काठमाडौं। नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लिमिटेडको ३३, ३४ र ३५औं वार्षिक साधारणसभा आइतवार भर्चुअल माध्यममार्फत सम्पन्न भएको छ । सभामा प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले विगतमा इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको बताए । यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकाहरूमा विक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिँदा आर्थिक वर्ष २०७९/०८० मा विक्री बढेको उनको भनाइ थियो ।
विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रकृयाबाट सञ्चालनमा ल्याई उत्पादन समेत वृद्धि गरी बजारमा पठाउने गरिएको बताइएको छ । सरकारले सडक निर्माणको पुरानो भुक्तानी निर्माण व्यवसायीलाई उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि हालसम्म भुक्तानी नगरेकोले निर्माण कार्यले गति लिन नसकेको सभामा जानकारी गराइएको थियो ।