परम्परागत स्वाद, रुचि र आस्थाका कारण यस्ता भावनासँग सहसम्बन्ध भएका वस्तुहरूको बजार प्राप्ति सहज र स्वाभाविक प्रकृतिको मानिन्छ । यस्ता बजार प्राप्ति गर्न र बजार प्रवर्द्धन गर्न खासै धेरै प्रयास गर्नु पर्दैन । साधारण जानकारीका भरमा नै उपभोक्ता यस्ता वस्तु किन्न लालायित हुन्छन् ।
विश्वभर गैरआवासीय नागरिकको संख्यामा वृद्धि हुँदै गएको सन्दर्भमा गैरआवासीय नागरिक लक्षित बजार प्रवर्द्धन निर्यात प्रवर्द्धनको एक महत्त्वपूर्ण अंगका रूपमा विकास हुँदै गएको छ । हार्बर्ड बिजनेश रिभ्युमा प्रकाशित डायस्पोरा मार्केटिङ शीर्षकमा निर्मल्य कुमार र जाँ बेनेडिक्ट लेखकहरूको लेखमा डायस्पोरा बजार विकासशील देशको बजार प्रवर्द्धनको महत्त्वबारे स्पष्ट गर्दै यस्तो महत्त्व र उपादेयताका बारेमा अवधारणात्मक विचारहरू प्रस्तुत गरिएका छन् । सन् १९८० को दशकमा भारतीय डाबर कम्पनीले संयुक्त अरब इमिरेट्समा आप्रवासी भारतीय लक्षित निकासीलाई उदाहरण दिँदै यस लेखमा आप्रवासनसँगै बजार प्रवर्द्धन कसरी अघि बढ्ने रहेछ भन्ने धेरै दृष्टान्त प्रस्तुत गरिएका छन् ।
यूएन टे्रड एन्ड डेभलपमेन्टमा प्रकाशित आरिफ जमानको लेखमा डायस्पोरा भनेका उत्पत्ति मुुलुक र वासस्थल मुलुकहरूका बीच व्यापार र लगानी गर्ने सेतुहरू भन्ने स्वरूपमा चित्रण गरिएको छ । उत्पत्ति मुलुकहरू रहँदाको धर्म, संस्कृति, परम्परा, चालचलन, मानक, लवाइखवाइ, भाषा, वेशभूषा जस्ता विषयसँग जोडिएका भावनात्मक सम्बन्धका उपभोगहरू तथा तिनका बारेमा वासस्थल मुलुकका बारेमा प्रभावकारी रूपमा सञ्चार प्रवाह गर्नमा डायस्पोराको महत्त्वपूर्ण हात हुने हुँदा निर्यात प्रवर्द्धनमा डायस्पोरालाई सेतुको रूपमा चित्रण गरिएको हो ।
आपूर्ति सुनिश्चिततामा उत्पादनको परिमाण र आपूर्ति समयका विषयहरू आकर्षित हुन्छन् । छरिएर रहेको समुदायमा मूल्य प्रतिस्पर्धी हुने गरी उपभोक्ताले चाहेको मूल्यमा नेपाली उत्पादनहरू समयमै आपूर्ति गर्नु अपेक्षित रूपमा सजिलो छैन ।
नेपालको सन्दर्भमा चर्चा गर्दा सन् २००० पछि नेपालबाट प्रवासिने क्रममा वृद्धि भएको छ । विकिपिडियाका अनुसार सन् २०२३ मा करीब ६७ लाख नेपाली नेपाल बाहिर छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ मा मात्रै करीब १६ लाख नेपाली आप्रवासनमा गएको देखिन्छ । यस्तो बृहदाकारको बहिर्गमन एकप्रकारको ऐतिहासिक घटनाका रूपमा रहेको छ । मन हुनेहरू धनको जोहो गरेर जसरी पनि विदेश नै जाने भनेर योजना बनाएर बसेका छन् । धन हुने सुरक्षाका लागि विदेशमा एक पाइलो र स्वदेशमा एक पाइलो टेकेर बसेका छन् । जान नपाएका र नसकेकाहरू ग्लानिको दावाग्निमा जलिरहेका छन् । परन्तु यो प्रकारको सामाजिक मनोविज्ञानको कोलाहल माझ नयाँ सोचहरू पनि स्वदेशमा विकसित हुन थालेका छन् । ती सोचमध्ये एक सोच