भन्सार विभागले हालै नेपालको वैदेशिक व्यापारको वस्तुतर्फको चालू आर्थिक वर्ष (आव) २०८०/८१ को प्रथम १० महीनासम्मको तथ्यांक प्रकाशित गरेको छ । उक्त तथ्यांकअनुसार आव २०८०/८१ को प्रथम १० महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ दशमलव ५ प्रतिशतले ह्रास आई रू. १४२९.५३ अर्बमा पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमश: ८ दशमलव ८ प्रतिशत र ९१ दशमलव २ प्रतिशत रहेको छ । उक्त अवधिमा नेपालको कुल निकासी ३ दशमलव ६ प्रतिशतले ह्रास आई रू. १२६.१७ अर्ब तथा कुल पैठारीमा २ दशमलव ४ प्रतिशतले ह्रास आई रू. १३०३.३६ अर्बमा सीमित भएको छ । आव २०७९/८० को प्रथम १० महीनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १:१०.२ रहेकोमा आव २०८०/८१ को सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १:१०.३ रहन आएको छ ।
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा फलाम तथा फलामका उत्पादनहरू, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामानहरू, ऊनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना शल, कुकुरबिरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुख रूपमा रहेका छन् ।
लगानीको सुरक्षा, सहज लगानीको वातावरण र लगानीलाई दिइने छूट, सुविधा र प्रोत्साहनमा वृद्धि र औद्योगिक र व्यापारजन्य पूर्वाधारमा सुधार केन्द्रित गर्ने हो भने वैदेशिक व्यापारमा देखिएका उपर्युक्त नकारात्मक संकेतहरू सकारात्मक दिशामा उन्मुख हुन धेरै समय लाग्ने देखिँदैन ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको प्रथम १० महीना अवधिमा फलाम तथा तिनका उत्पादनको निर्यातमा ५८ दशमलव ४ प्रतिशतले वृद्धि भई रू. १४ अर्ब ०६ करोड पुग्न गएको छ । समीक्षा अवधिमा यार्नको निर्यातमा २ दशमलव ८ प्रतिशतले ह्रास आई रू. ९ अर्ब ६६ करोडमा सीमित भएको छ । ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा ६ दशमलव ८ प्रतिशतले ह्रास आई रू. ८ अर्ब ८० करोडमा झरेको छ । तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा १३ दशमलव ९ प्रतिशतले वृद्धि भई रू. ७ अर्ब ३४ करोड पुगेको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादनको निर्यातमा ७ दशमलव १ प्रतिशतले ह्रास आई रू. ५ अर्ब ९९ करोडमा सीमित भएको छ ।
यसै गरी अर्को प्रमुख रूपमा निर्यात हुने ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा ५ दशमलव ९ प्रतिशतले ह्रास आई रू. ३ अर्ब ८५ करोडमा सीमित भएको छ । जुसको निकासीमा ३४ दशमलव ७ प्रतिशतले वृद्धि भई रू. ७ अर्ब १८ करोड पुगेको छ । पामतेलको निर्यातमा ६५ दशमलव ७ प्रतिशतले ह्रास आई रू. ६ अर्ब ३१ करोडमा सीमित भएको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान प्राप्त गरिरहेको उत्पादन अलैंचीको निर्यातमा ५ दशमलव शून्य प्रतिशतले ह्रास आई रू. ६ अर्ब ९१ करोडमा झरेको छ । यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान प्राप्त गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा १३ दशमलव ३ प्रतिशतले ह्रास आई रू. २ अर्ब ९० करोडमा सीमित भएको छ । यसै गरी अदुवाको निर्यातमा १९ दशमलव १ प्रतिशतले वृद्धि भई रू. १ अर्ब ७ करोड पुगेको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा समीक्षा अवधिमा ५ दशमलव ६ प्रतिशतले ह्रास आई रू. ८६ अर्ब २ करोडमा झरेको छ । नेपालको कुल निकासीमा अघिल्लो आवको सोही अवधिमा भारततर्फको अंश ६९ दशमलव ६३ प्रतिशत रहेकोमा चालू आवाका उक्त अंश ६८.१८ प्रतिशतमा झरेको छ । नेपालको निर्यात व्यापारमा महत्त्वपूर्ण रहेका अन्य मुलुकमा संयुक्त राज्य अमेरिका, जर्मनी, यूके, चीन, यूएई, फ्रान्स, अस्ट्रेलिया, जापान, क्यानडा, इटाली, टर्की, डेनमार्क र नेदरल्यान्ड्स प्रमुुख रूपमा रहेका छन् ।
