काठमाडौं। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कल्याणविक्रम पाण्डे नियुक्त भएका छन् । मङ्सिर ६ गते बसेको संस्थाको १६३औं सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा पाण्डेलाई अध्यक्षमा चयन गरेको संस्थाले जानकारी दिएको छ ।
यसअघि अध्यक्षको जिम्मेवारीमा रहेका सुमितबाबु खत्री संस्थापक संस्था सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबाट अलग भई सञ्चालकमा बस्न नपाउने भएसँगै नयाँ अध्यक्ष चयन गरिएको हो । संस्थाका नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । पाण्डे यसअघि पनि संस्थाको संस्थापक (प्रतिनिधि ग्लोबल आइएमई बैंक लि) समूहको तर्फबाट विगत ५ वर्षदेखि निरन्तर रूपमा सञ्चालक समितिमा रहेर काम गरिरहेका छन् । यस्तै, सोही बैठकले सुमन मुलेपतीलाई सञ्चालकमा नियुक्ति गरेको छ । उनी संस्थापक सेयरधनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका हुन् । सञ्चालक मुलेपती सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत हुन् ।