काठमाडौं। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चरले चुक्तापूँजीको शतप्रतिशत अर्थात् १:१ को अनुपातमा कुल १ करोड २८ लाख ४३ हजार ७२४ कित्ता साधारण शेयर निष्कासन गर्दैछ ।
एसबिआई मर्चेण्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले निष्कासन तथा विक्री प्रबन्धसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । एनआरएन इन्फ्रास्ट्रक्चर २०६९ सालमा दर्ता भई जलविद्युत्, पर्यटन, होटल, बीमा, सञ्चार लगायतका परियोजनामा लगानी सम्बन्धी काम गर्दै आएको छ ।
एसबिआई मर्चेण्ट नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सेवा, धितोपत्र खरीद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।