कर्मचारीका बारेमा अध्ययन तथा विश्लेषण गरी योग्य कर्मचारी संस्थामा टिकाइराख्न आवश्यक व्यवस्था गर्नु अपरिहार्य भएको छ ।
संस्थाको नेतृत्वदायी भूमिकामा रहेका पदाधिकारीबाट समयमा नै संस्थाको लक्ष्य तथा कार्यक्रम स्पष्ट गर्न नसक्दा कार्यरत कर्मचारीहरूमा आफ्नो भूमिका तथा भविष्यप्रति अन्योल पैदा हुन्छ । संस्थाको नेतृत्वले संस्थालाई सबल बनाउनेभन्दा पनि कमजोर गर्दै लग्ने देखिन्छ । संस्थाले निकट भविष्यमा अपनाउने रणनीति तथा क्रियाकलापका बारेमा कार्यरत कर्मचारीलाई समयमा जानकारी तथा पृष्ठपोषण दिन नसक्दा कर्मचारीको आत्मविश्वासमा कमी हुन्छ । हेपिएको महसूस हुन्छ । तथा आफ्नो भूमिका अर्थहीन रहेको महसूस हुन सक्छ । संस्थामा आबद्ध कर्मचारीबाट संस्थाको लक्ष्य प्राप्तिका लागि गरिएका प्रयास एवं उपलब्धिहरूको बेवास्ता गर्ने र उनीहरूको योगदानलाई सामान्यीकरण गर्ने गरेमा तथा कार्य सम्पादनका लागि आवश्यक स्रोतसाधन, तालीम तथा वृत्ति विकासका अवसरहरूमा पक्षपात, विभेद तथा असमान व्यवहार गरे/गराएको महसूस गरेमा पनि मानव संसाधनलाई टिकाइराख्न कठिन हुन्छ । न्यून पारिश्रमिक
संस्थामा आबद्ध कर्मचारीले संस्थामा सेवा गरेबापत प्राप्त हुने तलबभत्ताबाट निजको घरपरिवारको खर्च, औषधि उपचार, शैक्षिक खर्चहरूको भुक्तानी गर्दै जीवनशैलीमा पनि सुधार गर्दै गरेको हुन्छ । कर्मचारीका यी खर्चको सम्बोधन हुने स्रोत निजले सेवा गरेको संस्थाबाट प्राप्त हुने पारिश्रमिक रहेकाले पारिश्रमिक नै कमजोर रहेको अवस्थामा उसले आफ्नो पूर्ण सामथ्र्य लगाएर कार्य गर्न नसक्ने हुन्छ । दैनिक खर्च तथा जीवनयापनका समस्याले ग्रस्त भएमा निराशा उत्पन्न हुने, कार्यक्षमतामा समेत ह्रास आउने र अधिक तलब भत्ता दिने संस्थाको खोजीमा सेवा छाड्ने प्रवृत्ति पाइन्छ ।
तसर्थ कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था गरेमा संस्थामा टिकाइराख्न सकिन्छ । कर्मचारीहरूको तलबभत्ताबाट आधारभूत आवश्यकतासमेत पूरा गर्न अपर्याप्त हुनु हुँदैन । मुद्रास्फीतिका कारण कर्मचारीका आधारभूत खर्चलगायत अन्य खर्च बढिरहेकाले उक्त वृद्धिदरलाई सम्बोधन गर्ने गरी संस्थाको तलबभत्ता समायोजन गर्न सक्नुपर्छ । अन्यथा, कर्मचारीको जीवनशैलीमा प्रतिकूल प्रभाव पर्न गई सेवा नै छाड्न सक्छन् । कर्मचारीको शीप, क्षमता, कार्यसम्पादन, समय र योगदानको उचित मूल्यांकन नगरी अन्य आधारमा तलबभत्ताको व्यवस्था गरेमा पनि कर्मचारीमा निराशा आउँछ । श्रम ऐन तथा नियमावलीले निर्दिष्ट गरेको तलब भत्ता, उपदान, बिदा, बीमालगायत