मेलम्ची खानेपानी आयोजनाको मुख्य शुरूङ निर्माण गर्न चारओटा कम्पनी इच्छुक देखिएका छन् । सो शुरूङ निर्माणका लागि भर्नुपर्ने फारम १९ ओटा कम्पनीले खरीद गरे पनि चारओटाले मात्र दर्ता गराएको आयोजनाका उपकार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए ।
दर्ता गराउने कम्पनीहरूमा कोभेक चाइना ओभरसिज इञ्जिनीयरिङ कर्पोरेशन, सिनो हाइड्रो चाइना र चाइना इण्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन गरी तीनओटा चिनियाँ र सीएमसी डाई राभेना एक इटालियन कम्पनी रहेको पनि उनले जानकारी दिए ।
आयोजनाले चारओटै कम्पनीको प्राविधिक मूल्याङ्कन प्रतिवेदन दातृनिकाय एशियाली विकास बैंक (एडीबी)लाई पठाइसकेको पनि बताएको छ । आयोजनाका अनुसार एडीबीको स्वीकृतिपछि एउटा कम्पनीलाई निर्माणको जिम्मा दिइनेछ । ‘एक साताभित्र एडीबीबाट स्वीकृति आउने हाम्रो अपेक्षा छ,’ भट्टराईले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर ४५ दिनभित्र निर्माण सम्झौता गरिसक्ने आयोजनाको लक्ष्य छ ।’
वर्ष ८, अंक १९४, सोमवार १८ चैत, २०६९