गैरआवासीय नेपालीहरू लक्षित निर्यात प्रवर्द्धन महत्त्वपूर्ण सोचका रूपमा विकास हुँदै गएको छ । नेपालको एकमात्र निर्यात प्रवद्र्धक निकायका रूपमा रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा आउने जिज्ञासु निर्यातकर्तामध्ये अधिकांशको योजना गैरआवासीय नेपाली लक्षित निर्यात कसरी गर्न सकिन्छ भन्ने नै रहने गरेको छ । ती प्रश्नमा पनि उनीहरूको सबैभन्दा बढी चासो सम्बद्ध मुलुकहरूको भन्सार र गुणस्तरसम्बन्धी प्रावधानबारे जानकारी लिनु रहेको हुन्छ ।
भन्सार विभागबाट प्रकाशित तथ्यांकको विश्लेषण गर्दा पनि गैरआवासीय नेपाली लक्षित निर्यातको स्पष्ट खाका देखिन थालेको अनुभूति हुन थालेको छ । विशेष गरी विश्वविद्यालयका स्नातकहरू यस क्षेत्रमा बढी रुचि राख्न थालेका छन् ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव–सन्) २०२२/२३ मा रू. १८ करोड ७८ लाख बराबरको तयारी मसला निर्यात भएको छ । यसैगरी उक्त वर्ष रू. २२ लाख बराबरको चामलको भुजा निर्यात भएको छ भने रू. १४ करोड ८० लाखको च्युरा, रू. १० करोड ९८ लाखको अचार, रू. ११ लाखको बाँसको तामा, रू. ४२ लाख बराबरको सोयाबिनको मस्यौरा, रू. ४ लाख बराबरको सिधे नुन र रू. २ हजार बराबरको सिन्दुर निर्यात भएको देखिन्छ ।
उपर्युक्त तथ्यांकहरू गैरआवासीय नागरिक केन्द्रित निर्यातका केही प्रतिनिधि उदाहरणहरू मात्र हुन् । हाल सुत्केरी मसला, ज्वानो, मेथी, तोरीको तेल, घ्यूलगायत विभिन्न खालका सुत्केरीसम्बद्ध वस्तुहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न देशमा आपूर्ति भइरहेको छ । खाद्यवस्तुका अतिरिक्त परम्परागत पहिरनहरू, ध्वजहरू, मूर्तिहरू र पूजा सामग्री पनि प्रशस्त मात्रामा आपूर्ति गर्न सकिने वस्तुहरूमा पर्छन् जसमा अपार सम्भावना रहेको छ ।
हाल सुत्केरी मसला, ज्वानो, मेथी, तोरीको तेल, घ्यूलगायत विभिन्न खालका सुत्केरीसम्बद्ध वस्तुहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न देशहरूमा आपूर्ति भइरहेका छन् । खाद्यवस्तुका अतिरिक्त परम्परागत पहिरनहरू, ध्वजहरू, मूर्तिहरू र पूजा सामग्रीहरू पनि प्रशस्त मात्रामा आपूर्ति गर्न सकिने वस्तुहरूमा पर्छन् जसमा अपार सम्भावना रहेको छ ।
सारमा भन्नुपर्दा भविष्यमा नेपालीहरू विदेशिने क्रमसँगै उनीहरूको भावना, परम्परा र जिब्रोको स्वादसँग गाँसिएका वस्तुहरूको माग पनि विदेशमा त्यही रूपमा बढ्ने देखिन्छ । यो प्रवृत्तिलाई मापन गर्दै जुन व्यवसायीहरू यसप्रकारका व्यवसायहरूमा व्यवस्थित र संगठित रूपले संलग्न हुन्छन् भविष्यको निर्यातको एक प्रमुख धारको नेतृत्वकर्ता तिनै समूह हुने निश्चित छ । उपर्युक्त सम्भावनाहरूमाझ नेपाली डायस्पोरा केन्द्रित निर्यात प्रवर्द्धन चुनौतीमुक्त भने छैन ।