पाउनुपर्ने न्यूनतम सेवासुविधासमेत उपलब्ध नभएमा सेवालाई निरन्तरता दिँदैनन् । समकक्षी तथा प्रतिस्पर्धी संस्थाले उपलब्ध गराउने सेवासुविधाभन्दा कम सेवासुविधा भएमा तथा एकै पदमा समान स्तरको काम गर्ने कर्मचारीहरूबीच सेवासुविधामा विभेद भएमा पनि कर्मचारीले काम छाड्ने गर्छन् । विभिन्न बहानामा कर्मचारीले पाउँदै आएको सेवासुविधा कटौती भएमा पनि कर्मचारीले काम छाड्ने गर्छन् ।
वृत्तिविकासको अवसरमा कमी
संस्थामा आबद्ध कर्मचारीले संस्थाभित्र नै आफ्नो वृत्तिविकासका अवसरहरूको विश्लेषण तथा खोजी गरेको हुन्छ । संस्थामा आफ्नो वृत्ति एवम् वृद्धि विकास हुने र उच्च पदमा पुग्न सक्ने अवसर नदेखेमा निराश भई अन्य अवसरको खोजी गर्ने र कार्यरत संस्थाबाट सेवा छाड्ने गर्छ । कर्मचारीले आफ्नो शीप तथा ज्ञान सुधार गर्ने तालीम तथा विकासका अवसर न्यायोचित रूपमा नपाउँदा आफ्नो वृत्ति एवम् वृद्धि विकास रोकिएको महसूस गर्छन् । कर्मचारीलाई लामो समयसम्म एकै प्रकृतिको काममा लगाई विविधतायुक्त काम गर्ने अवसर प्रदान नगरेमा पनि कर्मचारी निराश हुन्छन् । कर्मचारीलाई समयानुकूल विभिन्न तालीम, भ्रमण, अध्ययन अवलोकन भ्रमणजस्ता वृत्तिविकासका अवसर प्रदान नगरिएमा एवम् वृत्तिविकासको क्षेत्रमा कर्मचारीबीच विभेद गरिएमा पनि कर्मचारी असन्तुष्ट हुन्छन् । कर्मचारीले आफ्नो योगदानको मूल्यांकन र बढुवाको अपेक्षा गरेको हुन्छ । त्यसअनुसार बढुवा नभएमा, रिक्त दरबन्दीमा भर्ना हुन योग्य कर्मचारी आन्तरिक बढुवा नगरी नयाँ कर्मचारी भर्नालाई प्राथमिकता दिएमा, कर्मचारीबाट पेश भएका नवीनतम तथा सृजनशील कार्यहरूको विश्लेषण गरी प्रोत्साहन नगरिएमा तथा निर्णय प्रक्रियामा सहभागी गराउनेजस्ता कार्य नगरी नेतृत्वकर्ताले आफ्नो ज्ञान, शीप र काम गर्ने तौरतरीका नै सर्वोपरि ठानेमा कर्मचारी असन्तुष्ट हुन्छन् र सेवा छाड्छन् ।
सूक्ष्म व्यवस्थापन तथा नियन्त्रण
संस्थाले कर्मचारीहरूको क्रियाकलापलाई व्यवस्थित गर्न कर्मचारी व्यवस्थापनसम्बन्धी नीति तथा कार्यविधिको व्यवस्था गरेको हुन्छ । संस्थाले कर्मचारीलाई स्पष्ट कार्यविवरण प्रदान गरेको अवस्थामा पनि समयसमयमा ससाना कुरामा समेत परिपत्र गर्ने, अत्यधिक नियन्त्रणमा राख्न खोज्नेजस्ता सूक्ष्म व्यवस्थापनबाट निजहरूको सृजनशीलता र स्वायत्ततामा अंकुश लगाउन खोज्ने प्रयास गरेमा कर्मचारी निराश भई अन्य संस्थाको खोजीमा सेवा छाड्ने गर्छन् ।
