उप्रान्त नेपालमा प्रजातन्त्र किन सफल भएन भनी ध्यान दृष्टिले हेर्दा यस्तो पो कुरा आयो त । बुद्धलाई सुखको तत्त्वज्ञान भएझैं । खासमा प्रजातन्त्र हुन त प्रजा हुनुपर्यो । तर यहाँ त सबै शासक नै हुन चाहन्छन् । प्रजा नै नभएपछि प्रजातन्त्र कसरी हुन्छ त ?
त्यसमाथि यस प्रजातन्त्रलाई गाली पनि तथानाम गरिँदै आएको छ । प्रजातन्त्रलाई गाली गर्दा यसलाई भीडतन्त्र पनि भन्छन् । भीडले जुलुस निकाल्छ । सरकारले पनि भीड हेरेर त्यहीअनुसार निर्णय गरिदिन्छ । अनि त यस प्रजातन्त्रलाई भीडतन्त्र भन्ने नै भए । बेलाबेलामा जम्मा हुने भीडले नै पो कतै परिवर्तन गर्छन् कि त भनी जनता आश पनि गर्छन् । तर त्यो भीडले त पुग्दैन । आशालाई भरोसासहित परिणाम दिन त क्रिटिकल मास चाहिन्छ । त्यस्तो क्रिटिकल मास हुने गरी ठूलो भीड नै जम्मा हुँदैन । त्यसकारण यस्तो मासले मात्र पनि पुग्दैन । शासन चलाउन त एउटा क्लास नै चाहिन्छ, अर्थात् एक प्रकारकोे स्ट्याण्डर्ड खाश चाहिन्छ । तर त्यो हुनै पाउदैन । किनभने क्लास भएको मासमध्ये धेरै मौका पर्नासाथ विदेश भास भैहाल्छन् ।
भीडतन्त्रले हरेक चीज भीडलाई सुम्पिन्छ, अनि ‘भीड’को मत नै देशको मत’ भन्ने नारा घन्किन्छ । त्यो भीडले चाहेको कुरा नै हाम्रो शासनको नयाँ नीति बन्छ । भीडसँग भाड पनि आउँछ । भीडभाडले लोकतन्त्र तानेपछि भीड हराउँछ र भाँड मात्रै बाँकी रहन्छ । अनि शुरू हुन्छ भाँडतन्त्र, जसलाई तपाईं हामी सबैले कुनै न कुनै प्रकारले मलजल गरिरहेका पनि छौं । शुरूमा त प्रजातन्त्र पुरानो भयो भनेर त्यसलाई फालेर लोकतन्त्र भन्न थालियो । लोकतन्त्र अर्थात् लोकले चलाउने तन्त्र । तर भयो यो कि लोक दुईथरी हुन्छन् । यो लोक जसलाई इहलोक पनि भन्छन्, अर्को परलोक । अब ह्याँ यो तन्त्र इहलोकवालाले चलाउने कि परलोकवालाले भन्ने द्वन्द्व र द्विविधा रह्यो । यस क्रममा कत्तिलाई परलोक पनि पुर्याइयो । इहलोक र परलोकमा चम्किने सूर्य नारायणमा उत्तरायण र दक्षिणायन हुन्छ ।
एक वर्षमा आधा समय उत्तरायण र आधा समय दक्षिणायन । नेपालमा सूर्यपन्थीहरू पनि ठ्याक्कै आधा यही उत्तरायण र दक्षिणायनमा लागेर कहिले उत्तरलाई खुसी बनाउन त कहिले दक्षिणलाई खुसी बनाउन लाग्या छन् । लोकतन्त्र यसैमा घुम्याघुम्यै छ । त्यही भएर कतै पुगेको छैन ।
यहाँ लोकतन्त्र होइन, बरु ठोकतन्त्र चैं उचित हुन्छ भन्ने कुरा पनि आयो, कुनै बेला मण्डलेहरूबाट र पछि क्रान्तिकारीहरूबाट । विरोध गर्ने, बोल्ने, अनि तर्क दिने जोसुकैलाई यस ठोकतन्त्रले ठोक्न बाँकी राख्दैन । कसैकसैले यसलाई रसिया र उत्तर कोरियाको शासन तन्त्रसँग मिल्दोजुल्दो हुन्छ पनि भन्छन् । तर यो तन्त्र पनि धेरै समय टिकेन । ठोक्नेभन्दा भन्दै बोक्नेतिर लागे अनि शुरू भयो बोकतन्त्र । कहिले कल्लाई बोक्ने, कहिले कल्लाई । अर्कालाई बोक्दा बोक्दै त्यो पनि बुइ चढ्नमा मात्रै सीमित भयो ।
यस्तो देखिन्छ कि नेताहरूका लागि इहलोकको लोकतन्त्र, जनताका लागि परलोकको लोकतन्त्र हो । नेताहरू लोकतन्त्र कुरा गर्छन् र जनतालाई आशा दिलाउँछन् कि यो लोकमा केही नभए पनि परलोकमा केही राम्रो हुन्छ भनेर । यसले गर्दा लोकहितमा तन्त्र नचले पनि लोकतन्त्रको भने नाम सधैं अस्तित्वमा रहिरहेको छ ।
