काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले पहिलो म्युचुअल फण्ड सञ्चालनका लागि आजबाट इकाई निष्कासन गरेको छ । बन्दमुखी प्रकृतिको १० वर्षे अवधिका लागि मुक्तिनाथ म्युचुअल फण्ड १ नाम रहने गरी क्यापिटलले योजना सञ्चालन गर्न लागेको हो ।
योजना सञ्चालनका लागि पूँजी संकलन गर्ने उद्देश्यले क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरेको हो । निष्कासनमा आएको कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक मुक्तिनाथ विकास बैंकलाई र २ प्रतिशत दरको २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको हो ।
छिटो अवधि मंसिर २४ गतेसम्मका लागि विक्री मिति तय भएको यी इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । छिटो अवधि मंसिर २४ गतेसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि पुस ४ गतेसम्म विक्रीमा रहने जानकारी योजना व्यवस्थापकले दिएको छ । विक्री खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई विक्री भएमा मात्र बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।
तोकिएको न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नुपर्ने व्यवस्थासमेत छ । यी इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पनि मुक्तिनाथ क्यापिटल लिमिटेडकै रहेको छ ।
इकाई खरीदका लागि लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा सेवाका लागि अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयसँगै मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।