हैन यो के भाको हो यहाँ ? जोसँग कुरा गर्यो उही निराश, हताश । सबैतिर बिग्रियो, भत्कियो, बर्बाद भयो, खत्तम भयो, ध्वस्तै भयो भन्नेहरू मात्रै भेटिन्छन् बा !
सरकारको कुरा सुन्नु । अनि खुशी हुने तानाबाना बुन्नु । सत्ताधारी नेताहरूको भाषण पढ्नुु । सब ठीकठाकै त चलिराछ । गीताले भन्छ ‘किन चिन्ता गर्छौ ? के लिएर आएका थियौ, के लिएर जान्छौ ?’ त्योभन्दा ठूला अर्ती त अचेल हाम्रा प्रधानमन्त्री र मन्त्रीले नै दिन्छन् । जसरी गीता पढेपछि ज्ञान बढ्छ, त्यसरी नै नेता पढेपछि सबै कुरा सकारात्मक देखिन थाल्छन् ।
जस्तै, अर्थमन्त्रीले भनेका छन्, सबै तथ्यांक राम्रा छन् । मिडियाले नकारात्मक सन्देश फैलाए । अर्थतन्त्र सप्रिएको छ । उता प्रधानमन्त्रीले पनि भनेका छन्, देश बन्दै छ । अर्थतन्त्र जाग्दै छ । भएन, गरेन, बर्बाद भो भनेर त्यसै हल्ला मात्रै भएको हो । अनि त के चाहियो मैले पनि मेरो बिग्रिएको ब्यालेन्ससीट फ्याट्टै बिर्सिएँ । यसो तिरोतारो पनि बिर्सिएँ । लेनदेन पनि भुलेँ । हो त रहेछ, सबैतिर राम्रै राम्रै त छ । छिमेकतिर राम आएको हल्ला थियो । हाम्रो मुलुकमा त रामराज्य नै आइसकेछ । अनि कसरी यस्तो उच्च हौसला पलायो भन्नुहोला । त्यसको कथा पनि म भन्छु ।
कुनै गुनासो गर्न गयो भने नेताहरू भन्छन्– हौसला राख्नुस्, सबै ठीक हुन्छ ।
म बजार जान्छु । मूल्यसूची पढ्छु, खल्ती छाम्छु । अनि मेरो हौसला फेरि शून्यमा पुग्छ । सकिनसकी सामान बोकेर निराश जब घर पुग्छु, श्रीमती भन्छिन्– हौसला राख्नुस्, भविष्यमा सबै ठीक हुन्छ ।
समाचारका पानाहरू पल्टाउँछु । जताततै भद्रगोल, हत्या, हिंसा, समयमा काम नभएको, भ्रष्टाचार बढेको, खाद्यान्न गोदाममा सडेकोजस्ता समाचार मात्र पाउँछु । छिमेकीले भन्छन्– नआत्तिनुस्, राम्रो समय आउँदै छ । छिमेक मुलुकमा त आइसक्यो !
जब मेरो हौसलाको सूचक फेरि शून्यतिर झर्न थाल्छ, तब म सन्त, महात्मा वा धर्मगुरुहरूकहाँ पुग्छु । उनीहरू पनि भन्छन्– सबै कुरा अनित्य छ । रातपछि दिन आउँछ । हौसला कायम राख्नू, धैर्य नगुमाउनू । अनि यसो फेरि गीता पल्टाउँछु, ... कर्म गर, फलको आश नगर, ‘मा कर्म फल हेतुर्भु....।’
यसरी जति निराशाको चित्कार चारैतिर छ, त्यसैगरी हौसला बढाउनेहरू पनि सबैतिर भेटिन्छन् । यी हौसला बढाउनेहरूबाट आजित भएर मैले निश्चय गरेको छु कि अब म सार्वजनिक रूपमै हौसला उँचो राख्ने घोषणा गरि नै दिन्छु । तर हौसला उँचो राखिरहने कार्यक्रमका लागि खास कुरो यो छ कि आफूसँग अलिकति भए पनि हौसला त हुनुपर्यो नि ! जब आफूसँग हौसला हुन्छ, तब न यसलाई उँचा राख्न सकिन्छ । आफूसँग हौसला नभैकन पनि हौसला उँचा राखूँ भने त भोलि जगहँसाइ हुने पक्का छ ।
हौसला उँचो जसको, उसैको त छ समाजमा उच्च आदर, बाँकी त सबै मरेका बाँदर । बुद्धिमानहरू पढ्न थाल्छन्, नपढ्ने मूर्खहरू सत्तामा बसेर तिनै पढेका बुद्धिमानलाई कज्याउँछन् । यो सबै उच्च हौसलाका कारण त हो नि ।
