काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको दुईओटा संगठन एकआपसमा गाभिने भएका छन् । स्टक ब्रोकर एशोसिएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालबीच बुधवार मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् ।
३१ वर्षको इतिहास बोकेको पुरानो ब्रोकर एशोसिएशन स्टक ब्रोकर एशोसिएशन अफ नेपाललाई नै सम्पूर्ण धितोपत्र व्यवसायी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको साझा व्यावसायिक संगठनको रूपमा अघि बढाउने सम्झौता दुई संस्थाबीच भएको हो । नयाँ ब्रोकर एशोसिएशनका रूपमा दर्ता भएको धितोपत्र ब्रोकर्स एशोसिएशन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीलाई स्टक ब्रोकर एशोसिएशन अफ नेपालले एकमुष्ट सदस्यता दिनुका साथै धितोपत्र ब्रोकर्स एशोसिएशन नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतनाअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अंगका रूपमा अगाडि बढाउने समझदारीपत्रमा उल्लेख छ । दुवै एशोसिएशनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायीलाई स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालको सदस्यता लिन आह्वान तथा सहजीकरण गरिने बुँदा पनि समझदारीपत्रमा समेटिएको छ ।
स्टक ब्रोकर एशोसिएशन अफ नेपालमा पुराना ५० ब्रोकर कम्पनी सदस्य छन् भने ४२ नयाँ ब्रोकर लाइसेन्स वितरण भए पनि हालसम्म २२ कम्पनीले मात्र धितोपत्र ब्रोकर्स एशोसिएशनमा सदस्यता लिएको एशोसिएशनका महासचिव कृष्ण गिरीले जानकारी दिए । चारबुँदे सहमतिअनुसार हालसम्म सदस्यता नलिएका नयाँ ब्रोकर कम्पनीलाई समेत सदस्यता लिन सहजीकरण गरिने गिरी बताए ।
एकीकृत संस्थाको नयाँ कार्यसमिति भने आगामी वार्षिक साधारणसभापछि निर्वाचित हुने गिरीले जानकारी दिएका छन् । ‘एउटै उद्देश्यका साथ सञ्चालनमा आएका ब्रोकर कम्पनीहरूका दुई संगठन हुन नहुने मान्यताका साथ अघि बढेका हौं,’ उनले भने । आगामी दिनमा ब्रोकरहरूको बलियो संगठनका रूपमा यो संघ अघि बढ्नेछ । पुरानो र नयाँ संगठन एक भएर अघि बढ्दा धितोपत्र व्यवसायमा समेत फरकपन आउने गिरीले बताए ।
२०७९ साल असोज २ गते नेपालको धितोपत्र बजारमा ११ वर्षपछि नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरिएको थियो । यसअघि २०६८ सालमा २३ नयाँ ब्रोकर कम्पनी थप गरी ५० पुर्याइएको थियो । बोर्डका निवर्तमान अध्यक्ष रमेशकुमार हमालको सक्रियतामा २०८० सालमा पूँजीका हिसाबमा तीन किसिमका ४३ कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने गरी आशयपत्र प्रदान गरिएको थियो । आशयपत्र प्राप्त गरेका ४३ कम्पनीमध्ये हालसम्म ४२ कम्पनीले लाइसेन्स प्राप्त गरी कारोबार गरिरहेका छन् ।
बोर्डबाट नयाँ ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्राप्त गरेका ४३ कम्पनीमध्ये एउटा पुरानो ब्रोकर कम्पनी हो । पुरानो ब्रोकर कम्पनी सनी सेक्युरिटिजले ६० करोड पूँजी कायम गरी नयाँ लाइसेन्स लिएको हो । सीमित कार्यको ब्रोकर सेवा प्रदान गर्ने हैसियतमा रहेको उक्त कम्पनीले ६० करोड चुक्ता पूँजी कायम गरी दोस्रो तहको पूर्ण कार्य गर्ने ब्रोकरको लाइसेन्स लिएको हो । थप एक कम्पनी लाइसेन्स पाउने पर्खाइमा छ ।
ब्रोकर लाइसेन्स प्राप्त गर्न बाँकी २८ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको सिजी इन्भेस्टमेन्ट सेक्युरिटिज लिमिटेडले भने भौतिक संरचनामा केही सुधार गर्न आवश्यक देखिएकाले स्वीकृति पाउन ढिलाइ भएको बोर्डले जानकारी दिएको छ । यस कम्पनीको लाइसेन्स वितरण नयाँ अध्यक्षको नियुक्तिपछि मात्र अघि बढ्ने बोर्डको भनाइ छ । बाँकी एक कम्पनीले समेत ब्रोकर लाइसेन्स प्राप्त गरेमा नेपालमा दुई धितोपत्र व्यापारी, तीन पूर्ण कार्य गर्ने र बाँकी सीमित कार्य गर्ने ब्रोकर हुनेछन् । हाल दुई धितोपत्र व्यापारी र ९० धितोपत्र दलाल व्यवसायी कम्पनी गरी ९२ कम्पनीले धितोपत्र बजारमा काम गरिरहेका छन् ।
पूँजीका हिसाबमा तीन किसिममा विभाजन गरी बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरको पूँजी २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्ता पूँजी ६० करोड र तेस्रो तहको स्टक डिलरको सेवा प्रदान गर्ने धितोपत्र व्यापारीको १ अर्ब ५० करोड चुक्ता पूँजी तोकिएको छ । पुराना ब्रोकर कम्पनीले पनि पूँजी बढाएर सेवाको आकार विस्तार गर्न चाहेमा बोर्डले तोकेबमोजिमको पूँजी कायम गर्न सक्नेछन् । यसका लागि बोर्डले २०८२ असार मसान्तभित्रको समयसीमा तोकिदिएको छ ।