चितवन । चितवनको भरतपुरमा तेस्रो संस्करणको मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिवल हुने भएको छ । देशभरका नेपाली उत्पादनलाई प्रर्वद्धन र वजारीकरण गर्ने उद्धेश्यसहित एक्स्पो गर्न लागिएको हो ।
मेड इन नेपाल चितवन च्याप्टरको आयोजनामा यही चैत २९ गतेदेखि बैशाख २ गतेसम्म क्याम्पाचौर नारायणगढमा एक्स्पो हुन लागेको हो । एक्स्पोमा हरेक दिन बिहान १० बजेदेखी बेलुका ६ बजेसम्म प्रदर्शनी हुनेछ भने बेलुका ६ बजेदेखी राति ९ बजेसम्म सांगीतिक प्रस्तुती हुने आयोजकले बताएको छ ।
एक्स्पो तथा फुड फेस्टिवलमा देशका विविध जातीयता र क्षेत्रीय भान्साका विभिन्न परिकारहरूको प्रदर्शनी गरिने मेड इन नेपाल चितवन च्याप्टरका अध्यक्ष तथा फुड फेस्टिवल संयोजक उमेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार एक्स्पोमा कृषि, निमार्ण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसन लगायत विभिन्न क्षेत्रमा क्रियाशिल व्यवसायीहरू सहभागी हुनेछन् ।
‘मेड इन नेपाल एक्स्पो केवल एक प्रदर्शनी कार्यक्रम नभई नेपाली उत्पादन, युवा व्यवसायशीलता र सांस्कृतिक पहिचानको उत्सव हो, जसले आत्मनिर्भर नेपाली अर्थतन्त्रको सपनालाई मूर्तरुप दिन योगदान गनर्छे’ उनले भने ।
सय भन्दा बढी स्टलहरू रहने एक्स्पोमा प्रत्येकदिन राष्ट्रिय तथा स्थानीयस्तरका कलाकारहरूको बेजोड प्रस्तुती समेत रहने मेड इन नेपाल चितवन च्याप्टका पूर्वअध्यक्ष निरन्जन न्यौपानेले जनाकारी दिए । ‘गतवर्ष चितवन महोत्सव परिसरमा आयोजना गरिएको मेड इन नेपाल एक्स्पो यस पटक छुट्टै स्थानमा गर्न लागिएको हो’, उनले भने, ‘ग्रामीण क्षेत्रका उद्यमी तथा अल्पसंख्यक समुदायका लागी स्टल नि:शुल्क व्यवस्था गरिएको छ ।’
सांगीतिक कार्यक्रममा चैत २९ गते द एज व्याण्ड, चैत ३० गते रकहेड, चैत ३१ गते पूर्ण राई र द परिवर्तन, बैशाख १ गते द स्वर र बैशाख २ गते उदय र झक्कासको विशेष प्रस्तुती रहने छ ।
फुड फेस्टिवल तथा सांगीतिक प्रस्तुती हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्दा प्रति टिकट ३०० रुपौयाँ लाग्ने छ भने सोहीदिन एप मार्फत वा काउन्टरबाट टिकट किन्दा ५०० रुपैयाँ शुल्क लाग्ने बताइएको छ । प्रदर्शनी अवलोकन गर्दा भने कुनै शुल्क नलाग्ने रहेको छ ।
फुड फेस्टिवलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरूको स्वादको विविधता पाइनेछ, जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरू समावेश हुनेछन् ।