हौसलाका विषयमा त तपैंलाई थाहै छ कि त्यो, विनामूर्खता हुनै सक्तैन । यता मानिसहरूको हौसला यति उँचो छ कि भनिसाध्यै छैन । सयको माल १००० मा विक्री । जताततै मिसावटै मिसावट । दूध, घ्यू, मसला, तेल । जताततै जालझेल । उच्च हौसलाका उम्दा तस्वीरहरू । न कानूनको डर, न समाजको । सके जति पैसा निचोरेरै लेऊ । सके जति कस । अब एयरपोर्टमा प्रहरीलाई चेक गर्न दिन्न भन्ने र चेक गर्न नदिएपछि लात्ताले हान्ने पनि पक्कै दरै हौसलाले नै त होला नि ! हौसला उँचो जसको, उसैको त छ समाजमा उच्च आदर, बाँकी त सबै मरेका बाँदर । बुद्धिमानहरू पढ्न थाल्छन्, नपढ्ने मूर्खहरू सत्तामा बसेर तिनै पढेका बुद्धिमानलाई कज्याउँछन् । यो सबै उच्च हौसलाका कारण त हो नि ।
भिडियोमा हेर्नुहोस् ।
समाजमा हौसला यति उच्च छ कि डाक्टरहरू बिरामीलाई यति धेरै चेकअप र यति धेरै औषधिहरू उच्च रूपमा प्रयोग गर्ने सल्लाह दिइरहेका छन् कि गनिसाध्यै छैन । कुनै कुनै अस्पतालले त मरिसकेको व्यक्तिलाई भेन्टिलेटरमा राखेर त्यसबाट समेत पैसा असुल्ने रैछन् । हौसला दिने महान सूत्र त अझ सरकारबाट पो सिक्नुपर्छ । निजीक्षेत्र अर्थतन्त्रको सञ्चालक हो भन्छ, अनि त्यसैलाई करको सुर्कानोले कस्नुसम्म कस्छ । चल्यो त ठिकै छ । नचलेर व्यवसाय टाट पल्टिन लागेकाहरूलाई हौसला दिने सरकारको नीति पनि बेजोडको छ । उसले व्यवसायीहरूलाई अनेक शुल्कका नाममा यति धरैथरी कर लगाउँछ कि भनिसाध्यै छैन । शास्त्रमा भनिएको छ कि मूर्खहरूको नै सबैभन्दा हौसला उच्च हुन्छ । कालीदास मूर्ख नभएका भए राजकुमारी हात पार्थे त ? मूर्ख न भा भए गोर्खालीहरू विश्वका बहादुरमा गनिन्थे होला त ? मूर्ख भएकैले पुटिन काकाले त्यत्रो जागिरको अफर गरेका छन् गोर्खालीलाई । यो सबै कुरा ध्यानमा राखेर नै मभित्र पनि हौसला उँचो गर्ने कीराहरू सल्बलाउन थालेका छन् ।
त्यसैले म टाउकोमा हात राखेर कसम खान्छु कि ‘आज उप्रान्त म पनि मूर्ख बनिरहन्छु । यसका नाताले म आफ्नो हौसला सधैं उँचो राख्ने घोषणा गर्दछु ।’ हौसला उच्च राख्नैका लागि मैले पर्याप्त मात्रामा मूर्खता पनि सँगालेर राखेको छु । अत: आज राति १२ बजेपछि हिँउ रित्तिएको काला पहाडमुनि मसानघाटमा मेरो हौसला उच्च राखिरहने घोषणा कार्यक्रम रहेको छ । यदि कसैलाई मेरो हौसला कायम राख्ने कार्यक्रमका विषयमा कुनै आपत्ति छ भने कार्यक्रम अगावै मलाई भन्नका लागि आह्वान गर्दछु । मेरो यो उच्चकोटीको हौसलाको समर्थन वा विरोधमा फोन, सामाजिक वा असामाजिक जुनसुकै सञ्जालबाट पनि मलाई मेसेज गर्न सक्नुहुनेछ ।
जसरी एकपटक कुनै कुराको मूल्य एकपटक बढेपछि फेरि तल ओर्लंदैन, जसरी सरकारी कर्मचारी वा मन्त्री वा उच्चपदस्थ भिआईपीहरूको तलब, सुविधा एकपटक बढेपछि उसले कामै नगरे पनि घट्दैन । जसरी महँगी जुन हौसलाले बढ्छ, त्यसको कैयौं गुणा घुसको भाउ बढ्छ । जसरी सरकारी अस्पतालहरूमा विनाडाक्टर, विनाऔषधि र विनाजाँच गर्ने मेशिन वा उपकरणहरू नै सरकारको उच्च हौसलाले आकाश छोइरहेका छन्, त्यस्तै मेरा उच्च हौसला पनि जब एकपटक खडा हुन्छ, तब फेरि यसलाई तल झार्न असम्भव हुन्छ । त्यसपछि त मेरो हौसलाका ताण्डव शुरू हुनेछन् । अनि त्यसपछि मेरा मूर्खताका बारेमा कसैले केही भन्न पाउनुहुने छैन है !