पैठारीतर्फ समग्रमा आव २०८०/८१ को प्रथम १० महीनामा अघिल्लो आवको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा ४ दशमलव ५ प्रतिशतले ह्रास आई रू. २४५ दशमलव ४९ अर्बमा झरेकोे छ । समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा १० दशमलव शून्य प्रतिशतले ह्रास आई रू. १२३ दशमलव २३ अर्बमा सीमित भएको छ । मेशिनरी तथा पार्ट्समा ३ दशमलव ८ प्रतिशतले वृद्धि भई रू. ८७.०१ अर्ब पुगेको छ । कच्चा भटमास तेलको आयातमा ६४ दशमलव शून्य प्रतिशतले ह्रास आई रू. ११.४९ अर्बमा झरेको छ । समीक्षा अवधिमा औषधिको आयातमा ९दशमलव ३ प्रतिशतले ह्रास आई ३४.२२ अर्बमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीहरूमा ४ दशमलव ६ प्रतिशतले वृद्धि भई रू. ५३.८३ अर्ब पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जामा ६२ दशमलव ४ प्रतिशतले वृद्धि भई रू. ६७.०२ अर्ब पुगेको छ ।
कच्चा पाम तेलको आयातमा ५६ दशमलव शून्य प्रतिशतले ह्रास आई रू. १० अर्ब २१ करोडमा सीमित भएको छ । अन्नको आयातमा १५ दशमलव ३ प्रतिशतले ह्रास आई रू ४०.०७ अर्बमा सीमित भएको छ । समीक्षा अवधिमा तयारी पोशाकको आयातमा ३७ दशमलव ९ प्रतिशतले वृद्धि भई रू. ३०.५६ अर्ब पुगेको । दूरसञ्चारका सामाग्रीको आयातमा शून्य दशमलव ५ प्रतिशतले वृद्धि भई रू ३०.५७ अर्ब पुगेको छ । सुनको आयातमा ४१ दशमलव २ प्रतिशतले ह्रास आई रू २३.४८ अर्बमा झरेको छ । नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरूमा भारत, चीन, यूएई, संयुक्त राज्य अमेरिका, युक्रेन, मलेशिया, अस्टे्रलिया, फ्रान्स, इन्डोनेशिया, अर्जेन्टिना, क्यानडा, थाइल्यान्ड, संयुक्त अधिराज्य र जर्मनी प्रमुुख रूपमा रहेका छन् ।
नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा फलाम तथा फलामका उत्पादन, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामान, ऊनी फेल्टका उत्पादन, पामतेल, चिया, पश्मिना शल, कुकुरबिरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुख रूपमा रहेका छन् ।
चालू आवको प्रथम १० महीनामा नेपालको वैदेशिक व्यापार सम्बन्ध भएका मुलुकहरूको संख्या १६८ रहेकोमा १३१ ओटा देशमा विभिन्न नेपाली वस्तु निर्यात भएको पाइन्छ । यस अवधिमा नेपालको प्रमुख निर्यात गन्तव्यहरूमध्ये भारततर्फको निर्यात आयात अनुपात १: ९.५ रहेको छ भने नेपालका अन्य प्रमुख निर्यात गन्तव्य मुलुकहरूको निर्यात आयात अनुपात संयुक्त राज्य अमेरिका (१:१.१), जर्मनी(१:१.७), यूके (१:२.५)े, चीन(१:१०५.९), युएई (१:१२.०), फ्रान्स (१:६.६), अस्ट्रेलिया (१:८.२), जापान (१:४.४), क्यानडा (१:६.६), इटाली (१:२), टर्की (१:४.०), डेनमार्क (१:०.५) र नेदरल्यान्ड्स (१:३.९) रहेको छ । यसरी निर्यात आयात दुवैतर्फ ऋणात्मक अवस्था रहँदा चालू आव २०८०/८१ प्रथम १० महीनामा अघिल्लो आवको सोही अवधिको तुलनामा व्यापारघाटामा २ दशमलव ८ प्रतिशतले ह्रास आई कुल व्यापारघाटा रू. १०५३ अर्ब ४२ करोडमा सीमित हुन पुगेको छ ।
नेपाल राष्ट्र बैंकबाट प्रकाशित नेपालको वैदेशिक व्यापारको प्रथम १० महीनासम्मको तथ्यांकअनुसार बृहत् आर्थिक वर्गीकरणअनुसार नेपालको कुल वस्तु निर्यातमा कच्चा पदार्थको निर्यातमा शून्य दशमलव ६ प्रतिशतले ह्रास आएको छ भने तयारी मालवस्तुको निर्यातमा ७ दशमलव २ प्रतिशतले ह्रास आएको छ । यसरी तयारी मालवस्तुको निर्यातमा ठूलो ह्रास आउनुले मुलुकमा मूल्य अभिवृद्धि भएका तयारी मालवस्तु उत्पादनको निर्यात घटेको र यसले स्वदेश उद्योगजन्य क्रियाकलापमा सुस्तता आएको र रोजगारका