काठमाडौं । अब नेपालको आफ्नै प्रयोगशालामा परीक्षण भएको नेपाली खाद्यवस्तु भारत निर्यात हुने बाटो खुलेको छ । भारतले नेपालको नेशनल फुड एन्ड फिड ल्याबोरेटरी (एनएफएफआरएल) मा नमूना परीक्षण भएको १० खाद्यसमूहअन्तर्गतका वस्तु विनारोकतोक आफ्नो मुलुकमा छिर्न दिने भनी पत्राचार गरेको नेपाली अधिकारीले बताएका छन् ।
भारतको खाद्यसुरक्षा र मापदण्ड प्राधिकरण (फुड सेफ्टी एन्ड स्ट्यान्डर्डस् अर्थोरिटी अफ इन्डिया–एफएसएसएआई) ले नेपालको उक्त खाद्य प्रयोगशालालाई आपसी मान्यता दिने निर्णय गरेको पत्र भारतीय दूतावासबाट प्राप्त भएको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए । भारतले नेपाली खाद्य प्रयोगशालालाई आपसी मान्यता दिएको पहिलोपल्ट हो । गुणस्तरमा खोट देखाउँदै भारतले नेपाली खाद्यवस्तु आफ्नो मुलुकभित्र आयातमा समयसमयमा अवरोध गर्दै आएको छ । नेपालले उक्त अवरोध हटाउन नेपाली प्रयोगशालामा भएको परीक्षणलाई मान्यता दिन भारतसँगै लबिइङ गर्दै आएको थियो । मंगलवार भारतको एफएसएसएआईको प्राविधिक टोलीले काठमाडौंस्थित विभागको खाद्य प्रयोगशाला अनुगमन गरेको थियो ।
कस्ता खाद्य पदार्थको परीक्षणले पायो मान्यता ?
- फ्याट्स एन्ड आयल
- फ्रुट्स एन्ड भेजिटेबल
- सिरियल्स् प्रोडक्ट्स (चामल, गहुँ, मकै, कोदो),
- टी एन्ड कफी
- मिल्क एन्ड डेरी प्रोडक्ट्स
- हनी एन्ड स्वीटनरर्स
- मिट प्रोडक्ट
- स्पाइसेज
- प्रोसेस्ड ड्रिकिङ वाटर
- डायटरी सप्लिमेन्ट्स
त्यसपछि भारतीय दूतावासले विभागलाई पत्र लेखेको थियो । कर्णका अनुसार विभागअन्तर्गतको प्रयोगशालमा परीक्षण गरिएको १० खाद्य पदार्थ समूहअन्तर्गत फ्याट्स एन्ड आयल, फ्रुट्स एन्ड भेजिटेबल, सिरियल्स् प्रोडक्ट्स (चामल, गहुँ, मकै, कोदो), टी एन्ड कफी, मिल्क एन्ड डेरी प्रोडक्ट्स, हनी एन्ड स्वीटनरर्स, मिट प्रोडक्ट, स्पाइसेज, प्रोसेस्ड ड्रिकिङ वाटर र डायटरी सप्लिमेन्ट्सलगायत वस्तुको परीक्षण प्रतिवेदनलाई भारतले मान्यता दिएको हो ।
‘यससँगै नेपालबाट भारतमा खाद्य वस्तु निर्यात गर्दै आएका निर्यातकर्ता व्यवसायीलाई सहज हुनेछ । यसअघि यी वस्तु निर्यातका लागि परीक्षण गराउन व्यवसायी आफै भारतको लखनउ, कोलकातालगायत स्थानमा जानुपथ्र्यो । एउटै परीक्षणका लागि व्यवसायीले २५ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने बाध्यता थियो । अब खाद्य वस्तु परीक्षण गर्न भारत जानु पर्दैन र व्यवसायीको खर्च पनि घटनेछ,’ उनले भने ।
अबदेखि नेपालकै प्रयोगशालाले गुणस्तर प्रमाणीकरण गरेको प्रमाणपत्र, निर्यातसम्बन्धी प्रमाणपत्र र वस्तुको ब्याच (लट) नम्बर प्रमाणपत्रको आधारमा व्यवसायीले खाद्यवस्तु भारत निर्यात गर्न पाउने छन् ।
नेपाली व्यवसायीलाई भारतसम्म गएर गुणस्तर परीक्षण गराउनुपर्ने बाध्यता हटाउन भारतले नेपाललाई आफ्नै प्रयोगशालाको पूर्वाधार बढाउन र आधुनिक प्रयोगशाला निर्माण आग्रह गरेको थियो । सोहीअनुरूप नेपालले अहिले उक्त पूर्वाधार निर्माण गरेको हो ।
यसअघि २८४ प्यारामिटरसम्मको गुणस्तर परीक्षण गर्ने क्षमता रहेको नेपालको प्रयोगशालाले हाल ६३० प्यारामिटरसम्मको गुणस्तर परीक्षण र विश्लेषण गर्ने क्षमता राख्छ । यसअनुरूप मुख्य १० खाद्य वस्तुसहित नेपालले भारतकै मापदण्डबमोजिम अन्य वस्तुको समेत परीक्षण गर्न सक्ने भएकाले अन्य खाद्य वस्तुको हकमा पनि भारतसँग अनुमति मागिने महानिर्देशक कर्णले आर्थिक अभियानलाई बताए ।