काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण थालेको छ । कम्पनीले गत असार १५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर असोज १९ गतेदेखि शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांशको प्रस्तावसमेत सभामार्फत पारित गरेको थियो । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार ७ गते बुक क्लोज गरेको थियो । यसर्थ असार ६ गतेसम्म आफ्नो शेयर कायम राखेका शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ ।
असार ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत कम्पनीले अनुरोध गरेको छ ।