साउन १५, काठमाडौं । नेपाल फाइनान्सले साउन २३ गतेदेखि ११ लाख ३४ हजार ७१६ दशमलव १८७ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । यस लिलामीमा शेयरमा कम्पनीकै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
शेयरको मूल्य न्यूनतम प्रतिकित्ता रू. १०० तोकिएकोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।
भदौ ६ गतेसम्म आवेदकले बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ दशलमव १८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६ दशमलव २७५ कित्ता शेयर लिलामीमार्फत विक्री खुलाएकाे थियो । सो समयमा विक्री नभएको संस्थापक समूहको शेयर कम्पनीले पुन: लिलामीमा ल्याउन लागेको हो । शेयरकाे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आवेदकले नेपाल फाइनान्सको केन्द्रीय कार्यालय र विभिन्न शाखा कार्यालयहरू, प्रभु बैंकको विराटनगर, वीरगन्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट लिलामी शेयरमा आवेदन दिन सक्नेछन् ।