जिम्मेवारविहीन बनाउने, निर्णय प्रक्रिया होस् वा संस्था सञ्चालन प्रक्रियामा सहभागी नगराउनेजस्ता क्रियाकलापले संस्थामा प्रश्रय नपाउँदै गएमा भोलिको दिनमा ठूलो जनशक्ति संस्था छाडेर विदेश जान सक्ने र योग्य तथा दक्ष जनशक्तिको अभावमा संस्था सञ्चालन नै संकटमा पर्न सक्ने जोखिम रहन्छ ।
कर्मचारीहरूका ससाना क्रियाकलाप नियन्त्रण गरी सूक्ष्म व्यवस्थापन गरेमा कर्मचारीको निर्णय गर्ने क्षमतामा ह्रास आउनुका साथै आफ्नो स्वायत्ततासमेत गुमाउँदै जान्छन् । फलस्वरूप उनीहरूको काम गर्ने तौरतरीकामा रचनात्मकता र नवीनता नदेखिनुका साथै आफ्नो विचार र सुझावलाई महत्त्व नदिएको महसूस गर्छन् । कार्यालयको अधिक निगरानी र दबाबले कर्मचारीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असरसमेत परेमा, आफ्नो काममा विश्वास हराउँदै/गुमाउँदै गएमा, काम गर्ने वातावरण प्रतिकूल भएको ठानेमा पनि कर्मचारीले सूक्ष्म व्यवस्थापन गरेको अनुभव गर्छन् । कार्यालयको अधिक निगरानीले कर्मचारीहरूमा खुला संवादको वातावरण कायम हुँदैन । उच्च पदीय दायित्व भएका नेतृत्वकर्ताहरू संस्थाको राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्बन्ध बलियो बनाउने, व्यावसायिक साझेदारहरूसँगको सम्बन्ध बलियो बनाउने, संस्थाको दीर्घकालीन योजना नीति तथा कार्यविधिहरू तयार गरी कार्यान्वयन गराउने, संस्थाका लागि आवश्यक नवीनतम तथा प्रविधीमैत्री विषयहरूको शोध–खोज र अनुसन्धान गर्न दिनुपर्ने समय सूक्ष्म व्यवस्थापनमा खर्च गरी रुमलिने अवस्था रहेमा कर्मचारी असन्तुष्ट बन्छन् र काम छाड्छन् ।
कर्मचारीको प्रयासलाई अवमूल्यन
संस्थामा आबद्ध कर्मचारीबाट संस्थाको लक्ष्यप्राप्तिका लागि गरेका प्रयाशहरूको यथोचित मूल्यांकन नगर्ने, कर्मचारीले गर्ने प्रस्ताव तथा सुझावहरूको सुनुवाइ नगर्ने, निर्णय प्रक्रियामा सहभागी नगराउनेजस्ता क्रियाकलापले कर्मचारीमा आफ्नो स्थान तथा भूमिका संस्थामा नरहेको, प्रयाशहरू व्यर्थ रहेको जस्ता नकारात्मक भावनाहरूको विकास भई सेवा छाड्छन् ।
कर्मचारीले आफ्नो ज्ञान, शीप र क्षमताले भ्याएसम्म गरेको काम तथा प्रयासलाई स्थान नदिएमा, कर्मचारीको संगठनात्मक संरचनाले सृजना गरेका भूमिका तथा जिम्मेवारीअनुसार कार्यहरू नदिई चेन अफ कमान्ड भंग गरेमा, कर्मचारी स्वयंले संस्थामा खेल्नुपर्ने भूमिका तथा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे स्पष्ट हुन नसकेमा, कर्मचारीहरूलाई सहकर्मी तथा सहयोगीको दृष्टिकोेणले नहेरी दर्जानीका रूपमा मात्र हेरिएमा आफ्नो अवमूल्यन भएको अनुभव हुन्छ । कर्मचारीहरूको प्रयासबाट प्राप्त उपलब्धिलाई नेतृत्वले सीमित कर्मचारीहरूलाई मात्र जस दिएमा पनि कर्मचारीले आफ्नो अवमूल्यन भएका ठान्छन् ।