अवसरहरू घटेको देखिन्छ । यस्तै चालू आवको सोही अवधिमा आयाततर्फ कच्चापदार्थको आयातमा १० दशमलव २ प्रतिशतले ह्रास आउनु र तयारी मालवस्तुको आयातमा भने ६ दशमलव २ प्रतिशतले वृद्धि हुनुले पनि देशमा औद्योगिक क्रियाकलापहरूमा सुस्तता आएको पुष्टि गर्छ । नेपालको कुल आयातमा गत आवको प्रथम १० महीनामा कच्चापदार्थ आयातको अंश ५३ दशमलव १० प्रतिशत रहेकोमा चालू आवको प्रथम १० महीनामा उक्त अंश ४८ दशमलव ९० प्रतिशतमा खुच्चिएको छ । यसैगरी गत आवको प्रथम १० महीनामा तयारी मालवस्तुको आयातको अंश नेपालको कुल आयातमा ३८ दशमलव ४० प्रतिशत रहेको चालू आवमा उक्त अंशमा वृद्धि भई ४१ दशमलव ८० प्रतिशत पुगेको छ । यी आँकडाले नेपालमा औद्योगिक क्रियाकलापमा सुस्तता आएको र भविष्यमा अझ सुस्तता आउने संकेत गर्छ ।
नेपालको कुल निर्यातमा गत आवको प्रथम १० महीनामा कच्चापदार्थ निर्यातको अंश ५४ दशमलव ९० प्रतिशत रहेकोमा चालू आवको प्रथम १० महीनामा उक्त अंश ५६ दशमलव ६० प्रतिशत पुगेको छ । यसैगरी गत आवको प्रथम १० महीनामा तयारी मालवस्तुको निर्यातको अंश नेपालको कुल निर्यातमा ४४ दशमलव ८० प्रतिशत रहेको चालू आवमा उक्त अंशमा ह्रास आई ४२ दशमलव ८० प्रतिशत पुगेको छ । यी आँकडाले पनि नेपालमा औद्योगिक क्रियाकलापमा सुस्तता आएको आउने संकेत गर्छ ।
सारमा भन्नुपर्दां नेपालको वस्तुतर्फको वैदेशिक व्यापारले मुलुकमा आन्तरिक मागमा कमी आई अर्थतन्त्र संकुचनतर्फ जाने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । यस्तै निर्यातमा पनि कच्चापदार्थको अंश बढ्ने र तयारी मालवस्तुको निर्यात घट्ने प्रवृत्तिले देशभित्र रोजगारका अवसरहरू खुम्चिँदै जाने अवस्था सृजना हुने देखिन्छ । देशबाट उपभोग गर्ने उमेरसमूहको जनसंख्या बहिर्गमन हुने तथा पुरानो पुस्तामा लगानी गर्ने जोश जाँगर कम हुँदै जाने सामाजिक मनोविज्ञान एवम् देशभित्रको रोजगारीमा युवावर्गको आकर्षणमा कमी हुँदै जाँदा मुलुकको आयात र निर्यात व्यापार दुवै प्रभावित हुने देखिन्छ । यसको प्रत्यक्ष असर रोजगारमा देखिए तापनि यसको बहुआयामिक असरमा राजस्वमा पर्ने र सरकारी वित्तका अवस्था नाजुक हुन गई दीर्घकालमा पूँजी अभावमा विकास निर्माणमा सुस्ती आउने संकेतहरू पनि उपर्युक्त तथ्यांकहरूले दर्शाउँछन् ।
उपर्युक्त परिस्थितिमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादन क्रियाकलापमा अटोमेशनको अधिकतम उपयोग, ठूला कृषकको विकास हुने गरी भूमिसम्बन्धी हदबन्दीमा परिमार्जन एवम् करका न्यूनदरहरू, उद्योग स्थापना, सञ्चालन र खारेजीमा उदार प्रावधानहरू लागू गर्न सकेको खण्डमा जनशक्ति अभाव र लगानी अनिश्चिततालाई केही हदसम्म सम्बोधन गर्ने देखिन्छ । विशेष गरी व्यापारसम्बद्ध लागत न्यूनीकरण, प्रक्रियागत सहजीकरण, उत्पादन क्रियाकलापलाई प्रवर्द्धन हुने गरी वित्त व्यवस्थापन, स्रोत परिचालन, ऊर्जा आपूर्ति, लजिस्टिक सुविधा औद्योगिक पूर्वाधारको विकासमा लगानी केन्द्रित गर्न सकेको खण्डमा मुलुकमा औद्योगिक क्रियाकलापमा लगानी वृद्धि हुने देखिन्छ । यस्तै लगानीको सुरक्षा विशेष गरी कृषिक्षेत्रमा गरिने ठूला लगानीलाई असुरक्षाको मनोवैज्ञानिक त्रासबाट मुक्ति दिन आवश्यक पहल हुन सकेको खण्डमा कृषिक्षेत्रमा ठूलो लगानी भित्रिने सम्भावना प्रबल रहेको छ । विशेष गरी लगानीको सुरक्षा, सहज लगानीको वातावरण र लगानीलाई दिइने छूट, सुविधा र प्रोत्साहनमा वृद्धि र औद्योगिक र व्यापारजन्य पूर्वाधारमा सुधार केन्द्रित गर्ने हो भने वैदेशिक व्यापारमा देखिएका उपर्युक्त नकारात्मक संकेतहरू सकारात्मक दिशामा उन्मुख हुन धेरै समय लाग्ने देखिँदैन ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।