काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि निष्कासन गरेको २५ प्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप गरेको छ । यसअघि फागुन २८ गतेसम्मको निष्कासन मिति तय गरेको कम्पनीले चैत १४ गतेसम्मको अवधि थप गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो। यस आधारमा माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर हुने गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाका लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत पनि हकप्रद शेयर खरीद गर्न सकिनेछ ।
यस कम्पनीलाई नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । त्यसका लागि कम्पनीले हकप्रद निष्कासन गरेको हो ।