काम र व्यक्तिगत जीवनको सन्तुलन नहुँदा
संस्थामा कार्यरत कर्मचारीको कार्य बोझ र व्यक्तिगत जीवनबीच सन्तुलन ल्याउन सक्ने वातावरणको सृजना हुन नसकेमा पनि कर्मचारी सेवा छाड्छन् । कार्यालयले कर्मचारीहरूलाई कुनै विशेष कार्य विना पनि कार्यालयमा लामो समयसम्म बस्नुपर्ने दबाब दिएमा, कार्यालयको कामको दबाबका कारण आफ्नो व्यक्तिगत जीवनका गतिविधिलाई समय दिन नसकेमा तथा पर्याप्त छुट्टी र विश्रामको अवसर नपाएमा, कार्यालय तथा निजको सुपरभाइजरले निजबाट अपेक्षा गरेको कामकर्तव्यका बारेमा स्पष्ट सञ्चार नगरेमा काम र व्यक्तिगत जीवनमा सन्तुलन मिल्दैन ।
कार्यालयमा हुने अनावश्यक राजनीति
संस्थामा आबद्ध कर्मचारीको हित बाहेक आआफ्नो पक्षमा समर्थन जम्मा गर्ने, गुटबन्दी गर्ने तथा बाह्य राजनीतिक दल वा संघसंस्थाको आडमा संस्थामा विभिन्न दबाबमूलक कार्य सञ्चालन भए/गरेमा समेत कर्मचारीको स्वतन्त्र तथा व्यावसायिक कार्य वातावरण धमिलो हुन गई कर्मचारीहरूमा निराशा बढ्न जान्छ । फलस्वरूप संस्था छाड्ने मानसिकताको विकास हुन्छ ।
सौहार्दपूर्ण कार्य वातावरण नहुनु
संस्थामा आबद्ध कर्मचारीले अधिकांश समय कार्यालयमा खर्च गर्ने भएकाले कार्यालयको कार्य वातावरण स्वस्थ तथा सौहार्दपूर्ण हुनु आवश्यक हुन्छ । संस्थामा काम गर्ने वातावरण कर्मचारी मैत्री नभए कर्मचारीहरूमा नकारात्मक भावनाको विकास हुने, कर्मचारीहरूमा निराशा हुने तथा सेवा छाड्ने मनोवृत्ति सृजना हुन जान्छ । संस्थाका सहकर्मी, सिनियर तथा जुनियरबीच सहयोगी भावना, सौहार्दपूर्ण तथा हार्दिकताको वातावरण नहुनु, समानता तथा समताको वातावरण नहुँदा कर्मचारी शोषित तथा दुव्र्यवहारको अनुभूति गरी भावनात्मक तथा मानसिक थकानको महसूस हुनु, कार्य स्थलमा भौतिक पूर्वाधार यथोचित व्यवस्था नहुनु, कार्य स्थल सुरक्षित नहुनुजस्ता कुराले कर्मचारीलाई कार्य वातावरण मन पर्दैन र काम छाड्छन् ।
कर्मचारीलाई टिकाइराख्न लिनुपर्ने नीति
संस्थाको लक्ष्य प्राप्त गर्न महत्त्वपूृर्ण योगदान दिने कर्मचारीको व्यवस्थापन विधि तथा प्रक्रियामा तालमेल नहुँदा धेरै संस्थाले उत्कृष्ट कार्य सम्पादन गरिरहेका कर्मचारीलाई निजको सेवा अवधि बाँकी हुँदै बिदा गर्नुपर्ने अवस्था सृजना भएको देखिन्छ । तसर्थ नेतृत्वदायी भूमिकामा रहेका पदाधिकारीले संस्थामा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई संस्थामा दीर्घकालसम्म टिकाइराख्न आवश्यक छ । यसका लागि संस्थामा सक्षम, सशक्त र कुशल