काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आगामी पुस २५ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
समान उद्देश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्तिमा जाने विषयलाई पनि कम्पनीले अघि सारेको छ । यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस १२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।