काठमाडौं । नारायणगढ – बुटवलखण्डको निर्माणाधीन दाउन्ने खण्डमा अत्यधिक धूलो र सवारी बिग्रँदा यातायात आवागमनमा सास्ती भएपछि यो खण्डमा बन्द गरेर सडक बनाउने निर्णय भएको छ । सानोतिनो प्रयासले उक्त खण्डमा हिँडिसाध्य नभएपछि सरकारले बर्दघाट (एसमोड) उकालोदेखि दुम्कीवाससम्मको १३ किलोमीटर (किमी) सडक दिउँसो र राति विभिन्न समयमा १९ दिनसम्म बन्द गरेर काम गर्ने निर्णय गरेको हो ।
शनिवार नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, गाउँपालिका अध्यक्ष, एशियाली विकास बैंकअन्तर्गत सडक विभागमा रहेको आयोजना निर्देशनालय र आयोजना परामर्शदातासहितको बैठकले यातायात रोकेर सडक बनाउने निर्णय गरेको हो । यात्रा गर्न अति कठिन भएपछि सडक नै बन्द गर्ने निर्णयमा सरकार पुगेको हो । आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले चैत २५ वा २६ गतेदेखि लागू हुने गरी पहिलो ४ दिनलाई दिउँसो र त्यसपछिको १५ दिन राति यातायात निषेध गर्ने निर्णय भएको जानकारी दिए ।
‘शनिवार दाउन्ने खण्ड बन्द गरेर सडक बनाउने निर्णय भएको छ,’ उनले भने, ‘अब गृहको अनुमति लिएर २५ वा २६ गते कुन दिनबाट लागू गर्ने भन्ने सूचना आउनेछ, शनिवारको निर्णयअनुसार पहिलो ४ दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द हुनेछ भने त्यसपछि १५ दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म बन्द हुनेछ ।’ सानोतिनो प्रयासले हिँडिसाध्य नभएपछि यातायात निषेध गरेरै बनाउने निर्णय भएको उनले बताए ।
बर्दघाटको उकालो (एसमोड)देखि दुम्कीवाससम्मको १३ किलोमीटरमा सवारी निषेध गरेर सडक बनाउने निर्णय भएको छ । उक्त खण्ड ३ लेनको बन्नेछ । अहिले दाउन्ने खण्ड धूलाम्मे छ । कामदार धूलाम्मे भएर काम गरिरहेका छन् । चिनियाँ कम्पनीसँग सब–कन्ट्र्याक्टर भएर काम गरेका एक नेपाली निर्माण व्यवसायीका अनुसार धूलो बढी भएकाले कामदारहरू छाडेर जान थालेका छन् । साइटमा कामदारका टेन्ट पनि राखिएका छन् । तर, अत्यधिक धूलोले कामदार बस्ने टेन्ट चिन्नै सकिँदैन ।
निर्माण भएपछि यो खण्ड ३ लेनको हुन्छ । अहिले २ लेनको यो खण्डमा ठूला सवारीसाधन बिग्रिँदा घण्टौं ट्राफिक जाम हुने गरेको छ ।
- १९ दिनसम्म दिउँसो र राति यातायात बन्द गरेर सडक बनाउने निर्णय
- ४ दिन दिउँसो र १५ दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी निषेध
- बर्दघाटको उकालोदेखि दुम्कीवाससम्मको १३ किमी सडक बन्द गरिने
निर्माण कम्पनीले साइटमा पानी नहाल्दा कामदार धूलोमै काम गर्न बाध्य छन् । उनीहरूमा आँखा पोल्ने, सुक्खा खोकी लाग्नेजस्ता समस्या देखिएको नेपाली निर्माण व्यवसायीले बताए । अर्घाखाँची–काठमाडौं हाइस चलाउँदै आएका चालक सीताराम भुसालले पहिला १२ घण्टामा अर्घाखाँचीबाट काठमाडौं पुगिनेमा अहिले १५/१६ घण्टा लाग्ने गरेको बताए । अहिले भने यो सडकका विभिन्न खण्डमा कालोपत्र भएकाले यात्रा केही सहज भएको उनको भनाइ छ ।
चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनीयरिङ कर्पाेरेशन लिमिटेडले यो सडक खण्ड बनाउँदै छ । बुङबुङती धूलो उड्दा सवारीसाधन दिउँसै लाइट बालेर चलाउनुपर्ने अवस्था छ । यात्रुले दाउन्ने बजारदेखि विनयी पुलसम्म निकै सास्ती खेप्नुपर्छ । नेपाल प्रहरी र ट्राफिक प्रहरी दाउन्ने खण्डमा बाटो खुलाउन लागिपरेका हुन्छन् ।
सरकारले उक्त कम्पनीलाई २०८२ साउनसम्म म्याद थपिदिएको छ । तर, कम्पनीले २०८३ साउनसम्ममा मोटामोटी सडक बनाइसक्ने बताएको ढकालले जानकारी दिए । अहिले कै रफ्तारमा काम भए दाउन्नेमा वर्षायाम हिलो नहुने उनको दाबी छ । अन्य सडक खण्ड भने कालोपत्र भएको छ ।
निर्माण कम्पनीले शुरूकै साढे ३ वर्षसम्म १५ प्रतिशतमात्रै काम गरेको थियो । अहिले कामको गति बढेको छ । कतिपय समयमा सरकारले बजेट नै नदिँदा कम्पनीले ५/६ महीना काम गर्न सकेन । कम्पनीको हेड अफिसबाट पनि बजेट ल्याएर काम गरेकाले अहिले काम भइरहेको छ । ‘निर्माण कम्पनीले बिल दिएअनुसार निर्देशनालयले रकम निकासा गर्ने गरेको छ,’ ढकालले भने, ‘हामीले बिल उठेअनुसार रकम दिन्छौं, मूल्य वृद्धिले हामीले २ किलोमीटरको रकम भुक्तानी दिँदा थप १ किमी मात्रै बनाउन पुग्ने भयो । अहिले कम्पनीको हेड अफिसले आएर साइट हेरेपछि रकम दिन्छौं भनेको हुँदा काम हुन्छ भन्ने हो ।’
२०७९ कात्तिकमा सडक विभागले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा प्रमुख ३ कारणले ढिलासुस्ती भएको निष्कर्ष निकालेको थियो । विभागका तत्कालीन महानिर्देशक अर्जुनजंग थापासहितको टोलीले साइटमै गएर २ दिन गरेको अवलोकनबाट सरकार–निर्माण कम्पनी र स्थानीय पालिकाहरूको असहयोगका कारण काममा ढिलासुस्ती भएको निष्कर्ष निकालेको थियो ।
११४ किलोमीटरको नारायणगढ–बुटवल सडक साढे ३ वर्षमा सम्पन्न गर्ने गरी २०७५ माघमा सडक विभाग र चिनियाँ कम्पनीबीच सम्झौता भएको थियो । सो खण्डको स्तरोन्नति र विस्तारका लागि विभाग र कम्पनीबीच भएको सम्झौताअनुसार यो खण्ड २०७९ साउन २२ गते नै सम्पन्न भइसक्नुपर्ने थियो । योबीचमा सरकारले तीनपटक म्याद थपिदिएको छ ।
१६ अर्ब रुपैयाँ लागतको यो सडक निर्माणमा ठेकेदारको खेलाँची र सम्बद्ध निकायले समयमै साइट क्लियर नगर्दा अत्यन्तै कम प्रगति देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही समयअघि उक्त कम्पनीलाई ठेक्का तोड्नेसम्मको चेतावनी दिएको थियो । उक्त खण्डको ७० किमी ४ लेन र २९ किमी ४ लेनसहित दुईतर्फ ६/६ मिटरको सर्भिस लेनमा विस्तार हुनेछ । दाउन्ने खण्डको १३ किमीमा भने ३ लेनमा सडक विस्तार हुनेछ ।