सर्वप्रथम उत्पादनदेखि उपभोक्ताको घरसम्म आइपुग्दाका हरेक चरणहरूमा आवश्यक पर्ने सावधानी अपनाउँदै र आवश्यक सबै मापदण्डको पालन गर्दै नेपालबाहिर रहेका नेपालीलाई मापदण्ड अनुसारका गुणस्तरीय वस्तु आपूर्ति गर्नुपर्छ । यो विषय सबैभन्दा महत्त्वपूर्ण चुनौतीका रूपमा रहेको छ । सम्बद्ध देशले लागू गरेका गुणस्तरका प्रावधानअनुसार नेपाली वस्तुहरू उत्पादन गर्ने चुनौती प्रमुख रूपमा रहेको छ । नेपाली भन्नेबित्तिकै भावनामा बगाएर नेपाली उत्पादनलाई भिराउने ढंगबाट जाने हो भने गैरआवासीय नेपाली केन्द्रित अर्बांै अर्ब डलरको बजार नेपालले सदाका लागि गुमाउने निश्चित छ ।
दोस्रो चुनौती भनेको नेपाली उत्पादनहरू मूल्य प्रतिस्पर्धी र मूल्य पाच्य बनाउनु नै हो । नेपाली उत्पादनभन्ना साथ त्यो अचाक्ली महँगो भयो भने त्यो पनि पाच्य हुँदैन । एक दुईपटक भावनामा बगेर किन्नु आफ्नो ठाउँमा होला परन्तु बारम्बार यस प्रवृत्तिको खरिददारीले नियमितता पाउन सक्दैन ।
भावना अवसरमा परिणत हुँदाहुँदै यी क्रियाकलाप अवसरवादी कोणबाट प्रस्तुत हुनु हुँदैन । उदाहरणका लागि नेपाली झण्डाहरूलाई गैरआवासीय नेपालीसक्षम पुर्याउँदा यसमा नेपाल, नेपाली र झण्डाको भावनात्मक सम्बन्ध सहज र प्राकृतिक रूपमा स्थापित हुने वातावरण सृजना हुन जरुरी हुन्छ । भावनाका कारण सृजित अवसरहरूभित्र भावनाको स्थान, मूल्य र लाभलाई सम्यक् दृष्टिबाट बुझ्नु र व्यवहार गरिनु आवश्यक हुन्छ । तसर्थ भावना, लागत मूल्य र लाभलाई सम्यक् रूपमा लिँदै बजार प्रवर्द्धन गर्ने तेस्रो चुनौती पनि यस प्रकारको निर्यात प्रवर्द्धनमा रहेको छ ।
गैरआवासीय नेपालीलक्षित निर्यातसम्बद्ध चौथो चुनौतीका रूपमा आपूर्ति सुनिश्चितता कायम गर्ने विषय पनि रहेको छ । आपूर्ति सुनिश्चिततामा उत्पादनको परिमाण र आपूर्ति समयका विषयहरू आकर्षित हुन्छन् । छरिएर रहेको समुदायमा मूल्य प्रतिस्पर्धी हुने गरी उपभोक्ताले चाहेको मूल्यमा नेपाली उत्पादनहरू समयमै आपूर्ति गर्नु अपेक्षित रूपमा सजिलो छैन । स्वदेशभित्र उत्पादन क्षमता विस्तार र त्यसअनुसार बजारमा आपूर्ति सञ्जाल कायम गर्ने यस चुनौतीलाई कुशलतापूर्वक सामना गर्न सक्दा गैरआवासीय नेपाली समुदायमा रहेको नेपाली स्वाद र परम्परासँग गाँसिएका वस्तुहरूको ठूलो व्यापार हुन सक्ने देखिन्छ ।
उपयुक्त चुनौतीहरूलाई चिर्दै यो अवसरको प्राप्तिका लागि नेपाल सरकारको आर्थिक सहयोग, गैरआवासीय नेपालीहरूका प्रतिनिधि मुलुक, देशगत संंस्थाहरूको समन्वयात्मक सहयोग र नेपाली व्यवसायीको उत्साहरूपी संयुक्त अठोटका साथ नेपालका उत्साही व्यवसायीहरूले गैरआवासीय नेपाली केन्द्रित नेपाली भावना र स्वादसँग आबद्ध वस्तुहरूको बजारमा प्रवेश गर्ने हो भने यो चरित्रको निर्यात व्यापार नेपालकै लागि वरदान सावित हुने निश्चित छ ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।