काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारण समूहतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको हो । हाल कम्पनीको सर्वसाधारणतर्फको स्वामित्व १९ दशमलव ६८ प्रतिशत रहेको छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९ दशमलव १५ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
यो एफपीओमा लगानीकर्ताले छिटो अवधिभित्र पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन् । छिटो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस १९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ ।
एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
एफपीओ धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । यो कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो ।
हाल ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको एफपीओ निष्कासन तथा बाँडफाँटपछि चुक्तापूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ कायम हुनेछ ।
हाल कम्पनीमा संस्थापकतर्फ ८० दशमलव ३२ प्रतिशत र सर्वसाधारणतर्फ १९ दशमलव ६८ प्रतिशत शेयर स्वामित्व कायम छ ।
गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी ९ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ४० पैसा र प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा छ ।