नेतृत्वको विकास गर्नुपर्छ । प्रतिस्पर्धात्मक पारिश्रमिक (तलबभत्ता) लगायत अन्य सेवा सुविधा प्रदान गर्नुपर्छ । कर्मचारीको वृद्धि एवम् वृत्तिविकासका न्यायोचित अवसरहरूको सुनिश्चित गर्नुपर्छ । नेतृत्वदायी भूमिकामा रहेका उच्च पदस्थ पदाधिकारीहरूले पदीय जिम्मेवारीबमोजिमको भूमिका निर्वाह गर्नुपर्छ । कर्मचारीको कार्य सम्पादनको गुणस्तरलाई आधार बनाई निष्पक्ष रूपमा वृत्तिविकासका अवसरहरू प्रदान गर्नुपर्छ । कर्मचारीको काम र व्यक्तिगत जीवनको सन्तुलन कायम गर्नेतर्फ सदैव चनाखो भई सहयोगी भाव राख्नुपर्छ ।
कार्यालयमा हुने अनावश्यक राजनीति, गुटबन्दीको अन्त्य गरी स्वतन्त्र तथा व्यावसायिक वातावरण सृजना गर्नुपर्छ । कार्यालयमा सौहार्दपूर्ण तथा सकारात्मक कार्य वातावरण बनाई व्यावसायिकताको विकास गर्नुपर्छ । कार्यालयमा हुने क्रियाकलाप तथा नयाँ रणनीतिहरूका बारेमा कर्मचारीबीच प्रभावकारी सञ्चार गरी विश्वास तथा अपनत्वको वातावारण तयार गर्नुपर्छ । समयसमयमा कर्मचारीको कार्य सन्तुष्टि उच्च पार्ने क्रियाकलाप सञ्चालन गर्नुपर्छ । नीति तथा व्यवस्थाहरूको कार्यान्वयनबाट संस्थामा सामूहिक तवरले कर्मचारीको अपनत्व हुने गरी समूहमा काम गर्ने र समूहलाई विश्वास गर्ने वातावरण सृजना गर्नुपर्छ ।
अन्त्यमा, संस्थाको गहना, सफलताका पर्यायवाची, ब्रान्ड एम्बास्डर र संस्थालाई जीवन्तता दिने दाताका रूपमा लगायत विभिन्न नामबाट व्याख्या गरिने कर्मचारीमा संस्थाप्रति निराशा उत्पन्न हुन्छ । संस्था तथा आफ्नो कर्मचारीको भविष्य अन्योल देख्ने किसिमका वातावरण अन्त्य गरिनुपर्छ । संस्थामा आबद्ध कर्मचारीमा असमान व्यवहार गर्ने, विश्वासको संकट उत्पन्न गराउने, जिम्मेवारीविहीन बनाउने, निर्णय प्रक्रिया होस् वा संस्था सञ्चालन प्रक्रियामा सहभागी नगराउनेजस्ता क्रियाकलापले संस्थामा प्रश्रय नपाउँदै गएमा भोलिको दिनमा ठूलो जनशक्ति संस्था छाडेर विदेश जान सक्ने र योग्य तथा दक्ष जनशक्तिको अभावमा संस्था सञ्चालनमा नै संकट पर्न सक्ने जोखिमका बारेमा बेलैमा सोच्नु आवश्यक देखिन्छ । त्यसैगरी योग्य तथा दक्ष जनशक्तिलाई संस्थामा टिकाइराख्न आवश्यक व्यवस्था आजैदेखि गर्नुपर्ने देखिन्छ । आगामी दिनमा त्यो कर्मचारी राम्रो थियो । सेवा अवधि बाँकी छँदै संस्था छाडेर गयो । अहिले नयाँ कर्मचारी भर्नाका लागि विज्ञापन गर्दा पनि योग्य तथा उत्कृष्ट आवेदकहरूसमेत पाउन नसकिने भन्दै छाडेर जाने कर्मचारीलाई सम्झँदै आफ्ना कमीकमजोरी केलाउने दिन नआओस् ।
लेखक बैंक तथा वित्तीय संस्थामा कार्यरत छन् ।