काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले यस वर्षको १५ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।
कम्पनीले गत माघ १५ गते २७औं वार्षिक साधारण सभामार्फत उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । उक्त सभामार्फत कम्पनीले बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावसमेत पारित गरेको थियो ।
कम्पनीले वार्षिक साधारण सभा सम्पन्न भएको दुई महिनाभित्र बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको हो । हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूको हकमा भने खाता खोलेपछि जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले २७औं वार्षिक साधारण सभा प्रयोजनका लागि माघ ३ गते एक दिन बुक क्लोज गरेको थियो । यसको आधारमा माघ २ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् ।
माघ २ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएको छ ।
यसर्थ राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्नसमेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।