ठोकतन्त्रपछि देशमा तुरुन्तै आएको चैं गणहरूले चलाउने तन्त्र अर्थात् गणतन्त्र हो । गण भनेको समूह, झुण्ड वा गिरोह हो । यसलाई दल, गुट, उपगुटका नामले पनि चिनिन्छ । यो तन्त्रमा हरेक नेताका आआफ्नै ‘गिरोह’ हुन्छन् । हरेक मुद्दामा उनीहरूकै रायअनुसारका समाधान खोजिन्छ । यो तन्त्र भने देशमा धेरै समयदेखि चलिरहेकै छ । ‘ठाउँ न ठहर बुढीका रहर’ भनेझैं यो कता कताबाट फ्याट्ट पलाएकाले यसको असली नाम चाहिँ बिग्रेर अचेल गाँडतन्त्र भएको छ र यसको असली स्वरूप चाहिँ गाँड कोराकोर भएको छ ।
शासकअनुसार कहिले यसलाई लोकतन्त्र भन्ने गरिएको छ भने कहिले जोकतन्त्र । अहिले भने देशमा ठ्याक्कै चलिरहेको चैं जोकतन्त्र हो । यो तन्त्रमा देशका कुनै पनि समस्याहरूलाई गम्भीरतापूर्वक नलिई भाषण गरेर शासन चलाउने र शोकमा समेत जोक गरेर समय कटाउने तन्त्रलाई बुझिन्छ । जोक सुनाउनेले जोक सुन्नेका लागि जोक सुनाउन मात्र चलाएको तन्त्र हो । देखिहाल्नुभो नि देश बाढी पहिरोको चपेटामा परेर शोकमा परिरहेका बेला कसरी शासकहरू विदेशमा जोक गर्दै घुमिरहेका थिए ।
गणतन्त्रजस्तै सुनिने अर्को तन्त्र चैं गनतन्त्र हो, जुन बन्दुक देखाएर नै आफ्ना मुद्दा स्थापित गर्ने, सत्तामा आउने, सत्ता जोगाउने, अनि आफ्ना फाइदा बढाउने हुन्छ । तर संसारमा बन्दुककै भरमा मात्र टिकेका गनतन्त्र धेरै छैनन् । भलै हिजोआज त प्रजातन्त्रलाई कसैकसैले जनतन्त्र पनि भन्न थालेका छन् । बाहुनको घाँटीमा झुन्डिएको जनैजस्तै यिनको जिब्रोमा पनि जन झुन्डिएको हुन्छ । जनवादी शिक्षा, जनवादी हिँडाइ, जनवादी मन्दिर, जनवादी मदिरालय, जनवादी शासन, जनवादी भाषण आदि सबै जन नै जन । यो जन पनि भजनकै भाइ हो कि जस्तो देखिन्छ । कतिपय दलका नाम अगाडि समेत जन राखेर दल खोलेका छन् । जस्तै, जनमोर्चा, जनमत, जनमुक्ति, जनवादी, जनशक्ति, जनप्रजातान्त्रिक आदि । भलै जन अर्थात् जनतासँग उनीहरूलाई कुनै मतलव भएकोजस्तो त लाग्दैन ।
फेरि यो जनताको तन्त्र हो कि श्रमिकहरूको मात्र तन्त्र हो भन्ने कुरामा पनि स्पष्टता छैन । किनकि, जन अर्थात् काम गर्ने श्रमिक नपाएरै यहाँ विगतमा भएका उद्योग, कृषिमा हुने गरेका कामहरू रोकिएका कुरा आएका छन् । त्यसैले, यो तन्त्र पनि चल्न गाह्रै होला । अझ जनबाटै नाम भएका दल त झन् कसरी चल्लान् र खै ?
कत्तिले चैं अब ब्याकबेन्चरहरूले हैन, शिक्षितहरूले शासन गरेमा राम्रो हुन्छ भन्न थालेका छन् । शिक्षित हुनलाई त घोक्नु पनि पर्यो । त्यसैले कत्तिले त घोकेर शिक्षित पनि भए । शासन प्रशासनमा उनीहरू गए । तिनले कुश आसन ल्याए कि कुशासन ल्याए तपाईंलाई थाहै छ । तर शिक्षित र बुद्धिजीवी भन्नेबित्तिकै जोसेफ सुम्पिटरको याद आइहाल्छ । उनले जे लेखेका छन्, त्यो करीब यस्तो छ–‘पूँजीवादी व्यवस्थाको ध्वंसको बीउ नै आवश्यकताभन्दा बढी शिक्षितहरूको उत्पादन हो, जसले गर्दा धेरै बुद्धिजीवी बेरोजगार हुन पुग्छन् । योग्यता अनुसार रोजगारी नपाएका बुद्धिजीवीले ध्वंसात्मक विचार प्रचार गरेर कसैले राम्रो काम गर्न थाल्यो भने त्यसमा अनेक खोट निकालेर बिगार्ने काममा लाग्छन् ।’ त्यसैले होला प्रजातन्त्र बाँदरको हातमा नरिवल जस्तो हुन पुगेको ।
कस्तो ठ्याक्कै हाम्रो पूँजीवादी कि समाजवादी मिश्रित एवं विकृत प्रजातन्त्रको अवस्थासँग मेल खाएको क्या ! प्रजातन्त्रका यस्ता अनेक रूपहरू देख्दा देख्दा अचेल मलाई त यस्तो लाग्न थालेको छ कि देशमा सच्चा प्रजातन्त्र कसरी स्थापित गर्ने होला हँ ?